करिअरको राजमार्ग

करिअरको राजमार्ग

हरेक क्षेत्रमा लागेका व्यक्तिले सक्षमता प्रस्तुत गर्न एमबीएको पढाइ आवश्यक छ।


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पेसाले अब्बल इलेक्ट्रिकल इन्जिनियर हुन्। भारतबाट इन्जिनियरिङ पढाइ पूरा गरेका घिसिङ मुलुकभर रहेको विद्युत् आपूर्तिको समस्यालाई सहज रूपमा समाधान गरेपछि दुई वर्षदेखि चर्चामा छन्। प्राधिकरण नेतृत्वमा आउनुअघि खटाएको ठाउँमा काम गर्दा पनि उनी जिम्मेवारीमा अब्बल नै थिए।

घिसिङलाई यति धेरै सफलता हासिल गर्न केले सहयोग गर्‍यो त ? भन्छन्, ‘इन्जिनियरिङ प्राविधिक विषय मात्र हो। यसमा मैले प्राविधिक काम मात्र सिकें। तर जुन कार्यालयमा मलाई खटाइयो, त्यसको कुशल नेतृत्व र व्यवस्थापनको सीप एमबीएको पढाइले दियो।’ घिसिङले एस इस्टिच्युट अफ म्यानेजमेन्टबाट ईएमबीएको पढाइ पूरा गरेका छन्।

एमबीए वा ईएमबीए पढाइ कुनै डिग्री हासिल गर्न मात्र नभई व्यवस्थापकीय सीप सिकाउनका लागि समेत निकै उपयोगी रहेको उनको अनुभव छ। हरेक क्षेत्रमा लागेका व्यक्तिले सक्षमता प्रस्तुत गर्न एमबीएको पढाइ आवश्यक रहेको उनी बताउँछन्। महेश अधिकारीले दुई वर्षअघि शंकरदेव क्याम्पसबाट बीबीएस अध्ययन पूरा गरे। उनी अहिले धादिङमा एक माइक्रोफाइनान्स कम्पनीमा शाखा प्रबन्धकको जिम्मेवारीमा छन्। बीबीएसमा भर्ना भएसँगै जागिरे जीवन सुरु गरेका उनको अहिले कमाइ पनि चित्तबुझ्दो छ। तर अध्ययन अघि बढाउन नसकेकोमा चिन्तित छन्। भन्छन्, ‘पढाइको योग्यताअनुसार पाएको सेवासुविधामा सन्तुष्ट छु। तर थप पढाइ कसरी अघि बढाउने भन्ने चिन्ताले पिरोलिरहेको छ।’

यसै वर्षदेखि उनी राजधानी आएर एमबीए पढ्ने योजनामा छन्। मिलेसम्म जागिर पनि यतै सार्ने र नमिलेमा जागिर छोडेर भए पनि एमबीएको पढाइ पूरा गरिछाड्ने उनको प्रतिबद्धता छ। ‘तत्काललाई हेर्ने हो भने जागिर ठीक छ। तर प्रतिस्पर्धा बढ्दै गएका कारण अबको एकदुई वर्षपछि उत्पादन भएका जनशक्तिले मलाई पछि पार्ने निश्चित छ। त्यसैले भविष्यमा आइपर्ने चुनौतीसँग जुध्न पनि पढाइलाई अघि बढाउने निधो गरेको हुँ,’ अधिकारी भन्छन्, ‘शैक्षिक योग्यता बढ्यो भने मैले भविष्यमा पाउने जिम्मेवारी पनि बढ्छ।

मान र सान दुवै कमाउनु छ भने मेरा लागि एमबीए नै उत्तम विकल्प हो भन्नेमा म ढुक्क छु।’ नामी कलेजका प्रमुख कार्यकारी अधिकृत पवन पोखरेलले पनि केही वर्षअघि मात्र राजधानीकै एक कलेजबाट एमबीएको पढाइ पूरा गरेका थिए। पढाइ सक्नेबित्तिकै रोजगारीका थुपै्र अवसर आएको अनुभव सुनाउँदै पोखरेल भन्छन्, ‘अहिले विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने प्रतिष्ठित कलेजको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा छु। मलाई यो हैसियतसम्म ल्याइपुर्‍याउनुमा पढाइको ठूलो हात छ। त्यसमा पनि एमबीए त अभिन्न अंग बनेको छ।’

स्नातकोत्तर तहमा कतै दुुई वर्ष (वार्षिक प्रणाली) त कतै चार सेमेस्टर (सेमेस्टर प्रणाली लागुु गरेका संस्था) मा पढाई पूरा हुुने यस विषय पछिल्लो समय विश्वविद्यालय भर्ना भएका विद्यार्थीमाझ निकै लोकप्रिय छ। नेपालमा त्रिभुवन, काठमाडौं, पोखरा र पूर्वाञ्चल तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा समेत यसको पढाइ भइरहेको छ। स्वदेशी विश्वविद्यालयले मात्र विद्यार्थी चाप थेग्न नसकेर विदेशी विश्वविद्यालयको कार्यक्रम भित्र्याउनुुपर्ने अवस्थाको सिर्जना हुनुले पनि यस विषयप्रति विद्यार्थी आकर्षण बढिरहेको स्पष्ट हुन्छ।

इन्जिनियरिङ, विज्ञान, शिक्षा, व्यवस्थापनदेखि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अध्ययन गरेका विद्यार्थीका लागि समेत यो विषय खुला छ। एमबीए पढ्नेका लागि यो अर्को सकारात्मक पक्ष हो। पढाइको क्रममा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सीप पनि प्रशस्त दिइने हुनाले पनि एमबीएप्रति विद्यार्थीको आकर्षण बढिरहेको हो।

कहिलेदेखि सुरु भयो एमबीएको पढाइ ?       

