क्रिकेट महाकुम्भ
सरकारले खेलकुदमा लगानी बढाउने हो भने क्रिकेटबाट नेपालले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सक्छ। खेलकुद मनोरञ्जन होइन, यसले नेपाली युवालाई जोड्छ।
नेपाल क्रिकेट संघ (क्यान)को आफ्नै आयोजनामा शनिबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ। क्रिकेटका हिसाबले मात्रै नभई नेपाली खेलकुद जगत्का लागि शनिबार विशेष दिन हो।
नेपाली क्रिकेट खेलाडीको मात्रै नभई यसले देशको एउटा सपनालाई आकार दिएको छ र साकार पारेको छ। विदेशी ४० खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई हौस्याएको छ। यसपालि नेपालीले विदेशी प्रसिद्ध र उत्कृष्ट खेलाडीहरूसँग खेल्न त पाएका छन्, सँगसँगै अन्तर्राष्ट्रिय लिगहरूको दैलो पनि नेपालीका लागि उघ्रने सम्भावना एनपीएलले दिएको छ। नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो त यो प्रतियोगिताले बनाउँछ नै, अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाउने मौका पनि दिएको छ। झन् क्यानले स्टार स्पोर्टमार्फत यो प्रतियोगिता विश्वभरका क्रिकेटमाझ पुर्याएर नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गरेको छ।
भारतमा आईपीएलकै कारण त्यहाँको क्रिकेटको उचाइ अग्लिएको छ। एनपीएलमार्फत नेपाली क्रिकेटले अझै फड्को मार्ने विश्वास गर्न सकिन्छ। खेलकुद जगत्को ऐतिहासिक महोत्सव अर्थात् महाकुम्भले क्रिकेटमा नयाँ युगको सुरुआत गर्ने विश्वास गर्न सकिन्छ। जसरी नेपाली क्रिकेट खेलाडीले आफूलाई निखार्दै विश्व मञ्चसम्म पनि आफूलाई पुर्याएका छन्, अब त्यहाँ अझै अब्बल प्रदर्शन गर्ने प्रेरणा एनपीएलको आयोजनाले उनीहरूलाई दिएको छ। बागमतीका २ र अरू सबै प्रत्येकका एकएक गरी ८ फ्रेन्चाइज क्लबले भिœयाएका ४० विदेशी खेलाडीकै कारण एनपीएल विदेशी नजरमा समेत पर्न सफल भएको छ। त्यसबाट नेपाली खेलकुद जगत् त विश्वमाझ परिचित हुने नै छ, सँगसँगै नेपाली पर्यटन क्षेत्रलाई पनि यो प्रतियोगिताले प्रत्यक्ष, अप्रत्यक्ष धेरै सकारात्मक प्रभाव पार्ने छ।
सरकारले वर्ष दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरिसकेको छ। अहिल्यै पनि केही सुधार त्यहाँ भइसकेका छन्। राजनीतिक नेतृत्वले पनि खेल र खेलकुद जगतको महत्व बुझिदिँदा खेलाडीलाई थप हौसला हुने नै भयो। एनपीएलको आयोजनाले सरकारलाई क्रिकेटका थप पूर्वाधार विकासमा अझै दबाब परेको छ। त्यसैअनुसार सरकारले खेलकुदमा लगानी बढाउने हो भने क्रिकेटबाट नेपालले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सक्छ। खेलकुद मनोरञ्जन होइन, यसले नेपाली युवालाई जोड्छ। अझ समग्र नेपालीलाई जोड्छ भन्ने मर्म राजनीतिक नेतृत्वले बुझ्न जरुरी छ।
प्रतिक्रिया दिनुहोस !