एक पातोमा चैनपुर !

एक पातोमा चैनपुर !

‘ओहो, कस्तो उज्यालो !’

दिन र रात गरेर म पुगेथेँ चैनपुर। यो चैनपुर पश्चिमको चैनपुर। यो चैनपुर बझाङको चैनपुर।

‘सुदूरै रहेछ !’

मैले कालिकोटे मोतीराज बमलाई खुसुक्क भनेँ।

उनले थपे— ‘हो दाइ, भनेसम्मको टाढा हो। सुदूरपश्चिम हो !’

रातभरिको र अघिल्लो दिनको बसको यात्राले ज्यान बेस्सरी थिचिएको, गिलिपित्ती भएको, उरालधुराल भएको थियो। आँखामा निद्रा कच्पल्टिएको थियो। जिउमा थकाइले राम्रैसँग दाइँ मच्चाएको थियो।

घुँडा टन्केर हुनसम्म बल्किएका छन्। पैताला पोलेर भत्भतिएका छन्। गर्धन र ढाडले पिल्लिएको गनगन सुनाइरहेकै छन्। कन्पारोमा लेस्साइएको मयलले जिउ चिलाएको छ।

नहोस् पनि किन र— अठारघण्टे भीर, घुमाउरो, पहाडी बाटोका कहालीलाग्दा जोल्टिङ पार गरेर चैनपुर पुगेथेँ म। सातो जाने पहरा, कइनेटा, छाँगाछुर भिराला नाघेर चैनपुर पुगेथेँ म। अत्यास लाग्ने खोँच, गहिरा गढतीर, ढुंगेनी ककारो र सेपिला उकालीमा हुर्दुराई–हुर्दुराई चैनपुर पुगेथेँ म।

वैशाखको पुछार, २०७५।

जाडो न गर्मीको लोभ्याउँदो मौसम। रातभरि गुथेका लुगा थन्काएँ। केही पातला लुगा लगाएँ।

सिमखेत बजार कटेपछि बाहुलीगाड पुल नाघ्यौं।

धेरै अघिदेखि साथी भएको सेती नदी पनि चैनपुर पस्ने बेलामा भेटियो। उसको कलकल अहिले झन् मीठो, सन्दर र आनन्ददायी लागिरहेथ्यो। उसको खलबल औधी चखिलो लागिरहेथ्यो। सेतीको बगाइमा मन पनि बगिरह्यो... बगिरह्यो...।

बम बोलिरहेका छन्— ‘यो महादेवको कथासँग जोडिएको नदी हो। सतीदेवी, सत्यदेवी, सतीनदी भएर अहिले सेती नदी भएको छ।’

‘भनेपछि नाम फेर्दै बगिरहेको हो यो नदीले ?        ’

‘हो दाइ पक्का पनि !’

हामीलाई बोकी ल्याउने गाडी छोडेर तल बजारतिर गयौं। हातमुख धोएर पेटपूजा गर्‍यौं। एउटा ठूलै हूलमा थिएँ म।

जोगीसन्न्यासी, नेता, गृहस्थीको बगालमा कवि, गायक र स्वास्थ्यकर्मीको लस्कर थियो बेपत्तैले। यी सबैलाई भेला पारेर ल्याएथे— मनकारी पद्मराज जोशीले।

ती हरबखत मलाई सोधिरहेका हुन्थे— ‘खानु भो ?        सुताइ कस्तो भो ?        थकाइ लाग्यो कि ?        ’

जोशीको स्नेह र आदरले म आपैmं पग्लिरहेको थिएँ, होचिइरहेको थिएँ, थेप्चिइरहेको थिएँ। उनी आपैmं फ्याङ्ले चप्पल, झुसे अनुहार र फिलफिले लुगामा सबैको हेरविचार गरिरहेथे, सोधखोजमा लागिपरेका थिए, चासोचिन्तामा खटिएका थिए।

बझाङको चैनपुर पुरानो र ऐतिहासिक र पहाडी सहर।

सुन्दर पहाडी बजार यो। सेती र बाहुली गाडको दोभानमा थपक्क बसेको रहेछ चैनपुर।

वरिपरि पहाडका थुम्का छन्। चारै सुरमा खोँच, चुली र डाँडाका तरेली छन्। खोलाको दोभानमा सम्मिएको बेसीभरी चैनपुर हाँसेको छ खित्काएर।

चैनपुरसँग मेरो मन जोडिएथ्यो— बझाङी राजा जयपृथ्वीबहादुर सिंहको जीवनकथाले।

जयपृथ्वी— राजपाट छोड्ने साहसी राजकुमार। जयपृथ्वी— बेलायत जाने पहिलो कूटनीतिज्ञ। जयपृथ्वी— गोरखापत्रका पहिलो सम्पादक। जयपृथ्वी— प्रथम नेपाली व्याकरणकार।

