खडेरीले बैतडीका आधाभन्दा बढी खेत बाँझै

खडेरीले बैतडीका आधाभन्दा बढी खेत बाँझै

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ थालीगडाका कृष्णदत्त तिवारीका खेत गएको ३ वर्षयता हिउँदमा बाँझै रहन्छन्। केही वर्ष पहिला पौष महिनामा गहुँले हरियाली देखिने खेत पछिल्लो समय खडेरीले सुख्खा देखिन थालेका छन्। तिवारीले भने, 'समयमा हिउँदे वर्षा हुँदैन। खेत बाँझै छोडेको अहिले चौथो वर्ष भयो। सिंचाइको सुविधा छैन्। वर्षातको समयमा मात्रै खेती गर्छौं।'

पञ्चेश्वर गाउँपालिका- १ पालडीका धनबीर सार्की खेतबारीबाटै जिविकोपार्जन गरिरहेका थिए। खडेरीले खेत बाँझै छोड्नुपर्ने बाध्यता आइलागे पछि उनी रोजगारीको खोजीमा भारत छिरे। परिवार पाल्नका लागि अन्य विकल्प नभएपछि उनी भारत छिरेका हुन्। 

पञ्चेश्वर गाउँपालिकाको-१ का सेरीका केशव घटालले पनि गएको ३ वर्ष यता हिउँदमा खेत बाँझै छोड्न थालेका छन्। उनले भने, 'हिउँदमा वर्षा नै हुँदैन। वर्षा नभएका कारण हामीले खेत बाँझै छोड्नु परेको हो।'

पञ्चेश्वर गाउँपालिकाको-१,२,३,४ र ६ हिउँदको समय अधिकांश खेत बाँझै रहेका गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, 'उच्च ठाउँमा सिंचाइको अभाव छ। आकाशे पानीको भरमा खेती हुने ठाउँमा हिउँदेबाली लगाउन छोडिएको छ। यसले गर्दा खाद्यान्न संकट समेत चुलिएको छ।'

पञ्चेश्वरजस्तै शिवनाथ गाउँपालिकाका अधिकांश खेत बाँझै रहेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने, 'पछिल्लो ३ वर्ष यता समयमा हिउँदे वर्षा नहुँदा किसानले हिउँदेबाली लगाउन छोडेका छन्। यसले किसानको जिविकोपार्जनमा समस्या ल्याएको छ। बजारबाटै किनेर खानुपर्ने बाध्यता आइलागेको छ।'

जिल्लाको दशरथचन्द नगरपालिका १० तिरखडेनीमा खडेरीका कारण प्रत्येक हिउँदमा खेत बाँझै छोड्नुपरेको छ। महाकाली नदीको छेउमै रहेका जमीन समेत सिंचाइको अभावमा बाँझै रहेको स्थानीय रामसिंह बुडालले बताए। उनले भने,'खडेरीका कारण खेत बाँझै छन्। परिवार कसरी पाल्ने भन्न चिन्ता छ।'

सिंचाइको अभावमा दशरथचन्द नगरपालिकाको महाकाली नदी किनारसँग जोडिएका तीरखडेनी र सिम्तडीका अधिकांश खेत पनि बाँझै रहेका स्थानीय हरिना पन्तले बताइन्। उनले भनिन्, 'सरकारले चाहेमा महाकालीबाटै मोटरबाट सिंचाइ गर्न सकिने अवस्था थियो। तर हाम्रो समस्या कसैले बुझ्दैनन्।'
 
खेतीयोग्य जमीन सिंचाइको अभावमा बाँझै रहेपछि स्थानीयबासीलाई भोकमरीको चिन्ता परेको छ। 'गाउँमा हुनेखाने परिवार सबैले बसाइसराइ गरिसके। हामी गरिब गाउँमा बस्छौं। तीनखेती हुने ठाउँमा सिंचाइको अभावमा बर्खामा मात्रै खेती लगाउन बाध्य भएका छौं', 'पार्वती बुडालले भनिन्, 'स्थानीय सरकार, प्रदेश सरकार के के भयो भन्छन्। जे भएपनि हाम्रा दुःख हामीसँगै छन्। हाम्रो समस्या कसैले समाधान गरिदिएन्।'

