मधेसको मागियाहा

मधेसको मागियाहा

मौगियाहाको अर्थ घरमा महिलाको वर्चस्व हो। खाना बनाउने, लुगा धुने, बच्चा स्याहार्ने, श्रीमतीलाई कुनै पुरुषले सहयोग गरेको देख्दा उसलाई मौगियाहा भनिन्छ।


पितृसत्ता मानवशास्त्रमा प्रयोग हुने निकै पुरानो शब्द हो। पुरुषप्रधान समाजको स्वरूप नै पितृसत्ता हो। कमला भासिनका अनुसार यो एक सामाजिक व्यवस्था हो, यस व्यवस्थामा पुरुषलाई अब्बल र महिलालाई दोयम मानिन्छ। यो व्यवस्था जातिवाद र रंगभेदजस्तै हो। पितृसत्ताले सिर्जना गरेको मूल्य, मान्यता र परम्पराहरूबाट समाज, परिवार, समुदाय तथा राष्ट्र सञ्चालित छन्। पितृसत्तात्मक संरचनामा पुरुषको वंश परम्परामा आधारित हुन्छ भने महिलाहरू पुरुषको इशारा, आज्ञा, आदर्श र निर्देशनमा चल्छन्। समाजका विभिन्न एकाइहरूले पितृसत्तात्मक प्रणालीको आधारस्तम्भका रूपमा काम गरिरहेका छन्। उक्त एकाइहरूद्वारा पितृसत्तात्मक मूल्यमान्यताको सामाजिकीकरण हुँदै आएको छ।

पितृसत्तालाई कतिपयले भगवान्ले बनाएको मान्दछन् तर यो समाजले नै बनाएको इतिहास छ। यो लगभग तीन हजारदेखि पाँच हजार वर्ष पुरानो व्यवस्था रहेको मानिन्छ। जब सम्पत्तिमा अधिकारको अवधारणाको विकास भयो, अनि पितृसत्तात्मक संरचनाको पनि विकास भएको मानिन्छ। पितृसत्तात्मक संरचना विश्वभरि नै रहेको देखिन्छ। तर, दक्षिण एसियाका देशहरूमा बढी नै जरा गाडेको छ।

पितृसत्तात्मक संरचनालाई पुरुषले मात्र होइन कि महिलाले पनि मान्दछन्। जस्तो कि छोराछोरीलाई कसरी हुर्काउने, तिनका लुगा छनोटदेखि लिएर पढाइलेखाइ लगायतका काम महिलाले नै गर्छन्। यसले गर्दा कतिपयले भन्ने गर्छन्, महिलाले नै महिलालाई विभेद गर्छन्। झट्ट हेर्दा यो सहीजस्तो लागे पनि यसको दोषी कुनै महिला वा पुरुष हुँदै होइन। यो वर्षौंदेखि जरा गाडेर रहेको भनौं या अभ्यास गर्दै आएको प्रणाली हो, जसलाई जानिँदो वा नजानिँदो तरिकाले हामी व्यवहारमा उतार्छौं। नेपालमा पितृसत्तात्मक संरचना मधेसी समाजमा अझ बढी छ। यो लेख यसैको वरिपरि केन्द्रित छ।

महिलालाई नियन्त्रण

पितृसत्ताले सर्वप्रथम महिलाको श्रमशक्तिमा नियन्त्रण गर्छ। महिलाले के पढ्ने, कुन जागिर गर्नेजस्ता सवालको छिनोफानो पुरुषले गर्छ। दोस्रो प्रजनन शक्तिमा, एउटै घरमा छोराछोरी छ भने छोराले आफ्नै मनले बिहे गरे पनि अधिकांश घरमा छोरीको बिहेको निर्णय उसको बुवाआमाले नै लिन्छन्। कोसँग बिहे गर्ने, कहिले बिहे गर्नेमा छोरीको स्वीकृति लिनु जरुरी ठान्दैनन्। बिहेपछि कहिले बच्चा पाउने, कतिवटा बच्चा पाउने, छोरी भएपछि त्यसलाई राख्ने कि फाल्ने र परिवार नियोजनको कुन साधन अपनाउने र कहिलेसम्म अपनाउने लगायतका विषयमा पुरुषको निर्णय चल्छ।

