त्यो आइडिट फर्मुला
राजनीतिमा जबर्जस्त अनेकन् शब्द आउँछन्, हराउँछन् समयक्रममा। शब्दसँग इतिहास पनि जोडिएको हुन्छ। ती कतिपय मुलुकका परिवेश र माहोलमा आधारित हुन्छन् त कतिपय विदेशी। त्यस्ता शब्दले मुलुकमा राजसमेत गर्छन्, किनभने त्यसले ठूलो परिवेश बोक्ने हुँदा। अझ राजनीतिज्ञहरू नयाँ शब्दद्वारा राजनीतिलाई रंग्याउँछन्, आफ्नो उपस्थितिको आभास दिन।
राजनीतिक शब्दले कतिपय बेला मानिसलाई रोमाञ्चित तुल्याउने गर्छ। अझ त्यस्ता शब्दले सिंगो शासन पद्धति र संयन्त्रलाई ‘रहस्यमय’ बनाउँछ। मुलुकभित्रकै शब्द प्रयोग भए सजिलै भेउ पाउन सकिन्छ, बाह्य हुँदा अर्थ खुट्ट्याउन कठिन हुन्छ। नेपाली राजनीतिक भूमिमा बाह्य प्रभावी हुँदा त्यस्ता ‘जार्गन’ बुझ्न ती देशको इतिहास अध्ययन गर्नुपर्ने हुन्छ।
उता शब्द उत्पत्तिकर्ता मुलुकका नागरिकले सन्दर्भ बिर्सिसकेका हुन्छन्। तर, हाम्रो मुलुकका एकथरी राजनीतिक नेता र कार्यकर्ताका निम्ति सधैंभरि प्रिय हुन्छ। हामीकहाँ शब्द प्रयोग–परीक्षण सिलसिला निरन्तर छ।
तीसको दशकमा जबर्जस्त एउटा शब्दावली हाम्रो राजनीतिमा स्थापित हुन आइपुग्यो, ‘आइडिट फर्मुला’। पञ्चायतको उत्तराद्र्धसम्म कांग्रेसी (प्रजातन्त्रवादी) हरूको मुखमा यो शब्द खुबै अल्झिएको थियो, कम्युनिस्टहरूलाई होच्याउन। आइडिट फर्मुलाको सोझो अर्थ थियो, जसरी पनि सत्ता प्राप्तिका निम्ति घुसपैठ हुनु या गर्नु।
कम्युनिस्टहरूको पञ्चायती व्यवस्था प्रयोग र प्रवेश दृश्य उजागर गर्न कांग्रेसले ‘आइडिट फर्मुला’ ल्याएको हो, रणनीतिमूलक ढंगले। कम्युनिस्ट र दरबार–पञ्चबीचको ‘लसपस’ लाई व्यक्त गर्न कांग्रेसले ‘आइडिट फर्मुला’ को सैद्धान्तिक जामा पहिर्यायो। पञ्चायत र दरबार पसेका कम्युनिस्टले वैधानिक ढंगबाटै सत्तामा आधिपत्य जमाउनेछन् भन्ने माहोल कांग्रेसले बनाउँदै लग्यो।
खासमा दरबारलाई तर्साउन नयाँ शब्द ल्याएको थियो, कांग्रेसले। जतिबेला पञ्चायती व्यवस्थाले आफ्नो दलविहीन दर्शनलाई जबर्जस्त वैधता प्रदान गर्न राज्यको भएभरको स्रोत प्रयोग गर्दै थियो।
कांग्रेस नेता बीपी कोइरालाले २०३३ पुस १६ मा मेलमिलाप नीति लिएर स्वदेश फर्केपछि यो फर्मुला प्रयोगमा ल्याएका हुन्। उनले यो शब्द प्रयोग गरेपछि कांग्रेसीजनले इतिहास खोतल्दै भरमार प्रयोग गर्न थाले, ‘आइडिट फर्मुला।’ उनको मूलभूत उद्देश्य नेपालमा कमरेड आइडिटको फर्मुलाअन्तर्गत कुनै पनि बेला कम्युनिस्ट सत्ताकब्जा गर्न सक्छन् भन्ने डर दरबारलाई पैदा गराउनु थियो। माक्र्स, लेनिन, माओ मात्र होइन, आइडिट रणनीति पनि नेपालको राजनीति वृत्तमा आइपुग्यो।
प्रजातन्त्रसँगै यो शब्द हरायो। तर, राजनीतिमा त्यो प्रवृत्ति मौलायो। किनभने आइडिट प्रयोगकर्ता कांग्रेसभित्र प्रजातन्त्र पुनस्र्थापनासँगै घुसपैठको मात्रा बढ्यो। पहिला दरबारमा घुसपैठ हुन्थ्यो, प्रजातन्त्रपछि कांग्रेस र कम्युनिस्टमा।
के हो आइडिट फर्मुला ?
