विज्ञान छाडेर एमबीएमा आएँ

विज्ञान छाडेर एमबीएमा आएँ

नर्सरीदेखि कक्षा १० सम्म म एउटै विद्यालयमा पढें । मीनभवनस्थित इङ्लिस प्रिपेरेटोरी स्कुल (ईपीएस)मा पढ्दाका ती दिन निकै रमाइला थिए । १३ बर्से विद्यालय जीवनमा मलाई कहिले दोस्रो हुनुपरेन । पहिलो र दोस्रो त्रैमासिक परिक्षामा कहिलेकाहीँ अरु साथी अगाडि आए पनि अन्तिम परिक्षामा म नै उत्कृष्ट हुन्थें । कक्षामा प्रथम भएपछि पुरस्कार पनि पाउँथें । पढाई मात्र नभई अन्य गतिविधिमा पनि म राम्रो छात्रामा गनिन्थें । त्यसैले कक्षा क्याप्टेन पनि धेरै पटक भएँ ।

डाक्टर बन्ने सपना

२०६५ सालमा विशिष्ट श्रेणीमा एसएलसी परीक्षा पास गरें । ८७.९ प्रतिशत अंक आएको थियो । बाल्यकालदेखिको सपना डाक्टर बन्ने थियो । त्यसैले अगाडिको पढाइ विज्ञान विषयलाई लिएर अगाडि बढाउने निधो गरिसकेको थिएँ । घर बानेश्वर भएकाले त्यहाँबाट कतै ओहोरदोहोर गर्दा माइतीघरमा सधैं सेन्ट जेभियर्स कलेजलाई देख्ने गर्थें । यति ठूलो कलेजमा पढ्न पाए कस्तो होला भन्ने सधैं लाग्थ्यो । त्यसमाथि पनि सबैले सेन्ट जेभियर्स राम्रो भन्ने भएकाले त्यही पढ्ने रहर थियो ।रोजेकै कलेजमा भर्ना

प्रवेश परिक्षामा हजारौं विद्यार्थी सहभागी थिए । तर पनि मेरो नाम पहिलो सूचीमै निस्किएपछि मलाई धेरै खुसी लाग्यो । आईएससी फेज आउट हुने क्रममा थियो । हामी सेन्ट जेभियर्समा आइएससीका अन्तिम ब्याच भयौं । कलेजमा पनि विद्यालयमा जस्तै मिहिनेती छात्राका रूपमा चिनिन्थे । निकै रमाइलो वातावरणमा मैले दुई वर्षको कोर्स पूरा गरें । अहिले पनि मलाई कसैले तिमीले समयको पछाडि फर्केर फेरि पढ्ने मौका पायौं भने के पढ्थ्यौ भनेर सोधे आईएससी नै भन्छु । त्यति बेला कलेजमा मेरो पढाइलगायतका अन्य क्रियाकलापले गर्दा आउटस्ट्यान्डिङ विद्यार्थीका रूपमा पुरस्कृत भएँ ।

विज्ञानलाई बाईबाई

आफूभन्दा सिनियर दाइदिदीहरूले गरेका मिहिनेतका कारण बिस्तारै मलाई विज्ञान मेरो विषय होइन भन्ने महसुस भयो । मैले आईएससी पनि पहिलो श्रेणीमै उत्तीर्ण गरेको थिएँ । तर पनि अबको पढाइका लागि यो विषयमा मैले राम्रो गर्न सक्दिनँ भन्ने लाग्यो । त्यसैले मैले एमबीबीएसको तयारीका कक्षा पनि लिइनँ र यसको प्रवेश परीक्षा पनि दिइनँ ।

ताजले बढायो जिम्मेवारी

आईएससी सकिएपछिको समयमा मिस नेपाल प्रतियोगितामा भाग लिन रहर लाग्यो । समयलाई सदुपयोग गर्ने हिसाबले मात्र लागेकी थिएँ । भाग्यवश सन् २०१० को मिस नेपालको ताज पनि जितें । यसले जिम्मेवारी पनि थप बढायो । सेप्टेम्बरमा म मिस नेपाल भएँ । अर्को महिना चाइनामा भएको मिस वल्र्डमा भाग लिएर आएँ । यसको दुई महिना पछि स्नातक तहको पढाइका लागि पुन सेन्ट जेभियर्स कलेजमा भर्ना भएँ ।