तेस्रो, सेक्सुवालिटी, महिलाले कोसँग सम्बन्ध राख्ने, कति वर्षमा राख्ने, यो सबैको नियन्त्रण पुरुषले गरिरहेको हुन्छ। चौथो, नीतिनिर्माण तहमा पुरुषको नियन्त्रण हुन्छ। चाहे त्यो राजनीति होस् वा राज्यको अन्य संरचना, अधिकांश ठाउँमा पुरुषको वर्चस्व हुन्छ। पाँचौं स्रोतसाधनमा, राज्य वा घरको स्रोतसाधन होस् महिलाको पहुँच कमै हुन्छ। राज्यको स्रोतसाधनको परिचालन पुरुषले गर्छ भने घरको सम्पत्ति पनि पुरुषकै नाममा रहन्छ। महिलाको नाममा सम्पत्ति रहे पनि त्यसलाई कहाँ, कसरी खर्च गर्ने निर्णय पुरुषले नै गर्छ।

पितृसत्ताको जरा

पितृसत्ताले परिवार, समाज, राज्य, बजार, धर्म, संस्कृति र न्यायिक संरचना जस्ता सबैतिर जरा गाडेको छ। यसको प्रारम्भिक सुरुआत घरबाट हुन्छ। बच्चा जन्मेदेखि उसको पालनपोषण हरेक क्रियाकलापमा पितृसत्तात्मक सोच हावी हुन्छ। कतिपय अवस्थामा बच्चा जन्मिनुअघि नै छोरा हो भने जन्मन दिने होइन भने भ्रूणमै हत्या हुन्छ। छोरी जन्मिहाले पनि उसलाई छोराको तुलनामा कम पोसिलो खान दिने, घरको काम बढी गराउने, कतै एक्लै जान नहुने, जोडले हाँस्न नहुने, लजालु स्वभावको हुनुपर्ने लगायतका तालिमको सुरुआत घरबाटै गरिन्छ।

जसरी घर पितृसत्तात्मक संरचनामा आधारित छ, त्यसरी नै समाज पनि छ। गाउँघरमा रहेको जातीय संगठन, पञ्चायत लगायतको अगुवाइ पुरुषले गर्छ। यस्ता संस्थामा महिलालाई नेतृत्व लिनबाट अघोषित रूपले वञ्चित गरिन्छ। समाजले महिलाका लागि गर्नुपर्ने काम र पुरुषले गर्नुपर्ने कामको छुट्टै मापदण्ड बनाइएको हुन्छ। महिलाले बच्चा जन्माउने, खाना बनाउने, घरको रेखदेख गर्ने काम गर्नुपर्ने हुन्छ भने पुरुषले घरबाहिरको काम गर्नुपर्ने, परिवारलाई पाल्नुपर्ने लगायतका काम हुन्छ।

जस्तो खालको समाज हुन्छ, त्यसको प्रतिविम्ब राज्यमा पनि हुन्छ अर्थात् राज्य पनि पितृसत्तात्मक छ। नेपाली राज्यले विगत लामो समयदेखि लिंगको आधारमा विभेद गर्दै आएको छ। अहिले पछिल्लो समयमा यस्ता सोचमा केही परिवर्तन आए पनि अझै महिलाका लागि सहज वातावरण बनिसकेको छैन।

सबै धर्मले पितृसत्तालाई नै बढावा दिन्छन्। अधिकांश धर्मगुरुहरू पुरुष नै हुन्छन्, चाहे हिन्दू धर्मको धर्मगुरु÷पण्डित, क्रिस्चियनको पोप या इस्लामका मौलाना। सबै धर्मले महिलालाई दोस्रो दर्जाको हो भनेका छन्। वेदमा उल्लेख छ, शुद्र र नारीलाई वेद सुन्न मनाही छ। सुनेको खण्डमा सिसा तताएर कानमा हालेर दण्ड दिने परम्परा थियो। धर्मले पुरुषलाई स्वामी र महिलालाई सेवक भनेर व्याख्या गर्छ। जति पनि व्रत छ, सबै महिलाकै लागि छ, चाहे पतिको लामो आयुका लागि तीज होस् वा छोराको लामो आयुका लागि हुने जितिया वा महिनावारीको पाप पखाल्ने पञ्चमी। धर्मको नाममा अहिले पनि सबै डराउँछन्। यसविरुद्ध जाने आँट गर्दैनन् र यसलाई स्वीकार्न बाध्य हुन्छन्।

