‘करोड भ्रष्टाचार’ मा कर्मचारीतन्त्रका चन्द्रमानहरु : ‘चाकडी’मा अड्डा

‘करोड भ्रष्टाचार’ मा कर्मचारीतन्त्रका चन्द्रमानहरु : ‘चाकडी’मा अड्डा

मालपोत पुग्ने कर्मचारीको जिब्रोमा झुन्डिएको शब्द हो चाकडी । चाकडीको आफ्नै परिभाषा छ, तर मालपोतका कर्मचारीबीच यो शब्दलाई फरक अर्थमा प्रयोग गरिन्छ । उनीहरूका निम्ति चाकडीको अर्थ हो ‘चाकडी’ चाबहिल, कलंकी र डिल्लीबजार मालपोत कार्यालय । काठमाडौंको महँगो जग्गा सबैभन्दा बढी कारोबार हुने अड्डा हुन् ती । त्यहाँ जग्गाको कारोबारसँगै कर्मचारीलाई प्राप्त हुने अथाह अतिरिक्त लाभका कारण ती अड्डा कर्मचारीबीच आकर्षणको केन्द्र बनेका छन् । त्यसैकारण उनीहरू ‘चाकडी’ प्रति मोहित छन् । त्यहाँ पुग्न अत्यधिक चाकडी गर्छन् । त्यही चाकडी अभ्यासका एक पात्र हुन् चन्द्रमान श्रेष्ठ ।

चाकडीमध्येको कलंकी र डिल्लीबजार मालपोतमा लामो समय अड्डा जमाएका श्रेष्ठ अहिले अख्तियार दुरूपयोग अनुसान्धान आयोगको फन्दामा परेका छन् । लामो समय ती अड्डामा कार्यालय प्रमुख भएका श्रेष्ठ हाल उनी वन तथा वातावरण मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए । सञ्चार मन्त्रालयमा पुगेको हप्ता दिनमै काठमाडौंमा घर किनेपछि उनीमाथि अख्तियारले नजर राखेको थियो । त्यही प्रसंगमै छानबिन चल्दा उनलाई अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ अख्तियारले ।

डिल्लीबजार मालपोतबाट सरुवा भएर उनी सूचना तथा सञ्चार मन्त्रालयमा उपसचिवको पदमा पुगेका थिए । त्यहाँ पुगेको एक सातामै उनले काठमाडौं बाफलमा कित्ता नम्बर २३४ को चार आना एक पैसा (१३६ वर्गमिटर) जग्गामा बनेको अढाई तले घर ७९ लाख ८४ हजार रुपैयाँमा किनेका थिए । उनको तहको कर्मचारीले इमानदारीपूर्वक काम गर्ने हो भने यति धेरै रकम जीवनभरमा बचत गर्नै सक्दैन किनभने उनीहरूले पाउने सरकारी तलब जीवन जिउन पनि धौ–धौ पर्ने खालको छ ।

मालपोतबाट सरुवा भएका २०६५ माघ १३ गते सूचना तथा सञ्चारमा हाजिर भएका थिए । माघ २१ गते नै उनले काठमाडौं महानगरपालिका– १३ बाफलका विनोदराज तिवारीबाट घरजग्गा खरिद गरे । उक्त घरजग्गा नवलपरासी सुनवल नगरपालिका– ९ स्वाठीकी भगवती योगीका नाममा दर्ता पाइएको अख्तियारका सूचना अधिकारी मदन कोइरालाले जानकारी दिए । भगवतीसँग सहसचिव श्रेष्ठको कुनै नाता सम्बन्ध छैन । नातासम्बन्ध नै नभएको व्यक्तिका नाममा घरजग्गा राखेर सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति नवलपरासी स्वाठीकी भगवतीका साथै श्रीमती जमुना तण्डुकार नाममा राखेको अख्तियारको दाबी छ । श्रेष्ठमाथि आरोप लागेको यो पहिलोपटक होइन । कलंकी मालपोतमा प्रमुख रहँदा त्यहाँ उठेको राजस्व बैंकमा जम्मा गर्न लाने क्रममा लुटिएको बहानामा लुकाएको आरोप पनि उनलाई लागेको थियो ।