एमबीएको पढाइ मुलुकभित्र सबैभन्दा पहिला काठमाडौं विश्वविद्यालय (केयू) ले सञ्चालन गरेको हो। सन् १९९४ मा उक्त विश्वविद्यालयले इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट कोलकाताका प्राध्यापक स्वामी नाचनलाई स्कुल अफ म्यानेज्मेन्टको डिनका रूपमा पहिलो नियुक्ति दिएर एमबीएको पढाइ सुरु गरेको थियो। पहिलो वर्ष भएका कारण त्यतिखेर उक्त स्कुलमा डेढ दर्जन मात्र विद्यार्थी भर्ना भएका थिए। तर नाचनले एक वर्ष पनि डिनको जिम्मेवारी सम्हाल्न नपाउँदै उनको निधन भयो। त्यसपछि अर्का डिन आए।

दोस्रो वर्षदेखि केयूमा एमबीए पढ्ने विद्यार्थीको लहर चल्न थाल्यो। केयूले मात्र विद्यार्थीको आवश्यकता पूरा गर्न नसक्ने अवस्था सिर्जना भयो। मुलुकभित्र एमबीएको पढाइ सुरुवात गर्ने श्रेय केयूलाई जान्छ। केयूमा विद्यार्थी चाप बढेपछि अन्य विश्वविद्यालयले पनि एमबीएको पठनपाठनको सुरुवात गरे। केयूपछि पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमार्फत एमबीएको पढाइ सुरु गर्‍यो। त्यसपछि त्रिभुवन विश्वविद्यालयले सन् २००५ मा आफ्नै स्कुल अफ म्यानेज्मेन्ट स्थापना गरेर एमबीएको पढाइ सुरु गरेको हो।

मुलुकभित्रै खुलेका अन्य विश्वविद्यालयले पनि यस विषयको पढाइ सुरु गरिसकेका छन्। त्यसबाहेक विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि मुलुकभित्र दर्जनभन्दा बढी शैक्षिक संस्थाले यो विषय पढाइरहेका छन्।

के पढ्ने ? एमबीए, ईएमबीए अथवा इभिनिङ एमबीए ?       

समग्रमा हेर्दा एमबीएको पढाइ भनिए तापनि विद्यार्थीको रुचि र आवश्यकताअनुसार फरकफरक तरिकाबट यसको पठनपाठन हुने गरेको छ। स्नातक तह उत्तीर्ण गरेर पढाइमा मात्र केन्द्रित हुन चाहने विद्यार्थीका लागि जनरल एमबीएको पढाइ हुन्छ। एमबीएको पढाइ सञ्चालन गर्ने सबै विश्वविद्यालय तथा कलेजले यसलाई पहिलो प्राथमिकतामा राखेका छन्। यो विषय पढ्ने विद्यार्थी एमबीएको पढाइ सकिएपछि मात्र रोजगारी वा अन्य कुनै व्यवसायमा लाग्ने योजना बनाएका हुन्छन्। यसको पढाइ अवधि दुई वर्ष वा चार सेमेस्टरको हुन्छ।

कुन एमबीए ?

कुनै संस्थामा रोजगारीमा लागेका तर आफ्नो पेसागत क्षमता वृद्धि गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर यस विषयको कोर्स डिजाइन गरिएको हुन्छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि ईएमबीए उत्तीर्ण गरेका हुन्। यस विषयमा प्रायः विश्वविद्यालयहरूले जनरल एमबीएभन्दा केही फरक तरिकाबाट पाठ्यक्रम तयार पारेका हुन्छन्। तर केयूले भने जनरल एमबीएकै ढाँचामा कोर्स तयार गरेको छ। पढाइ अवधि दुई वर्ष वा चार सेमेस्टरको हुन्छ। पोखरा विश्वविद्यालयले भने १८ महिनामै सकिने गरी कोर्स तयार गरेको छ।

यस्ता विषय भर्ना हुन चाहने विद्यार्थीहरूलाई अभ्यासमूलक काम थोरै र सैद्धान्तिक ज्ञान धेरै दिनुपर्ने भएकाले १८ महिनामै सकिने गरी कोर्स तयार गरिएको विश्वविद्यालयको दाबी छ। तर काम गरिरहेका विद्यार्थीलाई लक्षित गरेर यस्तो कोर्स तयार गरिएको भनिए तापनि कतै पनि काम नगरेका विद्यार्थीले समेत यस्ता विषयमा भर्ना हुने गरेको आरोप पछिल्ला वर्षमा विश्वविद्यालयप्रति लाग्दै आएको छ।

कुनै संस्था वा आफैं व्यवसाय सञ्चालन गरिरहेका विद्यार्थीलाई केन्द्रित गरेर तयार गरिएको कोर्समध्येको एक हो– इभिनिङ एमबीए। नामले भनेअनुसार नै यस विषयको पढाइ साँझ (इभिनिङ) मा मात्र सञ्चालन गरिन्छ। विदेशतिर पनि यस्तो विषयको पढाइ सञ्चालन गर्ने परम्परा छ। तर त्यस्त देशमा यो विषय पार्ट टाइम (आंशिक) एमबीएका रूपमा परिचित छ।

यसको उद्देश्य दिनभर कार्यालयको काममा व्यस्त रहने व्यक्तिलाई अध्ययनको अवसर प्रदान गर्नु हो। सामान्य एमबीए दुई वर्ष वा चार सेमेस्टरको हुने भए तापनि यस विषय पढ्ने विद्यार्थील ३० महिना पढ्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.