स्नातकमै फुलटाइमर जागिरे

त्यति बेला स्नातक सुरु भएको तीन महिना भइसकेको थियो । तर हाम्रो प्रिन्सिपल एन्टोनी स्यामी निकै बुझक्की हुनुहुन्थ्यो । उहाँले मेरो पढाइका लागि स्वीकृति दिनुभयो । मैले सेन्ट जेभियर्समै बीबीए सुरु गरें । यहाँ पढ्दै गर्दा दोस्रो वर्ष त म फुल टाइमर जागिरे भइसकेको थिएँ ।

बिहान ६ देखि ९ बजेसम्म हाम्रो कक्षा सञ्चालन हुन्थ्यो । काठमाडौंका अधिकांश मानिसको उठ्ने समय नहुँदै हाम्रो कलेज सकिसकेको हुन्थ्यो । दोस्रो वर्षमा पढ्दै गर्दा सुरुमा मैले एस ट्राभल्समा काम गरें । तेस्रो वर्षमा भोक्सवागेन गाडीमा मात्र नभई विभिन्न कार्यक्रममा एमसी गर्ने काम पनि सुरु गरें ।

बाहिर विभिन्न काममा सक्रिय भए पनि कक्षा भित्र मेरो ध्यान पूर्ण रूपमा पढाइमै हुन्थ्यो । परीक्षाको बेलामा मात्रै रातभरि पढेर दिमागमा अट्दैन भन्ने मेरो मान्यता छ । त्यसैले परीक्षाको तयारी अन्य विद्यार्थीले गरे जसरी नै गर्थें । कक्षामा पहिले नै बुझेका कुरालाई खरर एक पटक दोहोर्‍याए मलाई पुग्थ्यो ।

अन्तराष्ट्रिय डिग्रीको धोको

एउटा अन्तर्राष्ट्रिय डिग्री लिने मेरो ठूलो धोको थियो । तर ममीबाबाले भने मलाई सधैं पढाइ नछाड भन्नुहुन्थ्यो । त्यसैले स्नातक सकिएपछि मैले सेन्ट जेभियर्समै एमबीएस ज्वाइन गरिसकेकी थिएँ । पढाइ ६ महिना अगाडि बढिसकेको थियो । यहीबीचमा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा पढाइका लागि प्रक्रिया अगाडि बढाएकी थिएँ ।

उक्त कलेजमा भर्ना पाएपछि बैंकक गएँ । नेपालबाहिर भए पछि त्यहाँ छुट्टै किसिमको स्वतन्त्रता मिल्यो । नेपालमा हुँदा कलेज जाँदाआउँदा ऊ मिस नेपाल भनेर सबैले भन्थे । बिहानबेलुकी इभेन्ट अनि कहिले अन्तर्वार्ता । यसले गर्दा कहिलेकाहीँ त हैरान भइन्थ्यो । तर उता यस्ता सबै क्रियाकलापबाट म टाढै थिएँ । स्वतन्त्र र पढाइमैत्री वातावरण भएकाले पढाइमा ध्यान केन्द्रित गर्न सहज भयो ।

पहिलो वर्षमा त सबै विषय पढ्नुपर्‍यो । तर दोस्रोमा मैले स्ट्राटिजी र मार्केटिङमा स्पेसलाइजेसन गरें । बंगलादेश, पाकिस्तान, भारत, अमेरिका, फ्रान्सलगायतका १५ मुलुकका विद्यार्थी मेरो कक्षामा पढ्थे । नेपाली पनि धेरै नै थिए ।