संस्कृति र परम्परा पनि पितृसत्तात्मक छ। वैवाहिक परम्परामा छोरीलाई हामी दान गर्छौं। विवाह गरेपछि महिलाको थर बदलिन्छ, घर बदलिन्छ, पहिरन बदलिन्छ तर पुरुषको केही पनि बदलिँदैन। ऊ बिहेअघि जस्तो हुन्छ, पछि पनि त्यस्तै रहन्छ। पुरुषलाई ऊ विवाहित रहेको प्रमाण देखाउनु पर्दैन तर महिलालाई देखाउनु पर्छ। सिउँदोमा सिन्दूर र गलामा पोते लगाउनुपर्छ। शिक्षा पनि पितृसत्तात्मक छ। अहिले पनि छोरीलाई सरकारी स्कुल, छोरालाई बोर्डिङ स्कुल पढाउने, छोरीले अलि–अलि पढे पनि हुनेजस्तो पितृसत्तात्मक मनोविज्ञान यथावत् छ।

मधेसमा पितृसत्ता

पितृसत्तात्मक संरचना र सोचले देशैभरि प्रभाव रहे पनि मधेसी समाजमा अझ फरक खालको रहेको देखिन्छ। केही महिनाअघिको प्रसंग हो। म र एक चिरपरिचित शिक्षित महिला सँगै काठमाडौंबाहिर जानुपर्ने भयो। हामी भेट्ने निधो भएको ठाउँ तीन तला माथिको एक अफिसमा थियो। मेरो ब्याग अलिक हलुको तर साथी अलिक भारी थियो, एक्लैले बोक्न गाह्रो हुने। साथीले सकीनसकी ब्याग एक्लैले बोकेर ट्याक्सीसम्म ल्याइन्। उनको श्रीमान् खाली हात हल्लाउँदै सँगसँगै तल आए। अरू बेला महिलाको हकहित र मानसम्मानको वकालत गर्ने व्यक्तिले त्यसो गरेको देख्दा अनौठो लाग्यो। मनमा प्रश्न जाग्यो। यस्तो किन गरेको होला ?

सायद स्वास्नीको ब्याग कसरी बोक्ने भन्ने मानसिकताले काम गरेको थियो होला। एक दिन मैले उहाँलाई सोधेँ, ‘तपाईंले किन सधैं सारी मात्र लगाउनुहुन्छ ? ’ उनले भनिन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ, तिमी कुर्तामा पनि राम्री देखिन्छौ तर सारी त गजबै सुहाउँछ।’ उल्लिखित दुई उदाहरण एकजना सहरमा बस्ने शिक्षित महिलाको हो। तर गाउँघरमा बस्नेले कसरी पितृसत्तालाई सम्वद्र्धन गर्छन्, त्यसका अनेकांै घटना देख्न पाइन्छ।

मधेसी समाजमा अझै पनि छोरीलाई घरको इज्जतसँग जोडेर हेरिन्छ। छोरा घरबाहिर रातिसम्म बसे पनि छुट हुन्छ तर छोरी कहाँ जान्छे, कोसँग जान्छे, कति बेला घर फर्किन्छे, सबै मापदण्ड परिवारले नै तय गरेको हुन्छ। छोरीलाई घरव्यवहारमा पोख्त हुनुपर्ने सोचको कारण जति पढे पनि बिहे गरेपछि घरव्यवहार गर्नुपर्ने भन्दै सबै काम बिहेअगाडि नै तालिम दिइन्छ। यस्तो तालिम छोरालाई पर्दैन। छोरालाई कुलको दीपक, वंश वृद्धि गर्ने, कुलको रक्षा गर्ने भन्दै मनोबल बढाइन्छ। अझै पनि मधेसी समुदायमा युवतीले बिहेको निर्णय स्वयं लिन सक्दैन। प्रेम गर्नु त पाप गरेसरह मानिन्छ। कसैले आफ्नो इच्छाले कुनै युवालाई मन पराएर बिहे गरे भने घरको इज्जत प्रतिष्ठामा आँच आएको मानिन्छ। अन्तरजातीय बिहे गरेछ भने जातीय द्वन्द्वदेखि धार्मिक द्वन्द्व हुनुका साथै हत्यासम्मको घटना हुन बेर लाग्दैन।

