मजदुर हितमा कोष स्थापना

मजदुर हितमा कोष स्थापना

भद्रपुर : कन्काई नगरपालिकामा मजदुर राहत हितकोष स्थापना भएको छ। हितकोष स्थापना भएपछि मजदुरले सुरक्षित महसुस गरेका छन्। ‘ज्यानै जोखिममा राखेर कति ठुल्ठूला भवन बनाइयो’, मजदुर सन्त भुझेलले भने, ‘तर अब कन्काई नगरपालिकाभित्र काम गर्दागर्दै घाइते भए पैसा पाइन्छ, मरियो भने परिवारले १० लाख रुपैयाँ पाउँछन्। सबै मजदुरले सुरक्षित महसुस गरेका छौं।’

झापा कन्काई नगरप्रमुख राजेन्द्र पोखरेलले आफ्नो एक वर्षको पारि श्रमिक ‘मजदुर राहत हितकोष’मा जम्मा गरेका छन्। ‘देशमा राणा शासनदेखि गणतन्त्रसम्म कति आन्दोलन भए। हरेक आन्दोलन मजदुरले नेतृत्व गरेका थिए’, नगरप्रमुख पोखरेलले भने, ‘तर मजदुरलाई नै हेरिएन। त्यसैले नगरभित्र उनीहरूको हितका लागि प्रयास गरिएको हो।’

मजदुर समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापित हितकोषमा प्रमुख पोखरेलले ३ लाख ४० हजार रुपैयाँ प्रदान गरेका हुन्। ‘१० वर्षदेखि मिस्त्री काम गर्दै आएको छु। सरकारले केही गरेको छैन’, मजदुर खड्ग चौधरीले भने, ‘नगरपालिकाले सुरु गरेको हितकोषले हामीलाई सुरक्षाको प्रत्याभूति भएको छ।’ तीन महिनाअघि विधिवत् रूपमा दर्ता भएर सञ्चालनमा आएको मजदुर हितकोष कार्यक्रममा हालसम्म ७ सय मजदुर सदस्य बनिसकेका छन्। सदस्य बनेपछि मजदुरहरूले आफ्नो तहअनुसार वर्षको पाँच सयदेखि १२ सयसम्म जम्मा गर्नुपर्छ। काम गर्दागर्दै दुर्घटनामा परी मजदुर घाइते भयो, अंगभंग भयो भने ३ लाख रुपैयाँ र मृत्यु भयो भने १० लाखसम्म दिने व्यवस्था गरिएको नगरप्रमुम पोखरेलले जानकारी दिए।

पाँच वर्षमा हितकोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य राखिएको छ। कोषमा हालसम्म २२ लाख रुपैयाँ जम्मा भइसकेको छ। नगरपालिकाले पनि १५ लाख रुपैयाँ कोषलाई दिएको छ। मजदुरलाई विपत् परेका बेला सघाउने उद्देश्यले स्थापित कोषमा नगरका प्रत्येक मजदुरले वर्षको एकदिनको पारि श्रमिक र आप्रवासी मजदुरले महिनाको एक दिनको पारि श्रमिकबापत रकम जम्मा गर्दै आएको कन्काई नगरका मजदुर संगठनका अगुवा केशरमान न्यौपानेले जानकारी दिए।

नगरप्रमुख पोखरेलले हितकोष सञ्चालनसम्बन्धी नगरपालिकाले कार्यविधिसँगै समिति पनि बनाएको बताए। नगर प्रमुखकै संयोजकत्वमा बनेको समितिले मजदुर बिरामी भएमा, कार्यस्थलमै दुर्घटनामा परी अंगभंग भए, ज्यान गए हितकोषको ब्याजबाट सहयोग गर्ने व्यवस्था मिलाएको छ। नगरपालिकाले नगरका मेहनति र आर्थिक अवस्था कमजोर भएका ३० जना मजदुरको १० लाख रुपैयाँका दरले निःशुल्क बिमासमेत गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.