भक्तपुरको लाइट ब्लकमा भूकम्प पीडितलाई ७ प्रतिशत छुट
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा रहेको गणेश एएसी लाइट ब्लक उद्योगले भूकम्प पीडितलाई ७ प्रतिशत छुट दिने घोषणा गरेको छ। उद्योगका प्रवन्ध निर्देशक कृष्णराम जाकिबञ्जारले २०७२ सालको भूकम्पमा घर भत्केर सरकारबाट रातो कार्ड पाएकालाई उक्त सुविधा दिने जानकारी दिएका हुन्।
उनले भूकम्प पीडितको निजी आवास बनाउने कार्यमा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले उद्योगले उक्त घोषणा गरेको बताए ।'भूकम्प पीडितलाई पुनर्निर्माण गर्न निर्माण सामग्रीको अभाव हुन नदिन ७ प्रतिशत छुट दिने निर्णय गरेका हौं,'उनले भने ।
कोइला पूरा जलेपछि बाँकी हुने सेतो खरानी (फ्लाई एस) मा सिमेन्ट र चुनलगायतका रसायनको मिश्रणबाट यो ब्लक बनाइन्छ। यसमा माटोको प्रयोग हुँदैन। सबै अटोमेटिक मेसिनबाट काम हुने भएकाले ब्लकको गुणस्तरमा कुनै कमी नआउने प्रवन्ध निर्देशक जाकिबञ्जार दावी गर्छन्।
यो ब्लक साधारण इँटाको तौलभन्दा साढे दुई गुणा हलुका हुने उद्योगका कन्सल्टिङ इञ्जिनियर सुशान्तराज गिरी बताउँछन् ।'यो इँटाभन्दा हलुका हुने भएकैले यसलाई लाइट (हलुका) ब्लक भनिएको हो', उनले भने, 'यो पानीमा पनि सजिलै तैरिन्छ । जसले गर्दा छिटो पानीले भिजाउँदैन।'
उनका अनुसार २४ घन्टा पानीमा भिज्दा यो ब्लक १६ प्रतिशतमात्रै भिज्छ तर इँटा ६ घन्टामै पूरा भिज्छ। जसले गर्दा इँटा पानीले खाएर कमजोर हुन्छ तर लाइट ब्लक कमजोर हुन नपाउने उनको दावी छ।
सजिलै काट्न सकिने
'यो ब्लक हलुकामात्रै छैन। यो मेसिनले सजिलै काट्न सकिन्छ,' इञ्जिनियर गिरी भन्छन्, 'यसको पर्खाल बनाउँदा प्लम्बिङ तथा हाउस वायरिङको काम गर्न झन् सजिलो छ।'
तीन साइजका छन् ब्लक
उद्योगले तीन साइजका लाइट ब्लक उत्पादन गर्दै आएको छ। उद्योगले ८ इन्च मोटाइ, ८ इन्च चौडाइ र २४ इन्च उचाइ, ६ इन्च मोटाइ, ८ इन्च चौडाइ र २४ इन्च उचाइ तथा ४ इन्च मोटाइ, ८ इन्च चौडाइ र २४ इन्च उचाइ भएको लाइट ब्लक बजारमा ल्याएको हो। ८ इन्च मोटाइ, ८ इन्च चौडाइ र २४ इन्च उचाइ भएको एउटा लाइट ब्लक बराबर १२ वटा इँटाको संरचना हुने उद्योगका सञ्चालक केशव चवाल बताउँछन् ।
मजदुर ५० प्रतिशत कम लाग्ने
'त्यसैले यो ब्लक प्रयोग गरे पर्खाल लगाउँदा छिटो निर्माण पूरा हुन्छ', उनी भन्छन्, 'जसले गर्दा ५० प्रतिशत मजदुर सस्तो हुन्छ। यसमा इँटाको पर्खालमा जस्तो बाक्लो प्लास्टर पनि गर्नुपर्दैन।'उनले ब्लकको प्रयोग गरेर पर्खाल बनाउँदा बालुवा करिब ७० प्रतिशत र सिमेन्ट करिब ५० प्रतिशतले जोगिने दावी गर्छन् ।ब्लक आगो प्रतिरोधीसमेत रहेको उनले सुनाए।
दुई महिनामा २५०० क्युबिक मिटर उत्पादन
भक्तपुरका पाँच युवा मिलेर २० करोड रुपैयाँ लगानीमा उक्त एएसी लाइट ब्लक उद्योग स्थापना गरेका हुन्। उद्योग सुरु भएको दुई महिनामा करिब दुई हजार पाँच सय क्युबिक मिटर ब्लक बिक्री भइसकेको प्रवन्ध निर्देशक जाकिबञ्जार बताउँछन् ।
भूकम्पपछि नेपाली निर्माण क्षेत्रमा लाइट ब्लकको माग अत्यधिक रहेको उनको दावी थियो । उनका अनुसार ४० जनाले ब्लक बुकिङ गरेका छन् तर पुर्याउन सकिएको छैन। उद्योगले अहिले क्षमताको २५ प्रतिशतमात्रै उत्पादन गरिरहेको अर्का सञ्चालक वासुदेव सुवाल बताउँछन्। 'सबै उपकरण आइपुगेका छैनन्’, उनले भने, 'मगाइरहेका छौं। अर्को महिनासम्म आइपुग्छ। त्यसपछि उत्पादन दोब्बर हुन्छ।'
उनका अनुसार कन्स्ट्रक्सन क्षेत्रबाट ब्लकको बढी माग भइरहेको छ तर उद्योगले उत्पादन दिन सकिरहेको छैन । ब्लक भक्तपुरसँगै काठमाडौं, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका सर्वसाधारणले प्रयोग गरेको उद्योगले जनाएको छ।
भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलस्थित गुरु गणेश लाइट ब्लक उद्योग।