अलैंचीले आर्थिक रूपान्तरण
फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका–७ फिलिन्दिनका ५५ वर्षीय कुलप्रसाद केरुङ अलैंचीखेतीका असल अनि सफल कृषककारूपमा चिनिन्छन्। धान, मकै र कोदो फल्ने प्रशस्त जमिन भए पनि उनी खाद्य बाली लगाउन बल गर्दैनन्। अलैंचीबाट मनग्य आम्दानी गरेर उदाहरणीय बनेका उनले आफ्ना जग्गा जमिनमा खाद्य बालीको साटो नगदे बालीका रूपमा चिनिएको अलैंची लगाउँदै आएका छन्।
‘एउटै मात्र लक्ष्य लिएपछि सफलता हात पार्न सजिलो हुँदोरहेछ’, केरुङले आफ्नो सफलताको सूत्र सुनाउँदै भने, ‘मैलै अलैंचीखेतीलाई नै अन्तिम लक्ष्य बनाएकाले सफल हुँदै गएको छु।’ दिपशिखा कृषक समूह फालेलुङका अध्यक्षसमेत रहेका केरुङको नाममा ७० रोपनी जमिन छ। उनले ५० रोपनीमा अलैंची लगाएका छन्। २० रोपनी जमिन अलैंचीखेतीका लागि उपयुक्त नभएको उनले बताए। ‘मेरो नाममा भएको सबै जमिनमा अलैंचीको बगान विस्तार गर्ने योजना छ’, उनले भने, ‘तर २० रोपनी जमिन अलैंचीखेतीका लागि उपयुक्त नभएपछि के लगाउँदा राम्रो हुन्छ भनेर सोचिरहेको छु।’
२०३६ सालदेखि नै खेतीमा होमिएका उनले पछिल्लो समयमा अलैंचीखेतीबाट राम्रो सफलता हात पारेका हुन्। सुरुमा १० थुँगा अलैंची उत्पादन गरेका उनले अहिले वर्षिक १० मन उत्पादन गर्छन्। ‘कामलाई निरन्तरता दिए सफलता हात पार्न सजिलो हुँदो रहेछ’, उनले भने, ‘मेरो सफलता निरन्तरताको उपज पनि हो।’ केरुङ दैनिकजसो अलैंची बगानमा नै भेटिन्छन्। अलैंची गोडमेल र नयाँ ढंगले बगान विस्तार गर्नेमा उनी पोख्त छन्।
अलैंची बिक्री गरेरै केरुङले एकै वर्षमा सात लाख रुपैयाँसम्म कमाएका छन्। ‘एकै वर्षमा सात लाख कमाउनु चानचुने कुरा हैन्’,१० कक्षासम्मको अध्ययन गरेका उनले भने, ‘धेरै पढेर सरकारी जागिर खाने कर्मचारीको भन्दा मेरो आम्दानी धेरै छ जस्तो लाग्छ।’ न्यूनतम २५ हजारदेखि अधिकतम ८८ हजार प्रतिमन सम्ममा अलैंची बिक्री गरेको अनुभव उनीसँग छ। धान, मकै, कोदो जस्ता खाद्यबालीबाट आम्दानी नभएपछि केरुङ अलैंचीखेतीमा खनिएका हुन्। थोरै लगानी, कम मेहनत र छिटो आम्दानी हुने भएपछि केरुङले अलैंचीखेती सुरु गरेको बताए। अलैंचीबाट सोचेजस्तो आम्दानी भएपछि उनले अन्य खेतीलाई वास्ता गरेनन्।
अलैंचीकै आम्दानीबाट उनले घर घडेरी जोडेका छन्। ‘खेती गरेरै सुविधा सम्पन्न ठाँउमा घडेरी जोड्ने थोरै किसान माध्येको म एक हो’, उनले भने ‘अलैंचीकै आम्दानीबाट भक्तपुरमा घडेरी खरिद गरेको छु।’ केरुङले भक्तपुरमा चार आना जमिन घडेरीका रूपमा खरिद गरेको बताए। अलैंचीकै आम्दानीबाट गाउँमा घर बनाएको र भक्तपुरमा घडेरी खरिद गरेको उनले सुनाए।
अलैंचीखेतीमा उनी आधुनिक औजार प्रयोग गर्ने तयारीमा छन्। आफूले उत्पादन गरेको अलैंची उनी आफैं ग्रेडिङ गर्ने गर्छन। ग्रेडिङ गरेको अलैंचीले अन्यभन्दा राम्रो मूल्य पाएकाले आफूलाई थप हौसला मिलेको उनी बताउँछन्। ‘राम्रो अलैंचीले अरुभन्दा राम्रै मूल्य पाउन थालेको छ’, उनले भने, ‘यसले गर्दा किसानलाई गुणस्तरीय अलैंची उत्पादन गर्न बाध्य बनाएको छ।’
अलैंचीखेतीबाट राम्रै सफलता हात पारेका केरुङ मूल्य अस्थिरताको कारण चिन्तित छन्। ‘अलैंचीको बजार व्यवस्थापनमा सरकाले चासो दिएको भए हुन्थ्यो’, चिन्ता व्यक्त गर्दै भने, ‘बजार व्यवस्थापन नभएकै कारण अलैंचीको मूल्यमा अस्थिरता भएको हो।’ अलैंचीको न्यूनतम मूल्य सरकारले नै निर्धारण गर्नुपर्ने केरुङको भनाइ छ।