भुस्याहा होइन सामुदायिक कुकुर !

भुस्याहा होइन सामुदायिक कुकुर !

एउटा पोथी कुकुरको बन्ध्याकरण गर्न डाक्टरको शुल्कबाहेक नै २५ सय रुपैयाँ लाग्छ भने भाले कुकुरको हजारमा गर्न सकिन्छ।


ललितपुर : गल्लीगल्लीमा देखिने छाडा कुकुरलाई ‘भुस्याहा कुकुर’ भनिरहनुभएको छ ?  छ भने अब ध्यान दिनुहोला। पछिल्लो समय पशुअधिकारवादीले ‘भुस्याहा’ शब्द असभ्य र हेपाहा भन्दै रोक्न सचेतना अभियान चलाएका छन्। यस्ता कुकुरलाई ‘सामुदायिक कुकुर’ भन्नुपर्ने पशुअधिकारवादीको भनाइ छ।

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले ‘भुस्याहा’ भन्दा असभ्य सुनिने बताए। उनले भने, ‘भुस्याहा भन्नु नै हेपाहा प्रवृत्ति हो।’ पशु अधिकारका लागि काम गर्दै आएका संस्थाले पनि ‘भुस्याहा’ मा आपत्ति जनाउँदै आएका छन्। पशुअधिकारवादीले नेपालमा जन्मेका कारण ‘नेपाली ब्रिड’ नामसमेत राखेका छन्। तर पनि यी कुकुर नियन्त्रण भने चुनौती बनेको केन्द्रको भनाइ छ। ‘उपत्यकामा ६ हजारभन्दा धेरै सामुदायिक कुकुर रहेको अनुमान छ’, उनले भने, ‘तर कसरी नियन्त्रण गर्ने चुनौती बनेको छ।’

यसै साता गोदावरी नगरपालिका–११ का वडासचिव अशोक आचार्य र लेलेस्थित ५ नम्बर वडा कार्यालयका सहयोगी शान्ता थापालाई कुकुरले टोक्यो। अरू स्थानीय पनि कुकुरको झम्टाइमा परे। बिगबिगी बढ्दै गएपछि नियन्त्रण गर्न नगरपालिकाले ३ लाख रुपैयाँ बजेट नै छुट्याएको छ। कुकुर नियन्त्रणमा काम गर्ने संस्थासँग समन्वय गरी समाधान खोजी गरिरहेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। गोदावरीमा मात्र हजारभन्दा धेरै कुकुर रहेको उनले जानकारी गराए।

सरकारले कुकुर नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ। तर बजेट भने पर्याप्त नभएको गुनासो तहको छ। ‘हाम्रा १४ वटा वडामा कुकुर नियन्त्रणका लागी बजेटले नभ्याउने अवस्था छ,’ महर्जनले भने। विशेषगरी गोदावरीका ठेंचो, चापागाउँ, लेले, बज्रबाराहीलगायत क्षेत्रमा कुकुरले सताउने गरेका छन्।

पशु अधिकारसम्बन्धि काम गर्दै आएको संस्था ‘स्नेहाज केयर’ सँगको समन्वयमा महानगरका २९ वटै वडामा कुकुरको बन्ध्याकरण सुरु भएको छ। ‘प्रत्येक वडामा कम्तीमा ५० कुकुरको बन्ध्याकरण गर्ने योजना छ’, ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने। ‘स्नेहाज केयर’ की अध्यक्ष स्नेहा श्रेष्ठले सामुदायिक कुकुर नियन्त्रणमा स्थानीय तहले वास्ता नगरेको गुनासो पोखिन्। गत वर्ष बन्ध्याकरण गरेर कुकुर छाड्ने क्रममा खोकना, ठेंचोका बासिन्दाबाट ढुंगामुढा नै खेप्नुपरेको अनुभव उनले सुनाइन्। महानगरपालिकासँग कुकुर र अन्य जनावरका लागि काम गर्ने सहमति भए पनि कुनै सहयोग नपाएको अनुभव उनको छ। स्थानीय नै सचेत नहुन्जेल समस्या समाधान नहुने उनी बताउँछिन्।

‘स्नेहाज केयर’ का अनुसार ललितपुरमा कम्तीमा १० हजार सामुदायिक कुकुर (नेपाली ब्रिड) छन्। संस्थाले कुकुर गन्ने ‘एप्स’ को प्रयोग गरेर वास्तविक संख्या पत्ता लगाइरहेको छ। ६ महिनाभित्र भालेपोथीको संख्या पत्ता लगाएर बन्ध्याकरण थालिने श्रेष्ठले बताइन्। ‘एप्स’ को माध्यमबाट कुकुर बस्ने क्षेत्र पहिचान गर्न मद्दत पुग्नेछ। अन्य संस्थाले पोथीकुकुरको मात्र बन्ध्याकरण गरे पनि यो संस्थाले भने भाले र पोथी दुवैको गर्छ। डा.नारायणले कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र खोप एकसाथ गर्नुपर्ने बताए।

पोथीको बन्ध्याकरण प्रभावकारी हुने भनाइ उनको छ। ‘९९ भाले र एउटा पोथी कुकुरको बन्ध्याकरण गरिनु उस्तै हो’, उनले भने। वधशाला वरिपरि धेरै कुकुर बस्ने भएकाले त्यस्ता ठाउँ पहिचान गरी बन्ध्याकरण गर्दा उचित हुने भनाइ डा. श्रेष्ठको छ। उनका अनुसार एउटा पोथी कुकुरको बन्ध्याकरण गर्न डाक्टरको शुल्कबाहेक नै २५ सय रुपैयाँ लाग्छ भने भाले कुकुरको हजारमा गर्न सकिन्छ। कुकुरलाई बेहोस बनाउने औषधि, सिलाउने सामग्री, एन्टिबायोटिकदेखि ल्याइएको ठाउँमा नै छाड्नुपर्ने जनशक्ति आवश्यक हुन्छ।

कुकुरका अनौठा गुण

पशुविज्ञ  श्रेष्ठका अनुसार बन्ध्याकरण गरिएको पोथी कुकुरको छेउमा भाले कुकुर एकछिन पनि बस्दैनन्। पोथी खोज्दै अर्को ठाउँ पुग्छन् र पोथीकै वरिपरि बस्न थाल्छन्। एक ठाउँमा मात्र बन्ध्याकरण गरिँदा नियन्त्रण हुन नसक्ने तर्क उनको छ। तर पोथी कुकुरले आफ्नो क्षेत्र निर्धारण गर्छन् र वासस्थान छाडेर कतै जाँदैनन्।

किन टोक्छ कुकुरले ?       

कुकुरले आफ्नो रक्षा गर्न मात्र अरुलाई टोक्ने दाबी डा. श्रेष्ठको छ। जब कसैले पिट्छ वा ढुंगाले हिर्काउँछ अनि मान्छेसँग कुकुर सशंकित हुन्छ र प्रतिकार गर्छ। मान्छेले हातमा बिस्कुट लिएर जाँदा पनि पिट्ने हतियार बोकेको भन्ठान्छ र त्यसैले भुकिरहन्छ। उनीहरू बस्ने क्षेत्रमा फोहोर टिप्न आउनेहरूले आफ्ना खानेकुरा लैजान्छन् भनेर प्रायःजसो त्यस्ता व्यक्तिलाई भुक्ने, लखेट्ने गर्छन्। कुकुरको समस्या समाधान नगरे ठूलै समस्या बन्न सक्ने भन्दै टिटनास तथा रेबिज जस्ता रोग मानिसमा सर्न सक्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.