विवादित यातायात महानिर्देशक

चन्द्रमान श्रेष्ठ दुईपटक यातायात विभागका महानिर्देशक भए, २०६८ चैत १३ गतेदेखि २०६९ असोज २९ गतेसम्म र २०७२ मंसिर १८ देखि २०७३ फागुन ९ गतेसम्म । श्रेष्ठकै पालामा स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर भित्रिएको हो । स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर भिœयाउनेदेखि मालपोत कार्यालयमा रहँदा उनले भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । यतिबेला नै स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर भिœयाउने क्रममा नै ठूलो चलखेल भएको तथ्य बाहिर आएको थियो ।

निजामती सेवामा ३२ वर्षसहित ३७ वर्ष सार्वजनिक पदमा रहेका श्रेष्ठले दुई करोड ११ लाख कमाएका छन् भने यो अवधिमा कमाएको भन्दा बढी खर्च गरेका छन् । सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमा उनले तीन करोड ४५ लाख खर्च गरेका छन् । यसमा एक करोड ३४ लाख अवैध देखिएको छ ।

२०३८ माघ २८ सार्वजनिक सेवामा प्रवेश गरेका श्रेष्ठ निजामती सेवाअन्तर्गत अर्थ मन्त्रालयको नायब सुब्बामा २०४३ साल साउन १ गते नियुक्त भएका हुन् ।

सधैं आकर्षक कार्यालयमा

जागिरे जीवनको अधिकांश समय ‘आकर्षक र मालदार’ भनेर चिनिने कार्यालयमा बिताएका छन् उनले । कोष नियन्त्रण कार्यालय काठमाडौंको क्षेत्रीय कोष नियन्त्रक, वैदेशिक रोजगार विभागको महानिर्देशकजस्ता पदमा रहँदा उनी विवादमा मुछिएका थिए । उनले महालेखा नियन्त्रक कार्यालय काठमाडौं, गृह, अर्थ, श्रम, भौतिक निर्माण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत काम गरे ।

कुनै पनि आकर्षक र मालदार भनेर चिनिने ठाउँ छोडेका छैनन् श्रेष्ठले । अधिकांश समय काठमाडौंमा बिताए । २०६४ सालदेखि नै उनले काठमाडौंकै आकर्षक कार्यालयमा बिताए जबकि त्योभन्दा पहिल्यै उनी नक्कली प्रमाणपत्रको प्रकरणमा पनि मुछिएका थिए । पटकपटक विवाद मुछिए तर उनी दण्डित हुनुको साटो पुरस्कृत हुँदै गए । जति विवादमा मुछिन्थे, त्यति नै आकर्षक कार्यालयमा सरुवा हुन्थे ।

प्रवृत्ति चन्द्रमान

चन्द्रमान एउटा उदाहरण मात्रै हुन् । कर्मचारी तन्त्रमा चन्द्रमानजस्ता प्रवृत्ति बोकेका प्रशस्त छन् । आकर्षक र मालदार भनेर चिनिने कार्यालयमै उनीहरू पूरै जागिरे जीवन बिताउँछन् । जनतालाई चुस्तदुरुस्त सेवा दिनेभन्दा पनि आफ्नो दुनो सोझ्याउन र सम्पत्ति कुम्लउनतिर लाग्छन् । निजामती कर्मचारी ऐनको सिद्धान्त र उद्देश्यविपरीतका काम गर्छन् ।

कर्मचारी तन्त्रमा चन्द्रमानजस्ता प्रवृत्ति बोकेका प्रशस्त छन् । जनतालाई चुस्तदुरुस्त सेवा दिनेभन्दा पनि आफ्नो दुनो सोझ्याउन र सम्पत्ति कुम्ल्याउनतिर लाग्छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मी कर्मचारीतन्त्रमा अवाञ्छित गतिविधि बढ्नुमा दण्डहीनताको पारिणाम भएको बताउँछन् । कर्मचारी सञ्चालनमा दण्ड र पुरस्कारको व्यवस्था नहुँदा खराब प्रवृत्तिले प्र श्रय पाएको उनको भनाइ छ । ‘खराब गर्नेले दण्ड पाए, राम्रो गर्नेले पुरस्कार पाएमा त्यस्तो प्रवृत्तिमा निरुत्साहित हुनेछ’, रेग्मी भन्छन् ।

