मन्त्री र कर्मचारीबीच किन हुन्छ असमझदारी ?
काठमाडौं : गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका वन तथा भूसंरक्षणमन्त्री मातृका यादवले २०६४ सालमा ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई शौचालयमा थुने र झापड हाने। सामुदायिक वनमा अवैध रूपमा ढुंगाखानी सञ्चालन भइरहँदा घिमिरे मूकदर्शक भएको आरोपसहित मन्त्री यादवले उनलाई शौचालयमा थुनेका थिए।
साठीकै दशकमा कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दुर्गाप्रसाद भण्डारीलाई कार्यकक्षमै गएर पिटिन्। कमसल गाडी पठाइदिएको भन्दै बेगमले कार्यकक्षमै सीडीओ कुटेकी थिइन्। प्रदेश २ का मन्त्रीले आइतबार सचिव कुटेको घटना पनि त्यस्तै प्रकृतिको अर्काे उदाहरण हो।
मन्त्री र कर्मचारीबीच असमझदारी हुने गरेका यी त केही प्रतिनिधि घटना मात्र हुन्। मन्त्री वा राजनीतिक दलका नेता र कर्मचारीबीच ‘ट्युनिङ’ नमिलेका घटना अरू पनि छन्। अप्रत्यक्ष खटपटका कुरा त सामान्य नै भए। कतिपय विषयमा मन्त्री र सचिवबीच समन्वय नै हुँदैन। समन्वय नहुँदा नयाँ मन्त्री आउनेबित्तिकै आफूअनुकूल सचिव राख्न चाहन्छन्। सचिवले पनि मन्त्रीसँग समन्वय काम गरिरहेका हुन्छन्।
कम पढेका र जिल्लास्तरमा राजनीति गरेर मन्त्री भएकालाई सचिवले सितिमिति टेर्दैनन्। त्यसैले उनीहरूले मन्त्रीलाई असहयोग गरिरहेका हुन्छन्। प्रभावशाली नेताको आज्ञा र आदेशमा उनीहरू चल्छन्। यसले पनि मन्त्री र सचिव वा कर्मचारीबीच असमझदारी हुन्छ।
नीतिनियमविपरीत काम गर्न मन्त्रीले दबाब दिँदा असमझदारी हुने गरेको पूर्वसचिव दीपेन्द्रविक्रम थापाको भनाइ छ। कतिपय मन्त्रीले सुरुमै सचिव वा कर्मचारीप्रति पूर्वाग्रह राख्ने गरेका उदाहरण पनि रहेको उनले बताए। ‘पहिला नै पूर्वाग्रही भएर आउने अनि अनावश्यक दबाब दिनेसमेत गर्छन’, उनले भने। सहसचिवलाई छाडेर उपसचिवलाई समेत कार्यालय प्रमुख बनाउन आफूलाई दबाब दिएको अनुभवसमेत रहेको उनको भनाइ छ।
पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले भने कर्मचारीले असहयोग गर्ने भएकाले समस्या हुने गरेको दाबी गरे। ‘आफूलाई मन परेन भने कानुन देखाएर बाधा अड्चन गर्ने काम कर्मचारीतन्त्रमा सबैभन्दा बढी हुन्छ’, उनले भने। सचिवहरूसमेत ससाना अवसरका लागि नेताको चाकडी गर्न खप्पिस हुने पूर्वमन्त्री थापाको अनुभव छ। ‘सानो अवसर आयो भने पनि उनीहरू छुटाउन चाहँदैनन्’, उनले भने, ‘तर उनीहरूलाई मन परेन भने यो मिल्दैन, ऊ मिल्दैन भनेर अड्काउँछन्।’
कानुनबमोजिम हुने कुरामा ढिलासुस्ती गर्ने कर्मचारीतन्त्रको प्रवृत्ति नै रहेको उनको भनाइ छ। ‘विश्वास गरेर कुनै काम सचिवलाई छाडिदिए कलम घुमाएर लिखित रूपमा अर्का बनाइदिन्छन्,’ उनले भने। सचिव र मन्त्रीको सम्बन्ध माछा–पानी र नङ–मासुको जस्तो हुनुपर्नेमा कुकुर–बिरालाको जस्तो हुने गरेको पूर्वमन्त्री थापाको भनाइ छ।