पुलिससँग मनाङ स्तब्ध
धनगढी : लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले ६८औं मिनेटमा निर्णायक गोल गरेको थियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई नीरकुमार राईले गोल गरेका थिए ।
मनाङले खेलको सुरुआतदेखि नै लगातार गोलको अवसर बनाए पनि सफल हुन सकेन । ११औं मिनेटमा मनाङका हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । त्यसपछि पुलिसले २९औं मिनेटमा गोलको अवसर गुमाएको थियो । तीर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । मनाङका हेमन गुरुङ ६२औं मिनेटमा चुकेका थिए ।
८०औं मिनेटमा पुलिसका अब्दु करिमको प्रहार क्रसबारमाथि हुइँकिएको थियो । पुलिसका नीरकुमार म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
पुलिसले सेमिफाइनलमा संकटा र क्यामरुनको धाउफिन्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ हात पार्नेछन् । सोमबार च्यासल र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।