गाउँघरमा कसैको मृत्यु भएमा मलामी जानबाट महिलालाई वञ्चित गरिन्छ। आमाबुवाको शेषपछि दागबत्ती छोरीले दिन पाउँदैनन्। एउटै कोखबाट जन्मेको दुई सन्तानबीचको भेदभाव कति गहिरो जरा गाडेको छ। मधेसी समाजमा अहिले पनि महिला घरबाहिर गयो भने असुरक्षित हुने भयले घरभित्र राख्ने मनोविज्ञान कायमै छ।

पञ्चायतमा महिलाको उपस्थितिलाई राम्रो मानिँदैन। कथंकदाचित् कुनै महिला यस्तो पञ्चायतमा उपस्थित भएमा सबैले गिज्याउँछन्। यसको एउटा अनुभव म अझै सम्झिन्छु। मेरो बुवा र काका छुट्टिने बेलामा गाउँमा पञ्चायत बसेको थियो। पञ्चायतमा बुवासँग आमा पनि जानुभएको थियो। किनभने बुवा धेरै सोझो हुनुहुन्थ्यो भने काका धेरै चलाख। आमा पञ्चायतमा गएको कारण केही पञ्चले बुवालाई मौगियाहा भन्दै अपमान गरेका थिए। मौगियाहाको अर्थ घरमा महिलाको वर्चस्व रहेको लाग्छ। खाना बनाउने, लुगा धुने, बच्चा स्याहार्ने, श्रीमतीलाई कुनै पुरुषले सहयोग गरेको देख्दा उसलाई पनि मौगियाहा भनिन्छ।

अहिले पनि महिलाका विषयमा बनाइएका उखानटुक्का छन् जसले महिलालाई अपमानित गर्छ। ‘शुद्र, पशु और नारी, यी तिनो ताजन के हारी’ अर्थात् महिला, पशु र दलितलाई पिटेर मात्रै तह लगाउनुपर्छ। ‘जसको कपाल लामो हुन्छ, उसको दिमाग सानो हुन्छ’ अर्थात् महिला बुद्धिहीन हुन्छन् रे। ‘तिरिया चरित्र देवो न जाने’ अर्थात् महिला चारित्रिक हिसााबले साह्रै कमजोर हुन्छन्, देउताले पनि तिनका चरित्र थाहा पाउन सक्दैन। यस्ता थुप्रै कथन निर्माण गरेर महिलाको चरित्र तथा क्षमतामाथि घुमाउरो पाराले तल देखाइन्छ।

पितृसत्ताको असर

पितृसत्तात्मक संरचनाले बाहिरबाट पुरुषलाई फाइदा भएजस्तो देखिए पनि यसको असर महिला पुरुष दुवैलाई हुन्छ। पितृसत्तात्मक सोचको कारण महिलालाई शैक्षिक, राजनीतिक र सामाजिक रूपले पछाडि पारिएका छन्। महिला हिंसाको जड पनि पितृसत्ता नै हो। महिला पुरुषको अधीनमा बस्ने हो, उसलाई जे गरे पनि हुने सोचले हिंसा निम्त्याउँछ। आज विश्वमा प्रत्येक तीन महिलामध्ये एक महिलामाथि कुनै न कुनै रूपले हिंसा हुन्छ। नेपालमा पनि प्रत्येक वर्ष हजारौंको संख्यामा महिला हिंसाका घटना हुन्छन्। यस्ता अधिकांश हिंसा आफ्नै परिवारले नै गर्छन्। प्रत्येक वर्ष हजारौंको संख्यामा भ्रूण हत्या हुन्छ। यसको मूल कारण पितृसत्तात्मक सोच नै हो।

मधेसमा हुने बालविवाह र दाइजो प्रथा पनि यसैको उपज हो। महिलाले कमाएर खान सक्दैन, उसलाई जीवनभर पाल्नुपर्ने भन्दै केटा पक्षले बिहेअघि दहेज माग्छ र केटी पक्षले पनि छोरीलाई पराया धन भन्दै धनसम्पत्ति दिएर भए पनि जिम्मेवारीबाट मुक्त हुन्छ। यस्ता जिम्मेवारी बाबुआमाले धेरै बेहोर्नु नपरोस् भन्दै गर्भमै हत्या गरिदिन्छन्। कतिपयले त जन्मिसकेको छोरीलाई पानीमा बगाउने, खेतमा फाल्ने गर्छन्।

