आनीहरूको ‘इको साइकल यात्रा’
काठमाडौं : लैंगिक समानता र मानव बेचबिखन अन्त्य गर्न एक गाउँबाट अर्को गाउँमा सचेतना अभियान गर्दै १ सय ५० आनीले इको साइकल यात्रा सुरु गरेका छन् । लैंगिक समानताले मात्रै मानव बेचबिखन रोक्न सकिने भन्दै उनीहरूले काठमाडौंदेखि खोटाङको हलेसीसम्म ३ साताको छैठौं साइकल यात्रा आइतबार थालेका हुन् ।
रिम्पोछे ग्याल्वाङ डुक्पाको नेतृत्वमा आनीहरू यात्रामा सहभागी भएको जिम्मी हिसील्हामुले बताइन् । ड्रुक अमितावा माउन्टेन (स्वयम्भूस्थित सेतो गुम्बा)ले आफ्ना आनीको बौद्ध शिक्षा, ध्यान र अध्यात्ममा मात्र नभएर शारीरिक सुस्वास्थ्यमा ध्यान दिई पैदल र साइकल यात्रासँगै कुङ फू नुन्स खेल खेलाउँदै आएको छ । जलवायु परिवर्तनप्रति आनी चिन्तित बन्दै इको फ्रेन्डली गतिविधिलाई प्राथमिकता दिन थालेका छन् ।
यात्रा क्रममा आनीको समूहले अनेकौं गाउँमा पुगेर स्थानीय समुदायसँग मानव बेचबिखन, छोरीप्रतिको सम्मानमा बहस गर्दै शिक्षा दिनेछ । जीवन गुम्बालाई सुम्पिएका आनीहरू सामाजिक काममा लागि परेका यात्रामा सहभागी आनी हिसील्हामुले बताइन् । जलवायु परिवर्तन भइरहेको र काठमाडौं उपत्यकालगायत देशभरि बढ्दो प्रदूषणले मानव जीवनमा ठूलो असर पार्दै गएकाले आनीहरूले विभिन्न अभियान सुरु गरेको गुम्बाले जनाएको छ ।