‘डिपा नुसानतारा आइडिट’, अर्थात् डीएन आइडिट इन्डोनेसियाको कम्युनिस्ट राजनीतिमा चर्चित पात्र थिए। यिनी कम्युनिस्ट महासचिव थिए। उनले सशस्त्र क्रान्ति होइन कि राज्यका हरेक अंग र निकायमा नियोजित रूपमा घुसपैठ गराएर सत्ता कब्जा गर्ने रणनीति बनाए, सन् १९६० को दशकमा। त्यहाँ कम्युनिस्टको निकै ठूलो प्रभाव थियो।
आइडिट राष्ट्रपति सुकार्नाेको शासनलाई सघाउँदै र सेनासँग पनि घनिष्टता कस्दै थिए। आइडिटले राष्ट्रपति सुकार्नाेलाई ‘राष्ट्रवादी’को जामा मात्र पहिर्याएनन् कि साम्राज्यवादलाई तह लगाउने नायकका रूपमा पनि परिभाषित गरे। उनी सुकार्नाेसँग सहकार्य गर्दै मात्र थिएनन् कि सेनाका जर्नेलहरूसँग साँठगाँठमा थिए। अर्थात्, सैन्यअधिकारीलाई राजनीतिक महत्त्वाकांक्षा जगाउँदै थिए। तिनले के बुझेनन् भने सेनाले राजनीतिको स्वाद लिनु भनेको अन्ततः निरंकुश–सैन्यतन्त्रलाई निमन्त्रणा गर्नु हो।
सुकार्नाे इन्डोनेसियालाई नेदरल्यान्ड्सको उपनिवेशबाट स्वतन्त्रता दिलाउने नेता थिए। सँगै उनी स्वतन्त्रतापछिको पहिलो राष्ट्रपति पनि। यद्यपि उनी ‘निर्देशित प्रजातन्त्र’ का पक्षपाती थिए।
आइडिटको मूलभूत लक्ष्य थियो, ‘सरकारी शासन संयन्त्र, सेना–गुप्तचरमा आफ्ना मानिस घुसपैठ गराउने।’ आइडिटले चिनियाँ कम्युनिस्ट पार्टीसँग निकटता गाँसी चारैतिर घुसपैठ गराउँदै थियो। खासमा उनीहरूको उद्देश्य सबैतिर आफ्ना मानिस संलग्न गराएपछि सत्ता हत्याउन सजिलो हुन्छ भन्ने थियो। त्यही कारण शासक सुकार्नाे र कम्युनिस्ट पार्टीबीच सहकार्य थियो। आइडिटले अमेरिकालाई प्रमुख शत्रु घोषित गरेका थिए। सैन्य विद्रोहले सुकार्नाे शासन पद्धति ध्वस्त भयो।
तीसको दशकमा जबर्जस्त एउटा शब्दावली हाम्रो राजनीतिमा स्थापित हुन आइपुग्यो, ‘आइडिट फर्मुला’। पञ्चायतको उत्तराद्र्धसम्म कांग्रेसी (प्रजातन्त्रवादी) हरूको मुखमा यो शब्द खुबै अल्झिएको थियो, कम्युनिस्टहरूलाई होच्याउन। आइडिट फर्मुलाको सोझो अर्थ थियो, जसरी पनि सत्ता प्राप्तिका निम्ति घुसपैठ हुनु या गर्नु।
कम्युनिस्टहरूविरुद्ध आमहत्याको शृंखलासमेत चलाइयो– सन् १९६५ मा। आइडिट पनि सरकारी आक्रमणमा परी मारिए। आइडिटले घुसपैठ राजनीतिमा मोहित भएर आफ्नै ज्यान मात्र गुमाएनन् कि त्यहाँ पार्टी इतिहाससमेत सिध्याए। अनि जनरल सुहार्ताेका निम्ति ३२ वर्षे शासनको ढोका खोलिदिए। उनको रणनीति असफल भएपछि त्यहाँ घोर दक्षिणपन्थी शैन्य शासन पद्धति स्थापित भयो। राष्ट्रिय एकता सार्वभौमसत्ताका निम्ति सैन्य शासन अपरिहार्य ठानियो, जनरल सुहार्ताेको उदय हुन पुग्यो।