पितृसत्ताले महिलालाई हिंसा सहन सिकाउँछ भने पुरुषलाई हिंसा गर्न उक्साउँछ, जसको प्रभाव कालान्तरमा परिवार, समाज र पूरै देशमै पर्न जान्छ। आज दिनदिनै हुने यौनहिंसाका घटना यसैको उपज हो। महिलाको शरीरमाथि जसरी पनि नियन्त्रण गर्नुपर्ने, आफ्नो चाहना पूरा गर्न हिंसाको सहारा लिने मनोविज्ञानको विकास हुन्छ। महिला सुन्दर र कमजोर हुन्छन्। उसलाई भोग्नुपर्ने सोच विकास भएको हुन्छ। परिणामतः महिला असुरक्षित हुन पुगेको छन् भने पुरुष अपराधी। आज हजारौं पुरुष महिला हिंसाको घटनामा जेलमा छन्।

पछिल्लो समयमा महिला प्रयोग गर्ने वस्तुको रूपमा किनबेच हुन थालेका छन्। महिला एक बजार हुन पुगेको छ। महिलालाई विज्ञापन, ब्युटी कन्टेस्ट, फिल्ममा राखिएको आइटम गीतदेखि पोर्न बजारमा प्रयोग गर्ने गरिन्छ। महिलाको यौन र सुन्दरता अरबौंको बजार व्यवसाय बनेको छ। अहिले इन्टरनेटको पहुँचको कारण यो बजार विश्वभरि फैलिएको छ। यसले युवा पुस्तामा नकारात्मक प्रभाव परेको देखिन्छ। यसले व्यक्तिको सोचलाई मात्रै होइन कि परिवार र समाजलाई नै दूषित बनाउछ।

अबको बाटो

वर्षौंदेखि जरा गाडेको संरचना र सोचलाई परिवर्तन गर्न एक तह र एकै प्रकारले गर्न असम्भवप्रायः छ। तर, सबै पक्षको प्रयासबाट यसलाई उन्मूलन गर्न नसकिए पनि न्यून भने अवश्य गर्न सकिन्छ। यसका लागि चौतर्फी प्रयासको खाँचो छ। समाजले बनाएको महिलाप्रतिको मनोविज्ञानलाई चिर्नुपर्छ। महिला कमजोर हुन्छन् भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ। यसको सुरुआत घरबाट, आफैंबाट गर्नुपर्छ। छोराछोरीबीच विभेद हटाउन शिक्षा, रोजगारी, पैत्रिक सम्पत्तिमा पहुँच बढाउनुपर्छ। महिलाका लागि संविधानमा गरिएको व्यवस्था प्रजनन अधिकार, वंशीय अधिकार, अंशको अधिकार, राज्यको निकायमा प्रतिनिधित्व गर्ने अधिकारलाई पूर्ण रूपमा लागू गर्नुपर्छ। महिला हिंसासम्बन्धी बनेको ऐन कानुन सशक्त रूपमा लागू गर्नुपर्छ। साथै यस्ता ऐन कानुनबारे जनचेतना जगाउनु आवश्यक छ।

मधेसमा विद्यमान दाइजो, बालविवाह लगायतका सामाजिक कुरीति हटाउन सामाजिक अभियानको खाँचो छ। महिलाले पनि समाजले निर्माण गरेको मनोविज्ञान तोड्ने आँट गर्नुपर्छ। जस्तै आफूलाई सुन्दरताभन्दा माथि उठाउनुपर्छ। पितृसत्ताले निर्माण गरेका धार्मिक, सांस्कृतिक तथा परम्परागत चलनहरूलाई क्रमिक रूपमा तोड्ने आँट गर्नुपर्छ। पुरुषहरूले पनि समानताको पक्षधर हो भनेर हुँदैन, यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ। श्रीमतीलाई घरको काममा सघाउने, बालबालिकाको पालनपोषणमा सहयोग गर्ने, छोराछोरीबीच भेदभाव नगर्ने, छोरासरह छोरीलाई पनि पैत्रिक सम्पत्तिमा अधिकार दिने लगायतका कामको सुरुआत गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.