स्मृति ब्युँताउँदै काष्ठमण्डप
वसन्तपुर गद्दीबैठकको ठीक अगाडि छ काष्ठमण्डप। नौतले दरबारको पश्चिमतर्फकाे चौबाटोमा पर्ने यो ती छाने भवन ०७२ को भूकम्पले भत्किँदा १७ जनाले ज्यान गुमाएका थिए। त्यो दिन मानवीय क्षति मात्र भएको थिएन, ऐतिहासिक महत्वको काष्ठमण्डप सिंगै नष्ट हुन पुगेको थियो। झिँगटीको छाना, चारकुने इँटका गरा, लेसाइइलो माटोको लिपाइ र मिहीन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो काष्ठमण्डप।
भूकम्पले तहसनहस बनाए पनि मरुटोलका मरुसत्तल, मरुगणेशथान र मरुहिटी सेरोफेरोका स्थानीयको स्मृतिमा ताजै छ काष्ठमण्डप। यसको आँगनमा वर्षौंदेखि सयपत्रीको फूल उनेर बसेकी जुनु लामाले त्यस भवनका काठेथामहरूसँगको मित्रता बिर्सेकी छैनन्। सगुनको माछा बेच्ने दुर्गा पन्त र सालको टपरी बेच्ने तुलसी महर्जनका मनमा अहिले पनि काष्ठमण्डपका छानाभरि लस्करै बस्ने परेवा दुरुस्तै छन्। काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य भन्छन्, ‘यहाँका स्थानीयसँग काष्ठमण्डपको भावनात्मक सम्बन्ध जोडिएको छ।’
काठैकाठले बनेको काष्ठमण्डप आफैँ विश्रामस्थल थियो। वसन्तपुर दरबार क्षेत्र भ्रमणमा आउने कैयन् पर्यटकको क्यामेरामा कैद भएका काठका संरचना पनि काष्ठमण्डपकै हुन्थे। जाडोमा न्यानो र गर्मीमा शीतल छहारी बन्दै यसले कैयन्लाई शीतलता दिएको थियो। कति योगी र तपस्वीको वि श्रामस्थल बनेको थियो। काष्ठमण्डप केवल काठको संरचना थिएन, यो त मानिसहरू एकआपससँग जोडिने माध्यम पनि थियो। यही सत्तलमा बसेर कैयन् प्रेमीले आफ्नी राजमती पर्खेका थिए।
खर्पनमा सागका मुठा बोकेर ज्यापु भाजुले तरकारी मोलमोलाइ गर्ने, बुढ्यौली औंलाहरूले बाघचालको रेखा कोर्दै समय कटाउने, लामो यात्रापछि बिट मार्ने, स्थानीयको छलफल र भक्तजनहरूको पूजापाठ गर्ने यो संरचनासँग कैयन् सम्झना जोडिएका छन्। तिनै स्मृति पुनर्जीवित गर्न स्थानीयको पहलमा काष्ठमण्डपको पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ। स्थानीय चाहन्थे, आफ्नो जीवनका स्मृतिहरू सिमेन्ट र कंक्रिटको अवशेषमा नपुरिऊन्। काष्ठमण्डपका संरचनासँगै स्मृति फेरि ब्युँतिऊन्। त्यसैले पुरानै शैली दुरुस्त हुने गरी यो सम्पदाको पुनर्निर्माण हुँदैछ।
भव्य विश्रामस्थल
नेपाली वास्तुकलाको इतिहासमा काष्ठमण्डपको विशिष्ट स्थान छ। यसैको नामबाट नेपालको कान्तिपुरको नाम काठमाडौं रहन गएको विश्वाससमेत गरिन्छ। गोरखनाथको प्रतिस्थापन गरिएको र चारै कुनामा गणेशको प्रतिमा भएकाले मरुसत्तललाई धेरैले मन्दिर भन्ठान्छन्। तर यसको बनावट कुनै मन्दिरको नभई पाटी वा सत्तलको जस्तो भएको हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मी बताउँछिन्।
यो प्राचीन सत्तलमध्ये सबैभन्दा भव्य र विशाल थियो। सत्तल बनाउँदा त्यससँगै एउटा धारा बनाइन्छ। हिँड्दाहिँड्दै थाकेका बटुवाले वि श्रामसँगै पानी पिउन पाऊन् भन्ने उद्देश्यले मरुसत्तलको पश्चिमपट्टि मरुहिटी बनाइएको छ। साथै मरुटोलमा रहेको मरु गणेशस्थानलाई पनि उच्च प्राथमिकताका साथ काष्ठमण्डपको एक हिस्साका रूपमा निर्माण गरिएको पाइन्छ।
काष्ठमण्डपको ऐतिहासिक पाटो
