अदालतले भन्यो- रवि लामिछानेले गोर्खा मिडियामा लगानी गर्न भनी निवेदन दिएको देखियो

काठमाडौं : कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।
लामिछानेले इन्कारी बयान दिए पनि १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको भन्दै निवेदन दिएको आदेशमा उल्लेख छ। 'स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रा.लिको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको। आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिए पनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा.लि.का विक्रीमा रहेको १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग वमोजिम यस प्रा.लि.मा विक्रीमा रहेको शेयर मध्ये १,८०,००० शेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई शेयर लिएको देखिंदा निजले उक्त प्रा. लि. को शेयर खरिद गरिलिएको देखिइ निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को शेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो,' आदेशमा भनिएको छ।
लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्नसक्ने अवस्था नेदिएको भन्दै मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००/- (साठ्ठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारीखमा राख्न आदेश दिइएको हो।
प्रतिक्रिया दिनुहोस !
