राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारितामाथि संसद्को प्रश्न
काठमाडौं : संसद्को विकास तथा प्रविधि समितिमा राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
राष्ट्रिय गौरवका आयोजना भित्र भएका भ्रष्टाचारको केन्द्रले प्रभावकारी अनुगमन गर्न नसकेको भन्दै सांसद्ले प्रश्न उठाएका हुन् ।
सांसद् यज्ञ सुनारले केन्द्रले अभिलेखमात्र राख्ने गरेको भन्दै आपत्ति जनाए । ‘कर्तव्य अनुसारको जिम्मेवारी पूरा गर्न केन्द्रले सकेको छैन’, उनले भने, ‘ठेकेदार तथा सरकार मध्ये कसको कमजोरीका कारण ढिला भएको अध्ययन गर्न सकेको छैन ।’
सांसद् गणेश पहाडीले आयोजनाको डीपीआरमै भ्रष्टाचार हुने गरेको बताए । केन्द्रले आयोजना सञ्चालन भएपछि मात्र भ्रष्टाचार भए नभएको अनुगमन गर्दा आयोजना नै गलत बन्दै गएको उनको भनाइ छ ।
पहाडीले राष्ट्रिय गौरवका आयोजनाका लागि कार्यतालिका बनाएर सुरुवात, बीच र अन्तिममा अनुगमन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले केन्द्रको प्रभावकारितामाथि प्रश्न उठाए । ‘सरकारले विकास निर्माणका क्षेत्रमा ठूलो बजेट बिनियोजन गरेको छ । जति बजेट हुन्छ उचि अपचल हुन्छ’, नेकपाका सांसद् खनालले भने, ‘यसलाई रोक्न सम्बन्धित निकाय प्रभावकारी ढंगले लाग्नुपर्छ ।’
बैठकमा सांसद्हरु दुर्गा पौडेल, कमला रोक्का, आशा विक, राजेन्द्र लिङ्देन, टेकबहादुर बस्नेत, केदार सिग्देल, गौरीशंकर चौधरीलगायततले बोलेका थिए ।