काष्ठमण्डपको उत्पत्ति र बनोटबारे अनेकन मान्यता छन्। यसका निर्माता र स्थापनाका कथा पनि बेग्लाबेग्लै छन्। इतिहासविद् महेशराज पन्तका अनुसार यो संरचना सातौं शताब्दीमा बनेको हो। पन्त भन्छन्, ‘अनुसन्धानबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको छ। यसअघि लक्ष्मीनरसिंह राजाका पालामा यसको निर्माण भएको विभिन्न शिलापत्रमा उल्लेख थियो।’ अनुसन्धानबाट काष्ठमण्डप बौद्धमार्गी र बज्राचार्यहरूले बनाएको भन्ने तथ्य पनि जोडिएको उनी बताउँछन्।
अध्ययनबाट प्राचीनकालमा काष्ठमण्डप नागयोगीहरूको वि श्रामस्थली रहेको पाइएको पन्त बताउँछन्। काष्ठमण्डपको भुइँतलामा गुरु गोरखनाथको मूर्ति रहनुले यो तथ्य पुष्टि गर्ने उनको मत छ। उनका अनुसार काष्ठमण्डपको दोस्रो तलाको दलिनमा केही ताम्रपत्र, सुवर्णपत्र अभिलेखहरू टाँसिएका थिए। त्यसबाट उक्त भवन मूलतः कान्तिपुर सहरको सार्वजनिक भवनका रूपमा स्थापित भएको र पछि गोरखनाथ सम्प्रदायसित सम्बन्ध गराइएको स्पष्ट हुने पन्तको ठहर छ।
केही इतिहासकारका अनुसार राजा गुणकामदेवले काष्ठमण्डपको स्थापना गरेका हुन्। भाषावंशावलीमा कान्तिपुर सहरका निर्माणकर्ता राजाका रूपमा गुणकामदेवको वर्णन पाइने हुनाले ती राजाले कान्तिपुर सहर बनाएपछि सहरको आवश्यक अंगका रूपमा हुने सार्वजनिक भवनका रूपमा यो मण्डल बनाएको हुनसक्ने देखिन्छ।
पुरानै शैलीमा निर्माण हुँदै
मरुसत्तलको नामले चिनिने काष्ठमण्डपको अहिले सूक्ष्म अध्ययनका साथ पुरानै शैलीमा जीर्णोद्धार गरिँदैछ। काष्ठमण्डपका प्रोजेक्ट म्यानेजर मणीन्द्र श्रेष्ठका अनुसार भत्किएका संरचना हटाउन नै महिनौं दिन लागेको थियो। यस सत्तलको चार कुनाको कोणाकार गारो बनाउने काम भइरहेको छ। त्यसमा पहिलो तहको काम सकिएर दोस्रो तहको काम भइरहेको छ। ‘पुराना इँटा जुन गुणस्तर र साइजका छन्, हामीले त्यस्तै प्रयोग गरेका छौं’ उनले भने, ‘आपा (बुट्टा नभएको ठूला साइजका इँटा), पँचा (पाँगो माटो) परीक्षणपछि प्रयोगमा ल्याएका छौं।’
वैशाख ३१ गते सोमबार क्षमापूजा गरी काष्ठमण्डपको पुनर्निर्माण कार्य सुरु गरिएको थियो। काष्ठमण्डपलाई पुरानै शैलीमा निर्माण गर्न इँटा, माटो, त्यसमा प्रयोग हुने काठ र मौलिक प्रविधि प्रयोगमा विशेष ध्यान पु¥याइएको अध्यक्ष शाक्यले बताए।
काष्ठमण्डप केवल काठको संरचना थिएन, यो त मानिसहरू आपसमा जोडिने माध्यम पनि थियो। यही सत्तलमा बसेर कैयन् प्रेमीले आफ्ना राजमतीलाई पर्खेका थिए।
काष्ठमण्डप पुनर्निर्माणका लागि सबैभन्दा महत्वपूर्ण चारवटा मूल थाम पुस १७ गते काठमाडौं भित्र्याइएको थियो। अध्यक्ष शाक्यका अनुसार ती काठ ‘द टिम्बर कर्पोरेसन अफ नेपाल’ (टिसिएन) मार्फत महोत्तरी जिल्ला बर्दिबास टुटेश्वरनाथ साझा वन र गढण्ता साझा वनबाट खरिद गरिएको हो। निर्माणका लागि चाहिने २४ एन्ड आल्फ इन्चको ठूलो इँटा दक्षिण बाराही इँटाभट्टासँग सम्झौता गरी ल्याइएको पनि उनले जानकारी दिए। पुनर्निर्माणको मुख्य समस्या नै काठको कमी थियो।
काष्ठमण्डपका लागि चाहिने नयाँ काठ नपाउने भन्दै निर्माण समिति निराश र हतोत्साहित भइसकेको थियो। ५५ जना रहेको निर्माण समितिको लामो अनुसन्धान र प्रयासपछि काठ भेटिएको शाक्य बताउँछन्। पुनर्निर्माणमा पुराना काठहरूसमेत प्रयोग गरिने उनको भनाइ छ। शाक्य भन्छन्, ‘चार मुख्य थाममध्ये एउटा पुरानै प्रयोग गर्न योग्य देखिएको छ।’
थाम चिर्दा मुटु चिरेजस्तो भो