जयपृथ्वी— मानवतावादको प्रचार गर्ने पहिलो नेपाली। जयपृथ्वी— पहिलो विश्वयुद्धको विरुद्धमा औंला ठड्याउँदै इटाली पुग्ने नेपाली। जयपृथ्वी— सत्यदेवी विद्यालय खोल्ने निडर व्यक्ति।

र, यो पनि अर्को सम्झना— कठोर र निर्मम सजाय दिने        श्री ३ चन्द्रशमशेरका छोरीज्वाइँ— जयपृथ्वी। तिनै जयपृथ्वी पछि भारतमा ओखती नपाएर अभावै अभावमा मर्न पुगे। अकालमा ज्यान बिसाउन पुगे।

उनैलाई सम्झिरहेको छु म। यो चैनपुर— जयपृथ्वीबहादुर सिंह जन्मेका थिए। यहीँबाट उनले मानवता, समानता, शिक्षा र समृद्धिका लागि बलिया स्वर उरालेका थिए।

बम सँगै छन्।

उनी बोलिरहेका छन्— ‘२०१८ सालमा बल्ल नेपाल अधिराज्यमा बझाङ मिसिएको हो। अरू राजारजौटाले सजिलै आत्मसमर्पण गरे। तर बझाङी राजा ओमजंगबहादुर सिंहले महेन्द्रलाई कत्ति नि टेरेनन्। नेपाली सेना र ओमजंगबहादुरका सेनाबीच घमासान युद्ध भयो। अनि बल्ल नेपालमा मिसियो बझाङ !’

‘आफ्ना मस्तका कुमारी छोरीलाई अगाडि उभ्याई बिन्तीपत्र लेखेर बाबुसाहेबहरूले नारायणहिटीमा चढाउँथे। तरुनी छोरी र बिन्तीको बदला उनीहरूले काठमाडौंमा दरबार र मधेसमा मौजा पाउँथे। तर बझाङका राजाले त्यसो गरेनन्। अनि उनी मारिए !’

मोती बोलिरहेका छन् फरर्र। इतिहासका चखिला कुराले मनमा ज्ञानको घाम झल्मलायो।

घाम लागेर उज्यालिएपछि चैनपुर बजारतिर लुसुक्क हिँडेँ म। बजारमा बाटाघाटा बनिरहेका थिए। गोेरेटा, गल्ली अझ बढी नै थिए। उपत्यका जस्तो चैनपुरको वरिपरि पहाडै पहाडको सुरक्षा थियो, सौन्दर्य थियो।

‘मैले बझाङी राजाको दरबार खोजेको !’

बाटामा भेटिएका शेरबहादुर रोकायालाई सोधेँ।

उनले डोर्‍याउँदै जिल्ला प्रशासन कार्यालयको ढोकासामु लगे।

‘यो राजा जयपृथ्वीबहादुरको हात्तीसार हो। उनी जन्मेको दरबार त अलिक पर छ। अहिले भत्किइसक्यो !’

मैले एकदुई किलिक् तस्बिरहरू खिचेँ। इतिहासका थपै्र पाइलाले हात्तीसार ढाकिएको लाग्थ्यो। चिसचिसो लागे नि बेसीको तातोले त्यो मौसम मायालु लागिरहेथ्यो।

बजार छिचोलेर दक्षिणपट्टि पुग्दा भव्य र ठूलो मन्दिर भेटियो। चैनपुरको प्रख्यात शक्तिपीठ रहेछ— सुर्मादेवी।

मैले फन्को मारेँ मन्दिरको।

‘खड्का, कुँवर, रोकाय, विष्ट, थापा, सिंह छन् चैनपुरमा। ठकुरीसँगै बाहुन छन् बढ्ता।’

खगराज सुवेदीले बताए।

जयपृथ्वी— राजपाट छोड्ने साहसी राजकुमार। जयपृथ्वी— बेलायत जाने पहिलो कूटनीतिज्ञ। जयपृथ्वी— गोरखापत्रका पहिलो सम्पादक। जयपृथ्वी— प्रथम नेपाली व्याकरणकार। जयपृथ्वी— मानवतावादको प्रचार गर्ने पहिलो नेपाली। जयपृथ्वी— पहिलो विश्वयुद्धको विरुद्धमा औंला ठड्याउँदै इटाली पुग्ने नेपाली। जयपृथ्वी— सत्यदेवी विद्यालय खोल्ने निडर व्यक्ति। र, यो पनि अर्को सम्झना— कठोर र निर्मम सजाय दिने श्री ३ चन्द्रशमशेरका छोरीज्वाइँ— जयपृथ्वी।