त्यस्तै खाले दृश्य अफगानिस्तानमा पनि मञ्चन भयो। अफगानी राजा जहिर शाहलाई कम्युनिस्ट नेता बाब्राक कर्मालले साम्राज्यवादी विरोधी संज्ञा दिँदै राजाको साथ दिए। राजाको स्तुति गाउँदै रहेका बाब्राक कर्मालले सन् १९७३ मा राजतन्त्रविरुद्ध सैन्य विद्रोही मोहम्मद दाउद खानलाई साथ दिए।
नेपालमा आइडिट
खासमा रुस समर्थक कम्युनिस्टका हकमा यो ‘आइडिट’वाद प्रयोग भएको थियो। वीपी कोइरालाले पञ्चायती व्यवस्थाभित्र कम्युनिस्टको घुसपैठ र बाह्य चलखेल अथ्र्याउन ‘अडिटवाद’ शब्द प्रयोग गरेका थिए। ‘तर अभियानकै रूपमा चलाएका होइनन्’ बीपी कोइरालासँग निकट वरिष्ठ पत्रकार हरिहर विरही भन्छन्, ‘अर्काे त, कम्युनिस्टलक्षित मात्र यो शब्द प्रयोगमा आएको थिएन। खासमा कम्युनिस्ट, दरबारिया, विदेशी शक्तिलाई समेत संकेतात्मक रूपमा प्रयोग भएको हो।’
सन् १९६० को दशकपछि विश्व दुई ध्रुवीय राजनीतिमा विभाजित थियो। विरहीका अनुसार, ‘नेपालमा ६ वटा शक्ति क्रियाशील रहेको विश्लेषण बीपीको थियोे। बाह्य शक्ति भारत–रुस, अमेरिका, चीन सक्रिय थिए भने आन्तरिक रूपमा दरबार र कांग्रेस। अमेरिकाले कम्युनिस्ट बढ्न नदिने रणनीतिअनुरूप सक्रिय राजतन्त्र र सैन्य शासकलाई समेत सहयोग गथ्र्याे।’
त्यतिखेर नेपालमा कम्युनिस्ट छिन्नभिन्न थिए, तिनीहरू शक्तिका रूपमा उदाएका थिएनन्। यद्यपि उनीहरूको उपस्थिति बाक्लिँदो थियो। पञ्चायतले आफूलक्षित प्रहार मोड्न कम्युनिस्ट त्रासको हावा फिँजाउने रणनीति कांग्रेसले लियो। अर्थात् दरबारलाई कम्युनिस्टहरू बलियो हुँदै गएको तथ्य सम्झाउनु थियो। खासमा कांग्रेस नेताहरूबाटै आइडिट फर्मुला प्रयोग भएको हो, दरबार र पञ्चहरूलाई तर्साउन।
त्यसो त, २०४० ताका कम्युनिस्ट नेताहरू खुला रूपमा भन्थे, ‘हो, हामी व्यवस्था, घर र सडक कहीँ पनि घुस्न चुक्दैनौं।’ कतै कम्युनिस्ट पृष्ठभूमिका कर्मचारीहरू भेटेमा या देखेमा ‘आइडिट’को जगजगीको रूपमा कांग्रेसीहरू अथ्र्याउँथे। अनेक चिरामा विभाजित कम्युनिस्ट पार्टीको घोषित उद्देश्य थियो, पञ्चायतको राजनीतिक ‘किल्ला कब्जा’ गर्ने। त्यहाँभित्रका केही घटक पञ्चायती पद्धतिलाई सक्रिय बहिष्कारमा गए भने केहीले पञ्चायती चुनावलाई संघर्षकै रूपमा लिने अख्तियार गरे।
