द्रौपदी अर्थात याज्ञसेनी

द्रौपदी अर्थात याज्ञसेनी

द्रौपदी भन्नेबित्तिकै सामान्यतः बन्ने ‘बहुपति भोग्या’को छविभन्दा फरक कोण दिन नै उपन्यासको नाम ‘याज्ञसेनी’ राखिएको हुनुपर्छ।


महाभारतकी सर्वाधिक चर्चित पात्र द्रौपदी सामान्यतः बहुपति वरण गरेकी पञ्चपाण्डवकी पत्नीका रूपमा चिनिन्छन्। कतिपय अध्येताले द्रौपदीलाई नै उदाहरणको रूपमा प्रस्तुत गरी तत्कालीन हिन्दमहाद्वीपको आर्य समाजमा बहुपति प्रथा थियो भनी दाबी गर्छन्। अहिले पनि कुनै महिलाले आफ्नो श्रीमान् छाडेर अर्को पुरुषसँग वैवाहिक सम्बन्ध जोडे ‘द्वापर युगमा द्रौपदीले गर्न हुने, आज अरुले गर्न नहुने ? ’ भनी बचाउ गर्ने पक्ष पनि हुन्छन्। त्यस्तै दुई पुरुषलाई पति वरण गरेकी महिला भए ‘द्रौपदीजस्ती’ भनी खिस्सी गर्ने पनि हुन्छन्।

यसरी दुवै दृष्टिले द्रौपदीलाई नकारात्मक उदाहरणका रूपमा प्रयोग गरेको देखिन्छ। भारतकी उपन्यासकार तथा कथाकार प्रतिभा रायलाई यस्तो व्याख्या चित्त बुझेनछ। ‘ऐतिहासिक र पौराणिक घटना र पात्रमाथि चोटिलो आख्यान लेख्नमा सिद्धहस्त’ रायले द्रौपदी पात्रको यस्तो सा“घुरो परिचयमाथि प्रश्न उठाइन् र स्वंय ‘द्रौपदी’ बनेर महाभारतको पुनर्लेखन थालिन्। महाभारतलाई व्यासको कलमबाट धेरैले पढेका होलान्। तर, ओडिया भाषाका लेखिका रायले महाभारतकै पात्र द्रौपदीको कोणबाट महाभारत लेखिन्। उनले आफ्नो उपन्यासको नाम ‘द्रौपदी’ होइन, ‘याज्ञसेनी’(१९८५) राखिन्। गुरु द्रोणाचार्यसँग बदला लिन राजा द्रोपदले आयोजना गरेको यज्ञको अग्निबाट जन्मेकी हुनाले द्रौपदीलाई याज्ञसेनी भनियो। द्रौपदी भन्नेबित्तिकै सामान्यतः बन्ने ‘बहुपति भोग्या’को छविभन्दा फरक कोण दिन नै उपन्यासको नाम ‘याज्ञसेनी’ राखिएको हुनुपर्छ। रायको ‘याज्ञसेनी’ उपन्यासलाई हिन्दीबाट नेपाली भाषामा दार्जिलिङकी नेपालीभाषी लेखिका विद्या सुब्बाले अनुवाद गरिन्। नेपाली समाजमा याज्ञसेनी नामले भन्दा द्रौपदी नामले महाभारतकी यी पात्रलाई चिन्ने भएकाले अनुवादक र प्रकाशकले नेपाली अनुवादको नाम ‘द्रौपदी’ राख्न उचित मानेको देखिन्छ।

लेखक कृष्ण धरावासीले ‘राधा’ उपन्यास लेखेर कृष्णलीलाका नायक श्रीकृष्णकी प्रेमिका राधाको जीवनवृत्तिबारे आख्यानिक व्याख्या गरेका थिए। कुनै पनि वस्तुलाई एउटा कोणबाट हेर्दा जस्तो देखिन्छ, त्यसबाट बन्ने प्रभाव पूर्ण हुँदैन। धरावासीले राधालाई जसरी आफ्नो कोण बनाएका छन्, त्यस्तै रायले महाभारतकी पाञ्चालीको कोणलाई प्रयोग गरेकी छन्।