बाहुन जत्ति सबैले जोशी थर लेख्ने गरेको पाएँ मैले। खगराज आफैले पनि मसँग चिनाजान गर्दा जोशी थर भनेथे सुरुमा।

परम्परा र धर्मप्रति नडगमगाएको देखेँ मैले बझाङी समाज। संस्कृति र आफ्नो मौलिकतामा अडिग भएको देखिन्थ्यो चैनपुरे समाज।

हिक्मत सिंह भेटिए— सुर्मादेवीको आँगनमा। उनीसँग धेरै कुरा भए।

चैनपुरका वरिपरि थिए अग्लाअग्ला थुम्काहरू। पूर्वको राजकोट र दक्षिणको पानकोट हरियालीले सिँगारिएका थिए।

यस्तै उत्तरपट्टि चुलिएको थियो आटाकोट। पूर्वपट्टिकै काप्रीकोट र डुम्राकोटले पनि चैनपुरलाई हेरविचार गरेको लाग्थ्यो।

‘बझाङी राजाको दरबार छ नि सुर्माताल उता !’

हिक्मतले सुनाए।

दोभानतिर गएँ म। विशाल फाँट र गराको सुन्दरताले चैनपुर झकिझकाउ लाग्थ्यो।

उत्तरी भूभाग थोरै साँघुरियो— तर दक्षिण हुनसम्म पैmलेको लाग्थ्यो। खेत, फाँट र गराका शृंखलाले समृद्ध लाग्थ्यो— चैनपुर।

चैनपुरको सुवेडा बजार मेरा लागि एउटा रोज्जाको विषय थियो। सुवेदीहरूको मूल थलोको रूपमा बझाङको सुवेडालाई लिइने गरेको तथ्य सुनेको छु।

खगराजलाई सोधेको थिएँ— आफ्नै पुर्खाहरूका बारेमा।

‘फगडामा दुई सय र लामपाटामा तीन सय घर छन् सुवेदीका।’

उनले औंला भाँची–भाँची सुनाए।

नेपाल र संसारभरि छरिएका सुवेदीको आदिथलो बझाङको सुवेडालाई मानिएकोले पनि यो भुइँ टेक्ने मेरो औधी रहर थियो, चाहना थियो र सपना थियो। संयोगले सुवेडा बजार भएरै म नि पुगेथेँ— चैनपुर।

‘अन्तकाले बलि देलान्— हामी त नरिवल चढाउँछौं !’

खगराजले सुर्मादेवीसामु भनेथे।

मलाई आफ्नै वंशजको रीतिथिति र चालचलन बुझ्न पाएकोमा एक खालको उज्यालो छरियो छातीमा। पुर्खाहरूको जीवनशैली पढ्न पाएकोमा एक खालको सन्तोष झ्याँगिरहेथ्यो हृदयमा।

सुर्मादेवी मन्दिर वरपर झ्याली, सहनाई र ट्याम्के बजाएर चकमन्न भत्काइरहेथे भक्तहरू। पूजा गर्नेको भीडभाड गतिलै थियो।

मेरा आँखा तल बाहुली गाडदेखि माथि पहिरिएका डाँडातिर ओहोरदोहोर गरिरहेथे। यी आइजाइमा इतिहासका, समयका, सभ्यताका र जीवनका अनेकौं कथाले कलम खोजेका लाग्थे, स्वर खोजेका लाग्थे, लय खोजेका लाग्थे।

‘काँ झान्या हऊ ?        ’

राइमती विष्टले मलाई सिमखेत लाग्दा सोधेकी थिइन्।

‘छान्नासम्म पुग्छु होला म !’

मेरा कुरा कति बुझिन् उनले थाहा भएन।

‘छटै झाऊ। पछि असिनापानी पणला !’

राइमतीले बुलाकी हल्लाउँदै भनेपछि मैले आकाश हेरेँ।

किनभने पुग्ने ठाउँ, हिँड्ने बाटो र भरे बसिने बासबारे मलाई कत्ति नि ज्ञान थिएन। अझ उनले चाँडै जाऊ, असिनापानीले बित्यास पार्ला भनेपछि सिरिङ्ग भएथेँ म।

कुनै समय सिञ्जाको अधीनस्थ बझाङ हिजोआज देशकै एउटा जिल्लामा स्थापित छ। विकट, दुर्गम र सुदूर टाढाको अर्को नाम— बझाङको चैनपुर।

घाम उकालिएपछि म माझीगाउँतिर लागेँ।

मलाई लठ्ठी थमाउँदै बोलेथे मोती— ‘यसलाई छोड्नु र मलाई बिर्सनु एउटै हो !’

मेरो हाँसोमा घोलिएको थियो— चैनपुरको उज्यालो खुसी !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.