दार्चुलाका सबै स्थानीय तहमा बैंक

दार्चुलाका सबै स्थानीय तहमा बैंक

दार्चुला : दार्चुला जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ। सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ। नौवटा स्थानीय तह रहेको दार्चुलाको अपीहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा माछापुच्छ्रे  बैंकको शाखा स्थापना भएपछि सबै तहमा बैकिङ सेवा पुगेको हो।

सबैभन्दा विकट रहेका यी दुवै गाउँपालिकामा बैंकले हेलिकप्टरमार्फत सामान ढुवानी गरेपछि बैंक स्थापना भएको हो। अपीहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालका अनुसार स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको र अब भने सहज भएको बताए।

‘स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि बैंक स्थापना गर्न सकेका छौं’, उनले भने। ‘विगतमा स्थानीयले योजनाको भुक्तानी जिल्ला सदरमुकाम पुगेर लिनुपर्ने बाध्यता थियो, शिक्षक तथा कर्मचारीलेसमेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए। अब गाउँमै बैंक स्थापनापछि स्थानीय तहलाई सहज हुने भएको छ।’

बैंकले यहीँ पुस २९ गतेबाट नियमित कारोबार सुरु गर्ने माछापुच्छ्रे बैंक खण्डेश्वरी शाखा प्रमुख नविन रोकायाले जानकारी दिए। ‘सबै तयारी पूरा भएको छ। बैंकमा कर्मचारी कम भएकाले केही ढिलाइ भएको छ’, उनले भने। गाउँपालिकाले प्रक्रिया मिलाएर स्थानीय तहका सबै काम माछापुच्छ्रे बैंकबाटै गर्ने गरी तयारी गरेको छ। सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ। गाउँपालिका बैठकले गाउँपालिकाको हरेक क्रियाकलाप सोही बैंकबाट गर्ने गरी निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

व्यास गाउँपालिकाको सुनसेरामा स्थापना भएको माछापुच्छ्रे बैंकले पनि केही दिनभित्रै सेवा सुचारु गर्ने तयारी गरेको वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले बताए। गाउँपालिकाले यहीँ पुस २९ गते गाउँसभाकै दिन बैंकको औपचारिक उद्घाटन गर्ने तयारी थालिएको छ। बैंकको लागि चाहिने इन्टरनेट शिखर नेटले जडान सम्पन्न गरेको छ।

यसअघि दार्चुलाको महाकाली नगरपालिकामा र शैल्यशिखर नगरपालिकामा स्थापना भएका थिए। गत वर्षबाट मार्मा, नौगाड, मालिकार्जुन, लेकम र दुहुँ गाउँपालिकामा निजी क्षेत्रका बैंक स्थापना भएका छन्।

स्थानीयस्तरमै बैंकिङ सेवा सुरु हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ। स्थानीय तहमा बैंकिङ सेवा नहुँदा विकास निर्माणका योजनाको भुक्तानी खाता सञ्चालन र रकम ओसारपसारमा जोखिम थियो। सानातिना योजनाका लागि भुक्तानी लिन सदरमुकाम आउनुपर्दा नागरिकले सास्ती खेप्नुपरेको थियो। गाउँमै बैंक शाखा खुलेपछि सबै किसिमका झन्झटबाट मुक्त हुने नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए।

खासगरी दार्चुलाको अपीहिमाल र व्यास गाउँपालिकामा बैंक खुलेपछि व्यापार व्यवसाय गर्ने व्यवसायीलाई समेत राहत हुने भएको छ। व्यापारको दृष्टिकोणले व्यास र अपी हिमाल प्रख्यात छ। बहुमूल्य जडीबुटी यार्सागुम्बालगायत सयौं प्रकारका जडीबुटीको व्यापार यही स्थानीय तहमा हुने गरेको छ। विगतमा व्यापारीले खलंगाबाट जोखिम मोलेरै गाउँमा रुपैयाँ बोक्नुपर्ने बाध्यता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.