दशरथचन्द नगरपालिकाको- १ सीममा पनि खडेरीका कारण किसानका खेत बाँझै छन्। खडेरीका कारण हिउँदे खेती नलगाएको लामो समय भइसकेको स्थानीय दीपकराज पन्तले बताए। उनले भने, 'खडेरीका कारण खेत बाँझै छन्। खेतबारीमै निर्भर रहेका हाम्रा लागि निकै समस्या भएको छ।'

लेकाली क्षेत्रमा सिंचाइको अभाव हुँदा खेत बाँझै छोड्नुपरेको स्थानीय अनिता पन्तले बताइन्। उनले भनिन्, 'खेतमै उब्जेको गहुँले घरपरिवार धान्ने काम भइरहन्थ्यो। पछिल्ला वर्ष गहुँ नै छर्न पाएका छैनौं।'

खेतबारी बाँझै छोड्नुपर्दा गाउँका पुरुष कामका लागि भारत जानुपरेको दशरथचन्द नगरपालिका ११ सीमकी दीपा पन्तले बताइन्। उनले भनिन्, 'खेती नै हुन छोडेपछि परिवार पाल्न भारतको भर पर्नुपरेको छ। केही अन्य विकल्प पनि छैन्।'

जिल्लाका सिंचाइ नभएका ठाउँमा खडेरीले प्रभाव पारेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले भने,'जिल्लामा २५ हजार ५ सय हेक्टर खेतीयोग्य जमीन छ। त्यो मध्ये १० हजार हेक्टरमा मात्रै सिंचाइको सुविधा छ। सिंचाइको सुविधा नभएको ठाउँमा खडेरीले प्रभाव पारेको छ।'

खडेरीका कारण पछिल्ला वर्षमा गहुँ उत्पादनमा कमी आउन थालेको चन्दले बताए।उनले भने, 'खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा वृद्धि भएको छ।'

खडेरीको विकल्प खोज्दै स्थानीय तह 

खडेरीले खेत बाँझै राख्नुपर्ने अवस्था आएपछि पञ्चेश्वर गाउँपालिकाले फलफूल खेती विस्तारमा जोड दिने नीति अख्तियार गरेको छ। समयमा पानी नपर्दा खेत बाँझै रहेका किसानलाई फलफूल खेतीमा लाग्नका लागि उत्प्रेरित गर्न थालेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, 'फलफूलबाट समेत किसानलाई आत्मनिर्भर बनाउन सकिन्छ। सुख्खा सहन सक्ने फलको रुपमा ओखरखेती विस्तार गर्नका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाभरी १० हजार बढी ओखरका बिरुवा वितरणको तयारी गरेका छौं।'

प्रति घरपरिवार २० बिरुवाका दरले ओखर, नासपाती,आरुबखडालगायतका फलफूलका बिरुवा वितरण गर्न थालेको अध्यक्ष चन्दले बताए। उनले भने, 'फलफूलका बिरुवाबाट तत्काल फाइदा नभएपनि केही वर्षपछि फाइदा हुन्छ।

सुख्खा सहने खालका फलफूलमा हामीले जोड दिएका छौं। एक घर एक बगैंचाको अवधारणा अघि सारेका छौं।' अहिलेको सिजनमा हिउँदे फलफूलका बिरुवा वितरण गरिरहेको गाउँपालिकाले वर्षातको बेला बर्खे फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ। 

यता दशरथचन्द नगरपालिकाले पनि विभिन्न वडामा फलफूल खेतीलाई बिस्तार गर्ने योजना बनाएको छ। वडा नम्बर १ मा फलफूलका निजी नर्सरीमा किसानको आकर्षण रहेकाले उनीहरुलाई सहयोग पुग्ने हिसाबले कार्यक्रम तय गरिएका-१ का वडा अध्यक्ष भुवनराज भट्टले बताए। उनले भने, 'हामीले निजी नर्सरी बनाएका किसानलाई सहयोग गरिरहेका छौं। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.