चितुवा मृत फेला
दमौली : भानु नगरपालिका-२ देउराली सामुदायिक वनमा चितुवा मृत फेला परेको छ। भानु नगरपालिकाका विभिन्न भागमा बालबालिकाको आक्रमण गरी ज्यान लिएको ठानिएको नरभक्षी चितुवा मृत भेटिएको छ।
कार्तिक अन्तिम तथा मंसिर पहिलो साता गरी दुई बालबालिकाको सोही चितुवाले ज्यान लिएको ठानिएको छ। यसअघि भानु २ कै मझुवाओख्ले सामुदायिक वन क्षेत्रका दुई बालबालिकाको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिनका लागि वनरक्षक, नेपाल र सशस्त्र प्रहरी परिचालित थिए।
चितुवा नियन्त्रणका लागि क्यामेरा ट्रयापिङसहित धराप थाप्नेलगायत विभिन्न उपाय अपनाइए पनि नियन्त्रणमा लिन सकिएको थिएन । तर आइतबार बिहान चितुवा मृत भेटिएको खबर आएको थियो। वन डिभिजन तनहुँका प्रमुख केदार बरालले मृत चितुवा यसअघि क्यामेरामा भेटिएकै चितुवा भएको पुष्टि गरे।
वन क्षेत्रमा मारिएको चितुवाले विषादीयुक्त आहारा खाएको अनुमान गरिएको छ। लामो समयसम्म चितुवाको खोजीमा निस्किएका स्थानीय नभेटेपछि त्रसित थिए। वन अधिकारीमाथि भने लगातार बालबालिकाको ज्यान लिएपछि चितुवा नियन्त्रणमा लिने दबाब परेको थियो।चितुवाको मृत्युको कारणबारे अनुसन्धान गरेपछि छाला र महत्वपूर्ण अंग झिकेर नष्ट गरिने वन अधिकृत बरालले जानकारी दिए।