पूर्वसचिव कृष्ण ज्ञवाली बहुदल आएपछि डर, अनुशासन र मर्यादा हराउँदै गएको कारणले भ्रष्टाचार मौलाउँदै गएको बताउँछन् । ‘असरमा विस्तार भयो, आकर्षणले प्रलोभन बढायो, पैसा कमाउने, लुकाउने, खर्च गर्ने ठाउँ पर्याप्त भए’ उनले भने, लोभ बढ्यो, डर भर हरायो ।’ पञ्चायतकालमा एकाधले गर्ने बहुदल आएपछि झांगिएको उनको भनाइ छ ।

चन्द्रमान प्रवृत्तिले कर्मचारीतन्त्र बद्नाम भएको छ । सार्वधारणको नजरमा कर्मचारी भ्रष्ट र कामचोर हुन्छन् भन्ने मनोवृत्तिको विकास भएको छ । पैसा कमाउनकै लागि सरकारी जागिर खाने र आकर्षक भनिएका ठाउँमा गएर भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाएको छ ।

राजनीति भ्रष्टाचारको मूल जड

यस्ता प्रवृत्तिलाई राजनीतिक आड भरोसा पनि छ । पैसाको आडमा सचिव, नेता र मन्त्रीलाई रिझाउँछन्, प्रभाव पार्छन् र किन्छन् । उनीहरू बाँडीचँुडी गर्छन् । उनीहरूको सम्पत्ति कहाँ आयो, कसरी आर्जन भयो भन्ने खोजीनीति हुँदैन । कर्मचारीतन्त्रलाई चन्द्रमान प्रवृत्तिले गाँजेको छ । सधैं आकर्षक स्थान रहने र अकूत सम्पत्ति जम्मा गर्ने उनीहरूको काम नै बनेको छ ।

पूर्वसचिवसमेत रहेका ट्रान्सपेरेन्सीका अध्यक्ष रेग्मी कर्मचारीतन्त्रमा प्रदूषित हुनुमा राजनीतिकै आडभरोसा मुख्य कारण रहेको बताउँछन् । राजनीतिको संरक्षणबिना कर्मचारीले गलत काम गर्न नसक्ने उनको ठहर छ । पूर्वसचिव ज्ञवाली भने कर्मचारीको ट्रेड युनियनको संरक्षणले कर्मचारीतन्त्रमा भ्रष्टाचार बढेको बताउँछन् । उनले राजनीतिकर्मी र कर्मचारीको कमाउने प्रतिस्पर्धा बढेको उनको भनाइ छ । मुहान नै सफा छैन, हामीलाई भ्रष्टाचार नगर भन्ने आफूचाहिँ मनपरी गर्ने भन्ने मनोविज्ञानले कर्मचारी ग्रस्त रहेको उनले बताए ।

सरकार उदासीन

केही समयपहिला अख्तियारसमेत गलत कर्ममा सक्रिय हुँदा खराब प्रवृत्ति मौलाएको रेग्मीको भनाइ छ । ‘बीचमा अख्तियार पनि गलत बाटोमा लाग्यो, दागीहरूको संरक्षणमा लाग्यो’ उनले भने, ‘त्यसले गलत प्रवृत्तिले झांगिने अवसर पायो ।’ रेग्मीका अनुसार पछिल्लो समयमा अख्तियारको सकारात्मक परिणाम देखिएको छ ।

चन्द्रमान प्रवृत्ति मौलाउनुमा सरकार नै जिम्मेवार रहेको उनको भनाइ छ । खराब काम गर्नेबित्तिकै कार्यालय प्रमुख, विभागीय प्रमुख, मन्त्रालयले नै कारबाही गर्नुपर्ने ट्रान्सपेरेन्सीका अध्यक्ष रेग्मी बताउँछन् । ‘अख्तियार एक्लैले मात्र सक्रिय भएर हुँदैन, सरकार नै जाग्नुपर्छ, मन्त्रालयदेखि प्रधानमन्त्रीस्तरमा अभियान चाल्नुपर्छ’ उनले भने, ‘भ्रष्टाचार मामिलामा सरकार नै उदासीन छ ।’ राजनीति नसुध्रिएसम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने रेग्मीको दाबी छ । ‘मुहान नै धमिलो छ, त अरू मात्र दोष दिएर के हुन्छ’, उनी भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.