महिला आन्दोलनमा ह्यासट्याग मीटु उत्कर्षमा रहेको बेला द्वापरयुगकी एकजना राजकन्याको चित्रणले न तत्कालीन औसत महिलाको सफल व्याख्या हुन सक्छ न ह्यासट्याग मीटुमा भिडिरहेका महिलाका भावनालाई सम्बोधन गर्न सक्छ। त्यो अपेक्षा आफैंमा अवस्तुगत हो। रायले उपन्यासमार्फत पूरा गर्न खोजेको आधारभूत ध्येय भनेको याज्ञसेनीलाई पुरुषवादी सत्ताले जसरी सीमित घेराभित्र राखेर व्याख्या गर्ने गरेको छ, त्यसलाई भत्काउनु हो। द्रौपदीलाई ‘बहुपति भोग्या’को रूपमा जसरी चर्चा गर्ने गरिएको छ, उनीहरूलाई द्रौपदीको कोणबाट हेर्न सिकाउनु नै उनको प्रयास देखिन्छ। पञ्चपतिकी अर्धांगिनी कसरी बन्न पुगिन् द्रौपदी ? त्यो उनको इच्छा थियो वा बाध्यता ? यसको निम्ति याज्ञसेनी स्वयं कति दोषी थिइन् ? अनि पाञ्चाली भएबापत उनले भोग्नु परेका कयौं व्यावहारिक र मनोगत चुनौती, समस्या र अन्योलको उनले कसरी समाधान गरिन् ? याज्ञसेनीले आफ्नो जीवनकालमा भोग्नु परेका यस्ता कयौं प्रश्नको उत्तरकै वरिपरि यो उपन्यास परिक्रमा गरेको छ।

द्रौपदीलाई आफ्नो धनुर्विद्याको कौशलले पाँच पाण्डवमध्ये अर्जुनले जितेका थिए। याज्ञसेनीले पनि अर्जुनलाई नै वरमाला लगाएर आफ्नो पति स्वीकारेकी थिइन्। तर पाण्डव याज्ञसेनीसहित आशीर्वादका लागि आमा कुन्तीको कुटीमा जा“दा भित्रैबाट ‘जे ल्याएका छांै, पाँचै जना बा“डेर लिनु’ भनी बोलेको वचन नै शिरोपर गरेर द्रौपदीलाई पाँचै दाजुभाइकी श्रीमतीका रूपमा विवाह गरिन्छ। यो न आर्यसभ्यताको परम्परा थियो, न द्रौपदीकै चाहना। उपन्यासभरि द्रौपदी पटकपटक यसमा दुःखमनाउ गर्छिन्। त्यसैकारण उनले दुरभविष्यसम्म बहुपति भोग्याको कलंक मात्र भोग्नु परेन, कौरवमध्येकी दुस्सासन र कुन्तीपुत्र कर्णबाट पनि पटकपटकको अपमान भोग्नु परेको हुन्छ। आफ्नो इच्छा नभएर पनि द्रौपदीले पाँच दाजुभाइलाई पति मान्नुपर्दा आफ्नो जीवनभर मात्र होइन, कलियुगमा समेत नकारात्मक उदाहरण बन्नु परेकोमा उपन्यासकारले प्रतिकार गरेकी छन्।

पाँच पाण्डवका पाँचै कौशल र विशेषताबारे धेरै चर्चा भइसकेको छ। तर, उनीहरूलाई नजिकबाट हेरेकी–बुझेकी पाञ्चालीले पाँचै पतिका गुणलाई मात्र होइन, बैगुनलाई पनि उपन्यासमा उजागर गरिएको छ। युधिष्ठिरको भद्र चरित्रबारे धेरै कथा र उपकथा बुनिएका छन्। तर द्युतक्रीडा (जुवा) का सोखिन युधिष्ठिरले आफ्ना सबै सम्पत्ति र राज्यमा मात्र नभई द्रौपदीलाई समेत दाउमा राखेका थिए। अर्जुनको वीरता, रूपलावण्य, कौशलबारे धेरै प्रशंसा कथा रचिएको छन्। तर आफूले मात्र जितेकी द्रौपदीलाई पाँच दाजुभाइको बनाउनु पर्दाको आरिसले द्रौपदीप्रतिको उपेक्षाभाव, भीमको रिसराग र भोक, कुन्ती पुत्र नभएकोमा सहदेवको लघुताभास आदि फरक कोणबाट मात्र देख्न सकिने पक्षलाई उपन्यासले प्रकाशमा ल्याउने प्रयास गरेको छ।

महाभारत राजनीतिक आख्यान हो। त्यसकारण महाभारतको मूल पाठमा राजनीतिक पक्षलाई बढी प्राथमिकतामा राखिनु स्वाभाविक हो। तर ‘द्रौपदी’ उपन्यासले भने महाभारतमा कमी रहेको भावनात्मक पक्षलाई याज्ञसेनीमार्फत पूरा गर्न खोजेको छ।