खासमा ‘आइडिट फर्मुला’ स्थापित गराउनेमा साप्ताहिक ‘राष्ट्रपुकार’ थियो। चालीसको दशकमा ‘साप्ताहिक मञ्च’ र ‘विमर्श’ले ‘भूमिगत गिरोह’ स्थापित गरे जसरी नै ‘राष्ट्रपुकार’ले आइडिट फर्मुलालाई स्थापित गरेको थियो। ‘हो, आइडिट शब्द बीपीले राजनीतिमा प्रवेश गराउनुभएको हो’, राष्ट्रपुकार साप्ताहिकका तत्कालीन सम्पादक होमनाथ दाहाल भन्छन्, ‘त्यो कालखण्डमा आइडिट सन्दर्भ अथ्र्याउन सक्ने नेतामा बीपी मात्र थिए। यहाँ धेरैले आइडिटलाई कम्युनिस्टँग मात्र जोडे। यथार्थमा, त्यो त्यतिमा मात्र सीमित थिएन।’
‘दरबारलाई थर्काउन’ बीपी भन्ने गर्थे, ‘कम्युनिस्टलाई धेरै विश्वास नगर, यिनीहरू तिम्रा हुन सक्दैनन्।’ त्यतिखेर कांग्रेसभन्दा कम्युनिस्ट राष्ट्रवादी हुन सक्छन् भनी तिनलाई दरबारले संरक्षण र सहयोग गथ्र्याे।
भारत–रुसको गठबन्धन कसिलो थियो। भारतले भनेपछि रुस ‘जे गर्न पनि’ तयार हुन्थ्यो। यहाँसम्म कि नेपालको शान्ति क्षेत्रको प्रस्तावमा समर्थन जनाइसकेपछि भारतको दबाबमा रुसले फिर्ता लिएको पृष्ठभूमि थियो। नेपालमा रुसको उत्तिकै दरिलो प्रभाव थियो। रुस समर्थक मानिएका उच्च तहका नेताहरूको दरबारसँग घाँटी जोडिएको थियो। ‘नेपालमा राजनीतिक मेलमिलाप हुन नदिने तत्त्वहरूलाई बीपीले आइडिट फर्मुलाभित्र पारेका थिए’, दाहाल भन्छन्।
पञ्चायतको प्रारम्भिक चरणमै कांग्रेसका पूर्वमहामन्त्रीदेखि केन्द्रीय तहका नेताहरूको ठूलो डफ्फा पञ्चायत प्रवेश गर्यो, कम्युनिस्ट संख्या न्यून थियो। तीसको दशकपछि कम्युनिस्टहरू पनि उल्लेख्य संख्यामा शासकीय वृत्तमा घुसिरहेका थिए, कोही जागिरेका रूपमा त कोही पञ्च राजनीतिकर्मीकै रूपमा।
कम्युनिस्टले ‘उपयुक्त ठानिएको’ बेला पञ्चायत ध्वस्त पार्ने नीति लिएको थियो। कम्युनिस्ट रणनीति थियो– ‘मिल्न सक्ने शक्ति र पात्रहरूलाई एकत्रित गर्ने, तटस्थ पार्न सकिने शक्तिहरूलाई तटस्थ तुल्याउने, कुनै बेला आफ्ना निम्ति खतरा हुन सक्ने या आलोचना गर्ने शक्तिलाई ध्वस्त पार्ने।’ जबसम्म कम्युनिस्ट विरोधीहरू सकिँदैनन्, तबसम्म आफ्नो लक्ष्य पूरा हुँदैन भन्ने मान्यता तिनको रह्यो।
