गैरकानुनी सम्पत्ति आर्जनमा तानिए यातायातका पूर्वमहानिर्देशक श्रेष्ठ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव एवं यातायात कार्यालयका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानुनी सम्पत्ति आर्जन (अकुत) मुद्दा दायर गरेको छ। श्रेष्ठमाथि पदको दुरुपयोग गरी एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँबराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग छ। श्रेष्ठ वन तथा वातावरण मन्त्रालयका सहसचिव हुन्।
स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटमा अनियमितता गरेको आरोप उनीमाथि छ। सार्वजनिक पदधारण गरेयता श्रेष्ठले दुई करोड १० लाख ७७ हजार चार रुपैयाँ १६ पैसा आर्जन गरेको देखिएको अख्तियारले जानकारी दिएको छ। उनी २०३८ माघ २८ निजामती सेवामा प्रवेश गरेका हुन्।
सार्वजनिक पद धारण गरेको मितिदेखि जाँच अवधिसम्म चलअचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतमा श्रेष्ठले तीन करोड ४४ लाख ७७ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। यसमा १ करोड ३४ लाख रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारका सहप्रवक्ता मदन कोइरालाले बताए। श्रेष्ठसहित परिवारका सदस्य तथा अन्य व्यक्तिका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात रकम र जग्गालगायतका चल अचल सम्पत्ति खरिद गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।
श्रेष्ठले काठमाडौं बाफलमा २०६५ माघ २१ गते कित्ता नम्बर २३४ को चार आना एक पैसा (१ सय ३६ वर्गमिटर) जग्गामा बनेको अढाइ तले घर ७९ लाख ८४ हजार रुपैयाँमा किनेका थिए। काठमाडौं महानगरपालिका–१३ बाफलका विनोदराज तिवारीसँग किनेको उक्त घरजग्गा नवलपरासी सुनवल नगरपालिका–९ स्वाठीकी भगवती योगीका नाममा दर्ता छ। कुनै नातासम्बन्ध नरहेकी भगवतीको नाममा सम्पत्ति राखेपछि उनीविरुद्ध अख्तियारले अनुसन्धान थालेको थियो।
यसअघि मंसिर १२ गते अख्तियारले श्रेष्ठले पदको दुरुपयोग गरी अकुत आर्जन गरेको भन्दै ७ दिनभित्र उपस्थित हुन पत्र काटेको थियो। श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नवलपरासी स्वाठीकी भगवती र श्रीमती जमुना तण्डुकारका नाममा राखेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले श्रेष्ठद्वारा आर्जित गैरकानुनी सम्पत्ति जफत, भ्रष्टाचारको बिगोबमोजिम जरिवाना र दुई वर्षसम्म कैद सजाय मागेको छ। यस्तै तण्डुकार र भगवतीको नाममा रहेको सम्पत्ति जफत गर्न भनिएको छ।
सहसचिव श्रेष्ठ कर्मचारी वृत्तमा पनि विवादित व्यक्ति हुन्। मालपोत कार्यालय डिल्लीबजार, कंलकीदेखि वैदेशिक रोजगार विभागको महानिर्देशकसम्मको आकर्षक पदमा रहँदा पनि उनी अनियमितता विवादमा मुछिएका थिए।श्रेष्ठमाथि कलंकीमा रहँदा मालपोतमा उठेको राजस्व बैंकमा जम्मा गर्न लैजाने क्रममा लुटिएको भनी भनेर लुकाएको आरोप पनि लागेको थियो। उनी यसअघि नक्कली सर्टिफिेकट प्रकरणमा पनि तानिएका थिए।
बिगो दाबी : एक करोड ३४ लाख
आम्दानी : दुई करोड १० लाख ७७ हजार
खर्च : तीन करोड ४४ लाख ७७ करोड
भगवतीको नाममा रहेको सम्पत्ति : ७९ लाख ८४ हजार