याज्ञसेनीको आत्मवाचन शैलीमा बहेको उपन्यासको केन्द्रमा भने सुरुदेखि नै कृष्ण छन्। खासमा यो पूरै उपन्यास नै द्रौपदीले कृष्णको नाममा लेखेको पत्र शैलीमा छ। स्वर्गप्रस्थानका लागि पाँच पतिसहित द्रौपदी हिमालयमा हिँडिरहेको बेला अचानक चिप्लिएर लड्छिन्। तर, स्वर्गको ढोका बन्द हुने भयले युधिष्ठिरको निर्देशनमा पाँच पतिले उनलाई उठाउ“दैनन्। उनीहरूमात्र अघि बढ्छन्, पाञ्चाली घायल भएर लडिरहन्छिन्। त्यही अवसादको समयमा कृष्णलाई सम्झेर द्रौपदीले लेखेको वृत्तान्त नै यो उपन्यास हो। कृष्णसँगको आजन्म आस्थाकै कारण द्रौपदीको अर्को नाम ‘कृष्णा’ हुन्छ। भौतिक रूपमा ‘कृष्णा’ अर्जुनकी श्रीमती हुन्, तर अर्जुन स्वंय कृष्णको रूपमा हुनुको नाताले ‘कृष्णा’को अर्जुनप्रतिको प्रेम कृष्णप्रतिको प्रेमकै अर्को रूप भनी चित्रण गरिएको छ।

जब कसैले आफूले अपेक्षा गरेजस्तो केही कुरा पूरा हु“दैन भने दुःखबोध हुन्छ। द्रौपदीको जीवनलाई दुःखदायी जीवन मानिएको छ, किनभने उनले जीवनमा जे पनि अपेक्षा गरिन्, ती कुनै पनि पूरा भएनन्। कृष्ण मिलनको चाहना थियो, पाण्डवसँग विवाह भयो। अर्जुनको प्रेमको व्यग्र अपेक्षा थियो, अर्जुन सधैं याज्ञसेनीबाट विमुख भए। कौरवले राजसभामा उनको ठूलो बेइज्जती गरे। पाण्डवसँगै स्वर्ग प्रस्थानको अपेक्षा थियो, पाण्डवकै कृतघ्नताका कारण उनी हिमालयमै उपेक्षित बन्न बाध्य भइन्। महासमरमा धेरै आफन्तजनसँगै द्रौपदीले आफ्ना प्रिय पाँच पुत्र, बुवा, दाजु धृतद्युम, अभिमन्युजस्ता अतिप्रिय व्यक्ति गुमाउनुपर्दाको पीडाबोध पनि भोगिन्।

आमा कुन्तीसँगै पाण्डव वनबासी हु“दै द्रौपदीसँग विवाह भयो। उनीसँगको विवाहपछि नै पाण्डवले हस्तिनापुरभन्दा अलग इन्द्रप्रस्थ राज्य हासिल गर्न सफल भए। नत्र धृतराष्ट्रबाट त्यत्ति सहजै राज्य हासिल गर्न सम्भव थिएन। पाण्डवकै कारण द्रौपदीले राजसभामा बेइज्जती भोग्नुपर्‍यो। तर आफ्ना पतिहरूप्रति उनको कुनै गुनासो रहेन। उनीहरूसँग आरण्य प्रस्थान गरे। त्यहा“का आदिवासीसँग द्रौपदीकै व्यवहारका कारण मेल सम्भव भयो। आदिवासीसँगको मिलन नै कालान्तरमा कौरवमाथि विजय हासिल गर्ने बलियो गठबन्धनसिद्ध भयो। तथापि स्वर्गप्रस्थानको समयमा द्रौपदी क्षीण भई हिमालयमै बस्न बाध्य भइन्। महिला सहनशील भएर पनि अपमानित हुनु परेको कोण उजागर गर्न द्रौपदी पात्रको उपन्यासकारले भरपूर उपयोग गरेकी छन्।

कुन्तीपुत्र कर्णसँग द्रौपदीको सम्बन्ध भने निकै रोचक खालको देखाइएको छ। अर्जुनले आफ्नो धर्नुकौशल प्रस्तुत गर्नुअघि नै कर्णले द्रौपदीसँग विवाह गर्न परीक्षा दिन लागेका थिए। तर, कर्णको जन्मकुलबारे प्रश्न उठ्दा उनी द्रौपदीसँग विवाह गर्ने अवसरबाट वञ्चित हुन्छन्। उनी द्रौपदीलाई प्रेम गर्छन्। तर, आफ्नो प्रेम सफल नभएकोमा उनी बरोबर द्रौपदीको अपमान र उपेक्षा पनि गर्छन्। यो सम्बन्धको आरोहअवरोह रोचक खालको छ। हिन्दीबाट नेपालीमा विद्या सुब्बाले निकै उत्कृष्ट तरिकाले कृति अनुवाद गरेकी छन्। उपन्यास पढ्दा कहीँ कतै पनि यो अनूदित कृति हो भन्ने लाग्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.