काष्ठमण्डप निर्माणमा जुटेका प्रमुख काठविज्ञ लक्ष्मीभक्त राजचल प्रत्येक काठका टुक्रालाई आफ्नो बच्चालाई जस्तै हेरचाह गर्छन्। त्यसका प्रत्येक कालीगढीमा आफ्नो पहिचान खोज्छन्। प्रत्येक दिन भग्नावशेष बनेका काठका अंशलाई स्पर्श गर्दै थप्थप्याउँछन्। अझै सानदार रूप दिन खटिन्छन्। हाल उनी २५ फिट लामा चार ठूला थाँ (थाम) निखार्न लागेका छन्। यो थामले काष्ठमण्डपको पूरै भार थाम्ने काम गर्छ।
यो विशाल थामको कारुणिक कथा भूकम्पसँग पनि जोडिएको छ। भूकम्पका दिन एक व्यक्ति काष्ठमण्डपको चारकुने काठको थाममध्ये एक विशाल थामले च्यापिएका थिए। उक्त व्यक्तिको ज्यान बचाउन दुई चिरा हुने गरी थाम काट्नुपरेको थियो। भूकम्पको दिन सम्झँदै राजचल भन्छन्, ‘व्यक्तिलाई बचाउन त सकिएन, तर थाम चिर्दा मुटु चिरेजस्तो भो।’ उनको यो अभिव्यक्तिले काष्ठमाण्डसँगको अपनत्व व्यक्त गर्छ।
राजचल वर्षौंदेखि काठकै काम गर्दै आएका छन्। राम्रा र नराम्रा काठको फरक उनी सजिलै पत्ता लगाउन सक्छन्। शदीयौं पुराना काठ सुम्सुम्याउँदै उनी भन्छन्, ‘थयौ बालावँ सिँ गन मालि फै आ (यस्तो राम्रो काठ कहाँ भेट्टाउन सकिन्छ र अहिले) ? ’
मौलिकतामा प्रतिबद्ध
अरुणा नकर्मी भन्छिन्, ‘काष्ठमण्डप पुनर्निर्माण हाम्रा लागि अवसर र चुनौती दुवै हुन्।’ भूकम्पपछि पूरै ध्वस्त भएको काष्ठमण्डप पुनर्निर्माणको सिलसिलामा जगको उत्खनन गरिएको थियो। नेपाल सरकार पुरातत्व विभाग तथा बेलायती दुरहाम विश्वविद्यालयको सहयोगमा उत्खनन गर्दा उक्त स्थलमा सातौं शताब्दीतिर नै कुनै वास्तु निर्मित भएको पुष्टि हुनु खुसीको विषय भएको नकर्मीले बताइन्।
मरुसत्तललाई पुरानै रूप दिन तराईको जंगलबाट बहुमूल्य काठको खोजी गरी ल्याइएको छ। त्यस्तै पुरानै शैलीमा इँटा बनाउन लगाइएको छ। प्रत्येक दिन पुराना काठको नापतौल गर्नेदेखि त्यसमा कँुदिएका बुट्टा पहिचान गर्न जनशक्ति खटिएका छन्।
कन्जर्भेसन आर्किटेक्ट यानी जाशी भन्छिन्, ‘पुराना काठका थाम र झ्यालबारे अध्ययन गरिरहेका छौं।’ पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने संरचना छुट्ट्याउने काम भइरहेको जाशीले बताइन्। ‘काष्ठमण्डपको माथिल्लो तलाका दसवटा झ्याल सबै समान छैनन्’, उनले भनिन्। विविध संरचनाका कारण निश्चित शैलीको बुट्टा बनाउन कठिनाइ भएको उनको भनाइ छ। यद्यपि प्रत्येक काठलाई एकत्रित गर्ने र हुबहु पुरानै शैलीमा नयाँ संरचना तयार पार्ने काम भइरहेको उनले बताइन्।
भूकम्पपछि भत्किएका काष्ठमण्डपका पुराना संरचना हनुमानढोका प्रहरी चौकीपरिसरमा राखिएको छ। पुराना काठको पहिचान गर्दै नयाँ काठमा बुट्टा भर्ने काम पनि त्यहीं हुँदै छ। काठविज्ञ राजचल प्राचीन सभ्यताको अंशका रूपमा रहेका जीर्ण काठको कलाकृतिलाई उही ढाँचामा तयार पार्न लागिपरेका छन्।
काष्ठमण्डपका लागि आवश्यक चार मुख्य काठका थामलाई माघ १५ गते ठड्याउने योजना भएको अध्यक्ष शाक्य बताउँछन्। साथै असार मसान्तभित्र एक तला बनाइसक्ने उनले बताए। भन्छन्, ‘मौलिकतामा हामीले सम्झौता गरेका छैनौं। प्राचीन प्रविधिको प्रयोग गर्दै हामी अगाडि बढिरहेका छौं।’
महानगरपालिकाले वैशाख २९ गते पचास लाख र असोज २७ गते पाँच करोड दिएर सहयोग गरेपछि उक्त रकमबाटै काष्ठमण्डपलाई आवश्यक सामग्री खरिद गरी काम भइरहेको उनले बताए। अझै पनि यसको निर्माणमा निश्चित लागत यकिन भइनसकेको शाक्यले बताए।