एपिएफलाई पराजित गर्दै हिमालयन शेर्पा सेमीफाइनलमा
वीरगन्ज : हिमालयन शेर्पा क्लब वीरगन्जमा जारी दोश्रो टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा आइतबार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो।
हिमालयन शेर्पाका लागि जर्सी नम्बर १० का विश्वास श्रेष्ठ एक्लैले तीन गोल गरेर ह्याट्रिक गरेका छन्। खेलको ९ औं मिनेटमा नाइजेरियन खेलाडी प्याट्रिक गोवाले पहिलो गरेपछि १–० को शेर्पा क्बले अग्रता पायो। हिमालयन शेर्पाका लागि श्रेष्ठले ११ , ३६ र ३९ औं मिनेटमा लगातार थप तीन गोल गरे।
पहिलो हाफमै ४–० ले पछि परेको एपिएफले दोश्रो हाफमा मात्रै सान्त्वना गोल फर्काएको थियो। उसका लागि सात्वना गोल दोश्रो हाफको ३५ औं मिनेटमा रवी थिङले गरे। आजको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका लागि तीन गोल गरेर ह्याट्रिक गरेका विश्वास श्रेष्ठ नै घोषित भए।
सेमीफाइनलमा प्रवेश गरेको हिमालयन शेर्पा क्लबले फाइनल प्रवेशका लागि माघ २ गते आयोजक वीरगन्ज ११ संग प्रतिस्पर्धा गर्नेछ। शनिबार भएको उद्घाटन खेलमा वीरगन्ज ११ ले भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लबलाई ट्राइबेकरमा ४–१ ले पराजित गरि सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।
प्रतियोगितामा सोमबारको खेल बारा सिमराको नवजनजागृती युवा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुनेछ।
माघ ५ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले कप सहित नगद पाच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुइ लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाइ मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाइ नगद पाच हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ।