बन्यो नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज
काठमाडौं : बिजुलीबजारको धोवीखोलामाथि नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज निर्माण भएको छ। धोवीखोलामा निर्माण गर्न लागिएका दुई पुलमध्ये एउटाले पूर्णता पाएको हो। पुल पूरा गर्न रंगरोगन र बत्तीराख्न मात्र बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले जानकारी दिए। उनको भनाइअनुसार केही समयमै पुलमाथि सवारीसाधन गुड्न सक्नेछन्। तर, पुललाई सडकसँग जोड्ने पहुँच मार्ग निर्माण नभएकाले सञ्चालनको टुंगो लागेको छैन।
अरनिको राजमार्ग अन्तर्गतको आठ लेन चौडाईको सडकमा एउटा मात्रै पुल थियो। मुख्य सडक र सर्भिस लेन भएर गुड्ने सडक साँघुरो पुलमाथि गुड्नुपर्ने बाध्यता थियो। नयाँ पुल बानेश्वरतर्फको सर्भिस लेन भएर गुड्ने सवारीका लागि निर्माण गरिएको हो। पुल र सडकको उचाई समान छैन। सडक र पुलको दूरी छोट्याउन करिब ५० मिटर लामो सडक बनाउनुपर्ने हुन्छ। यस विषयमा सम्बन्धित निकायले चासो देखाएको पाइदैनन्।
पुल बनाउने क्रममा पहुँचमार्ग निर्माण गर्ने विषयमा ठेक्का भएको थिएन। यो पहुँचमार्ग आयोजनाले बनाउनुपर्ने हो कि सडक विभागले भन्ने विषय पनि दुविधामा छ। आयोजनका प्रवक्ता श्रेष्ठ पहुँचमार्ग निर्माणका लागि बजेट विनियोजन नभएकाले काम अघि बढ्न नसकेको बताउँछन्। पहुँचमार्ग निर्माण गर्न विभागबाट निर्णय हुनुपर्छ।
विभागका प्रवक्ता मुक्ति गौतम पहुँचमार्ग निर्माणका विषयमा हालसम्म आयोजनको तर्फबाट कुनै जानकारी नआएको बताउँछन्। ‘पहुँचमार्गकै कारण पुल सञ्चालनमा नल्याउने भन्ने हुँदैन’, गौतमले भने, ‘आयोजनासँग छलफल गरेर टुंगो लगाउँछौं।’
तीनकुनेस्थित निर्माणाधीन पुल। फोटोः अशोक/अन्नपूर्ण
हाल पुल र सडकबीच पहुँचमार्ग निर्माण नभएकाले बुद्ध नगर भित्रिने र बाहिरिने सवारीले यही बाटो प्रयोग गर्छन्। पहुँचमार्ग निर्माण गर्ने विषयमा बुद्ध नगरका स्थानीयसँग छलफल गर्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ।
‘बुद्ध नगरका स्थानीयले यो सडक प्रयोग गर्दै आएका छन्। पहुँचमार्ग निर्माण गर्दा यो सडक प्रयोग गर्न सम्भव छैन’, उनले भने, ‘सडकलाई व्यवस्थित गर्न स्थानीयको सुझावको खाँचो हुन्छ।’ नेपालमा सडकको बायाँतर्फबाट सवारीसाधन गुड्ने प्रावधान छ। पहुँच मार्ग निर्माण गर्दा बुद्ध नगरतर्फ जाने सवारी यहाँबाट जान सक्छन्। नगरबाट आउने सवारीसाधन भने पुलमुनि हुँदै मुख्य सडकमा प्रवेश गर्नुपर्ने हुन्छ।
आयोजनाले २०७१ साल पुसमा बिजुली बजारको धोवीखोला र तीनकुनेको बागमती पुलमा नेटवर्क आर्क ब्रिज निर्माण गर्न ठेक्का लगाएको थियो। धोवीखोलामा पुल निर्माण गर्न जेई कन्स्ट्रक्सनले १३ करोड रुपैयाँ र वागमती खोलामा पुल निर्माण गर्न २१ करोड १३ लाख रुपैयाँमा पप्पु कन्स्ट्रक्सले जिम्मा पाएको थियो। धोबीखोलाको ५१ मिटर र वागमतीको ८५ मिटर लामो छ। ठेकेदारले उस्तै प्रकृतिका दुईवटा पुल बनाउनुपर्नेछ। सार्वजनिक खरिद अनुगमन कार्यालयको निलम्बनमा परेको पप्पुले पनि पछिल्लो समय कामलाई तीव्रता दिइरहेको छ।
यस्तो हुन्छ आर्क ब्रिज
दुई स्थानमा निर्माण भइरहेको ‘नेटवर्क आर्क’ पुल नेपालका लागि नौलो प्रविधि हो। आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि फरक हुन्छ।
नेपालमा प्रयोगमा रहेका पुल पिलरमाथि निर्माण भएका छन्। नेटवर्क आर्कमा पिलर हुँदैन। पिलर नहाले पनि ‘अब्युटमेन्ट’का आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ। र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ। आर्कलाई पनि क्रस ढलान गरेर जोडिन्छ। र, केलब प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ। आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ। पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ। पुलको सम्पूर्ण भारलाई आर्कले थेग्छ।