डम्पिङ साइट नहुँदा समस्या
बैतडी : बैतडीको चारओटै नगरपालिकामा डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती देखिएको छ। जिल्लाको पुरानो नगरपालिका दशरथचन्दमा डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा समस्या भएको हो। नगरपालिकाले २०५४ सालेदेखि अस्थायी रूपमा फोहर व्यवस्थापन गरिरहेको छ।
केही वर्षसम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपीपलमा अस्थायी डम्पिङ साइट बनाएर फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए। ‘नगरपालिकाले डम्पिङ साइट निर्माण गर्न जग्गा किन्न पटक पटक सूचना आह्वान गर्दा पनि उपयुक्त जमिन पाएको छैन’, उनले भने।
नगरपालिकाको डम्पिङ साइट निर्माण गर्न जमिन खोजी गरिरहेको नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन् ‘डम्पिङ साइट निर्माण नहुँदा फोहर व्यवस्थापनमा समस्या भएको छ।’ फोहर व्यवस्थापन गर्न उपयुक्त स्थान नहुँदा बेलाबेला फोहर व्यवस्थापनमा समस्या आउने गरेको छ। ‘वातावरणीय प्रभाव मूल्यांकन गरी उपयुक्त स्थानको खोजी गरिरहेका छौं। ठाउँ पाइएको छैन। नगरपालिकाले एक दुई स्थानमा केही दिनमै डम्पिङ साइटका विषयमा अनुगमन गर्ने तयारी गरेको छ’ उपपप्रमुख चन्दले भनिन्।
जिल्लाको पाटन नगरपालिकासँग पनि डम्पिङ साइटको अभाव छ। नगरपालिकाले पछिल्लो दुईवर्ष यता घाङल खोलामा फोहर फाल्ने गरेको छ। बजारबाट निस्केको फोहर खोलामा फाल्ने गरिएको हो। यो फोहर सिधै सूर्नया नदीमा मिसिने गर्छ। पाटनमा नयाँ शहर आयोजनाले डम्पिङ साइट निर्माण गर्ने भनेकाले नगरपालिकाले डम्पिङ साइट निर्माण गर्न बजेट विनियोजन नगरेको प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले बताए।
डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारी स्वीकार गर्छन्। उनले भने, ‘नगरपालिकाको क्षेत्र विस्तार भएपछि नगर क्षेत्रमा फोहर बढ्दै गएको छ। ‘अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेका छौं। नयाँ शहर आयोजनासँग छलफल गरी डम्पिङ साइट निर्माणका विषयमा अघि बढ्ने प्रयासमा छौं’, अधिकारीले भने।
नयाँ नगरपालिका मेलौली र पुरचौंडीमा पनि डम्पिङ साइट अभाव छ। मेलौलीको काँडा बजारको फोहर बजार व्यवस्थापन समितिले गर्दै आएको छ। नगरपालिकाले डम्पिङ साइटको लागि जमिन खोजी गरिरहेको नगरपालिकाका नायब सुब्बा प्रेमसिंह बिष्टले बताए। पुरचौंडी नगरपालिकाले पनि अस्थायी रूपमै फोहर व्यवस्थापन गरिरहेको छ। साविकको हाट गाविसले बनाएका ठाउँमा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए।