अमेरिकी चासो यस क्षेत्रको शान्ति सुरक्षा : इन्डो प्यासिफिक कमाण्ड प्रमुख

अमेरिकी चासो यस क्षेत्रको शान्ति सुरक्षा : इन्डो प्यासिफिक कमाण्ड प्रमुख

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकाका इन्डो प्यासिफिक कमाण्ड प्रमुख एड्मिरल फिलिप एस डेभिड्सनले इन्डो प्यासिफिक क्षेत्रको शान्ति र सुरक्षा विषय अमेरिकाको पछिल्लो चासोको रुपमा रहेको बताएका छन्।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँगको शिष्टाचार भेटमा उनले उक्त धारणा व्यक्त गरेका हुन्।

अमेरिकी सेनाको १० कमाण्डमध्ये यस क्षेत्रका ३६ मुलुक हेर्ने कमाण्ड नै इन्डो प्यासिफिक हो। यसलाई पहिले प्यासिफिक कमाण्ड भनिन्थ्यो। उक्त कमण्ड अन्तरगत ४ लाख बढी सेना उनले हेर्छन् भने विश्वको आधा जनसंख्याको शान्ति र सुरक्षाको चासो पनि यही कमाण्डले हेर्ने गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण लगत्तै उनको नेपाल भ्रमण भएको हो। भ्रमणका क्रममा मन्त्री ज्ञवालीसँग यस क्षेत्रको सुरक्षा चासो र उत्तर कोरियाको विषयमा समेत छलफल गरेको अमेरिकाले तत्काल निकै व्यस्त मानिने प्यासिफिक कमाण्डका प्रमुख नेपाल पठाएको हो। 

उनी आफ्नै चार्टर फ्लाइटमा बिहीबार नेपाल आएर भेटवार्ता गर्दै शुक्रबार फर्केका हुन्। आएलगत्तै भारत भ्रमणमा निस्कन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय भेटवार्ता गरे।

उनले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्दै आफ्नो चासो व्यक्त गरेका छन्। अमेरिकाले उपलब्ध गराउने चार स्काई ट्रक अझै उपलब्ध नगराएको विषयमा लगातार छलफलहरु भइरहेको छ। 

अमेरिकाले सन् २००२ देखि नै उपलब्ध गराउने भन्दै आएको उक्त ट्रक अझै आउन सकेको छैन। पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा अमेरिकाले सन् २०१८ को अन्त्यसम्म उक्त ट्रक उपलब्ध गराउने बताएको थियो।

शुक्रबार भएको भेटमा पनि उक्त ट्रक र अन्य सहयोगबारे छलफल भएको हो। अमेरिकासँग नेपालले शान्ति सेनाको लागि पाँच हजार थान एम १६ हतियार खरिद गर्न लागेको छ।यसमा भइरहेको ढिलाइबारेमा पनि छलफल भएको थियो। 

‘नेपाली सेनाको क्षमता विकास, वीरेन्द्र शान्ति संचालन तालिम केन्द्रको स्तरोन्नति, आधुनिक विपद् व्यवस्थापन सामग्रीको सहयोगका क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षामा सकारात्मक रहेको पाए,’ रक्षा प्रवक्ता बाबुराम गौतमले अन्नपूर्णसँग भने, ‘इन्डो प्यासिफिक क्षेत्रको शान्तिमा अमेरिकाको चासो रहेको पनि प्यासिफिक कमाण्ड प्रमुखले बताए।’  

नेपाली र अमेरिकी  सेनाबीच हुँदै आएको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउन पर्नेमा जोड रहेको धारणा अमेरिकी तर्फबाट आएको प्रवक्ताले बताए। 

नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा योगदान पुर्याउँदा यसको छवि उच्च रहेको बताएको पनि रक्षामन्त्रालयले जनाएको छ। 

‘आफ्नो कार्यक्षेत्रको जिम्मेवारी ठूलो रहेको बताउँदै इन्डो प्यासिफिक क्षेत्रको शान्ति अमेरिकाको चासो हो। यसमा सबैको सहकार्य र साथ खोज्नेकाम हुन्छ,’ उनलाई उद्धृत गर्दै अधिकारीले बताए।

नेपाललाई आगामी दिनमा सहयोग बढाउने विषयमा अमेरिकाले छलफल गरिरहेको पनि उनले बताए। यसअघि द्विपक्षीय रुपमा भएका वार्ता अनुसार सहयोगलाई नेपाल सरकारसँग समन्वय गरी छिट्टै कार्यावन्यन तहमा लैजाने धारणा उनको रहेको रक्षामन्त्रालयले जनाएको छ।

रक्षामन्त्री पोखरेलले नेपाल र अमेरिका सम्बन्ध सन् १९४७ देखिकै भएको बताउँदै यसमा मैत्रीपूर्ण सहकार्यको आवश्यक रहेको स्पष्ट पारिदिएका थिए।

‘नेपालको सबैसँग आआफ्नै प्रकारको सम्बन्ध हुने हुनाले यो वा त्यो भन्दा पनि दुईपक्षीय सम्बन्धमा नै बढी जोड रहनेछ,’ पोखरेललाई उद्धृत गर्दे एक अधिकारीले भने, ‘अमेरिकी चासोप्रति हाम्रो पनि ध्यान जानेछ। तर, अन्य सम्बन्धलाई पनि नेपालले उत्तिकै महत्व दिनेछ।’

नेपालको विकास र नेपाली सेनालाई अमेरिकी सरकारले गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै दुई सेनाबीच संयुक्त अभ्यास र तालिम आदानप्रदान भइरहेको विषय प्रशंसनीय रहेको पोखरेलले बताए।  

नेपालले संविधान बनाएर राजनीतिक समस्या समाधान गरेको, कानुनी र प्रशासनिक सुधार गर्दै देशलाई विकासको अग्रगतिमा लैजान चाहेको भन्दै द्विपक्षीय सम्बन्ध सम्मानका साथ अझ सुदृढ हुँदै जाने पनि बताए। 

सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीको उपस्थिती पनि थियो। उनी शुक्रबार नै भ्रमण सकेर फर्केका छन।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.