त्यो अभियोग पञ्च र कम्युनिस्टबीच फाटो ल्याउने कांग्रेसको दाउ भएको टिप्पणी पञ्चहरूको थियो। कम्युनिस्टसँग पञ्चलाई तर्साउने जिकिर तिनको थियो। कम्युनिस्टबाट पञ्च बनेका जनार्दन आचार्यले लेखेका थिए, ‘कम्युनिस्टहरूको शक्ति तथा आशयलाई अतिरञ्जित गरेर तलमाथि सर्वत्र त्रास र भय फैलाउनु, अनि कम्युनिस्ट आतंकको हौवा खडा गराएर शक्ति हत्याउनु कांग्रेसीहरूको पुरानै चाल हो। कम्युनिस्ट बढे, देश खान लागे, कम्युनिस्ट समाप्त पार्न सक्ने शक्ति हामीमात्र हो। यसरी प्रत्यक्ष होस् वा परोक्ष, जानेर होस् वा अञ्जानमा कम्युनिस्टहरू कांग्रेसका सहायक नै सिद्ध भएका छन्।’ (विमर्श साप्ताहिक, २०४१ फागुन २५।)
‘घुसपैठका सबालमा’ कम्युनिस्ट नेता मनमोहन अधिकारी पञ्चायतको उत्तराद्र्धमा खुला रूपले भन्ने गर्थे, ‘छ।’ वरिष्ठ पत्रकार किशोर नेपालका अनुसार, ‘राजा र पञ्चहरूले यो कुरा बुझे हुन्छ, कम्युनिस्टहरूको घुसपैठ हरेक ठाउँमा छ। दरबारमा पनि हाम्रो घुसपैठ छ। (किशोर नेपाल, मेरो समय, पृष्ठ ः ३६०।)
जतिबेला बीपीले यो शब्द प्रयोग गरे, त्यतिबेला गाउँ फर्क अभियानका अध्यक्षमा कमलराज रेग्मी थिए, जो २०१५ को आमनिर्वाचनमा कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद थिए। गाउँ फर्क पञ्चायती व्यवस्थाको नीतिनिर्माण गर्ने पोलिटब्युरो थियो। त्यस अतिरिक्त कम्युनिस्ट नेताद्वय डीपी अधिकारी मन्त्रिपरिषद्मा सामेल थिए भने यज्ञप्रसाद आचार्य सक्रिय हर्ताकर्ता थिए। दरबार रिझाउँदै कम्युनिस्टहरू पद प्राप्त गरिरहेका थिए। कम्युनिस्ट पञ्चायतमा घुसपैठ गरी शासन पद्धति कब्जामा लिनेछन् भन्ने त्रासको माहोल कांग्रेसी वृत्तबाट प्रचारित भयो।
हुन त, पञ्चायतकालमा धेरैजसो कम्युनिस्ट घटकको चाहना ‘प्रजातन्त्र’ थिएन। पञ्चायतकाल उत्तराद्र्धसम्म पनि कांग्रेस र कम्युनिस्ट दुवैका ‘बाटा’ फरक थिए। उनीहरूको क्रान्ति ‘नौलो जनवाद या नयाँ जनवाद’का निम्ति थियो। बहुदलीय जनवाद त प्रजातन्त्रपछिको देन हो। कांग्रेस ‘मुख्य दुश्मन’ को सूचीमा दर्ज थियो। तर दुर्भाग्य, अवसर छोप्न होस् या रणनीतिमूलक घुसेका हुन्, थोरै कम्युनिस्ट मात्र पार्टीप्रति बफादार रहे। धेरैजसो त पञ्चायतकै बफादार बने। अर्थात्, नेपालमा कांग्रेसले देखाएको जस्तो त्रासमा रूपान्तरित हुन सकेन, ‘आइडिट फर्मुला’।