स्वतन्त्रताको सम्मान पढाउने शैली नेपाल र थाइल्यान्डमा अलि फरक थियो । उता असाइनमेन्ट धेरै हुन्थ्यो । तर त्यसलाई भोलिपल्ट नै सकाउनुपर्छ भन्ने थिएन । मानवीय स्वभाव नै हो, कहिलेकाहीँ अल्छी लाग्दा अन्तिम दिनहरूमा पनि गरेर बुझाइन्थ्यो । भ्याइएन भने पनि त्यसको कारण खुलाएर इमेल गरिदिए शिक्षकको गाली खानु पर्दैनथ्यो ।

कहिलेकाहीँ कुनै विषयमा अलमलिए तुरुन्तै शिक्षकले सहयोग गरिहाल्थे । त्यहाँ स्वतन्त्रता थियो । तर आफूले पाएको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ भन्ने भावना पनि मनमा जाग्थ्यो । त्यसैले पढाइलाई बाधा पर्ने हिसाबले कहिल्यै फट्याइँ गरिएन । थाइल्यान्ड जस्तो ठाउँमा पुगिसकेपछि घुम्न नजाने त कुरै आएन । फुर्सदको समयमा साथीहरूसँग समुद्री किनारमा धेरै घुमियो । डिसेम्बरमा लामो बिदा हुन्थ्यो । त्यतिबेला दुई पटक परिवारसँग छुट्टी मनाउन नेपाल पनि आएँ ।

पढाइमा एउटै फर्मुला

विद्यालय जीवनमा मैले जुन फर्मुला लगाएर पढें । स्नातकोत्तरसम्म पनि त्यही विधि अपनाएँ । कक्षाकोठामा ध्यान कतै भड्किन दिइनँ । सधैं पढाइमा केन्द्रित भएर नै यसलाई अगाडि बढाएँ । सायद यही कारण होला, स्नातकोत्तर तहमा पनि मैले उत्कृष्ट नतिजा हात पारें । नेपाल फर्किएर गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्याभूषण पदक थाप्दा गौरवानुभूति भयो । आफ्नो मिहिनेतको फल पाएँ जस्तो लाग्यो ।

विदेशमा बसेकाले यहाँ आइसकेपछि एडजस्ट हुनका लागि केही समय लाग्यो । पछि मैले के काम गर्ने भनेर सोचें । मलाई मिडिया क्षेत्रमा पनि रुचि जागेको थियो । त्यसैले मैले एउटा टेलिभिजन च्यानलमा कार्यक्रम चलाउँदै आएकी छु । प्रत्येक साता एक दैनिक पत्रिकाका लागि पनि स्तम्भकारका रूपमा लेख्ने गरेकी छु । म भक्सवागेनमा ब्रान्ड म्यानेजरका रूपमा कार्यरत छु ।

काम गर्न विदेश जान्नँ

म आफूले रोजेको विषय एमबीए र अहिले गरिरहेका कामबाट निकै सन्तुष्ट छु । नेपालमै बसेर काम गर्दा आफ्नो परिवार र साथीभाइसँग सुखदुःख साट्न पाइन्छ । आफ्नो कमाइप्रति पनि गुनासो गर्ने ठाउँ छैन । भविष्यमा कुनै अवसर आयो भने पनि काम गर्नै भनेर म विदेश जान्नँ । बरु बेलाबेलामा घुम्न जान्छु, काम नेपालमै बसेर गर्छु ।

कुनै पनि डिग्री छ भन्दैमा राम्रो जागिर पाइन्छ भन्ने विश्वास लाग्दैन । डिग्रीले हामीलाई बिकाउने होइन, आफूले आफंैलाई बिकाउन सक्नुपर्छ । डिग्रीले व्यवस्थापकीय क्षमता मात्रै बढाउँछ । सफल हुन आफ्नो शैक्षिक डिग्रीका साथै आफूलाई क्षमतावान् पनि बनाउनुपर्छ । भविष्यमा के गर्ने भनेर योजनाबद्ध तरिकाले अगाडि बढे, पक्कै सफल भइन्छ ।

(पूर्वमिस नेपाल श्रेष्ठसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.