ललितपुरमा अझ २२ हजार घर बन्न बाँकी
ललितपुर : ललितपुरमा २२ हजार १ सय ४६ निजी आवास अझै बन्न बाँकी छन्। ०७२ सालको भूकम्पमा २८ हजार ३ सय ८६ घर भत्किएका थिए। तर ६ हजार २ सय ४० घर मात्र पुनर्निर्माण भएका छन्।
जिल्ला आयोजना कार्यान्वयन इकाइ ललितपुरका निमित्त प्रमुख वीरबहादुर रावलका अनुसार करिब साढे ९ हजारले मात्र दोस्रो किस्ता लिएका छन्। ३ वर्षमा जम्मा ६ हजार निजी आवास बनिनुमा अनेकांै समस्या हुनसक्ने उनले बताए। ‘केही न केही गडबडी भएकै हुनुपर्छ’, उनले भने।
उनले ‘मास इन्फर्मेसन सिस्टम’ अनुसारको ‘पीए नम्बर’ नमिलेकाले ढिलाइ भएको बताए। ‘भूकम्पपीडित राम कार्की छन् भने एमआईएस सिस्टममा रामबहादुर कार्की देखायो भने पनि समस्या आउँछ। सच्याउन पनि समस्या हुन्छ’, उनले भने।
सबै स्थानीय तहमा एनआरएअन्तर्गतका इन्जिनियरले भत्केका घरको तथ्यांक लिइएको थियो। पुनर्निर्माणका लागि मापदण्डअनुसार नक्सा पास गरेर भूकम्प प्रतिरोधी घरको डिजाइन गरेपछि वडाले सम्झौता गर्छ र भूकम्पपीडितलाइ पीए नम्बर दिइन्छ। त्यही नम्बरका आधारमा वडाले नक्सा पास गर्छ। नक्सापास भएपछि पीडितलाई दिइने रातो कार्डका आधारमा पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराइन्छ। एमआईएसमा त्रुटि देखिए सच्याउन पीडित जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा आउनुपर्छ।
डीपीसी लेभलसम्म घर बनाएपछि मात्र दोस्रो किस्ता पाइन्छ। त्यसका लागि इन्जिनियरले घर निरीक्षण गर्छ र उसको सिफारिसपछि मात्र दोस्रो किस्ताको डेढ लाख रुपैयाँ दिइन्छ। तेस्रो किस्तामा १ लाख रुपैयाँ दिइन्छ। तेस्रो किस्ता लिन भूकम्पपीडितले घर बनाइसकेको हुनुपर्ने रावलले बताए। पहिलो किस्ता लिनेहरू फेरि सम्पर्कमा नआएको उनको भनाइ छ। ‘कसैले बनाउन चाहेनन्, कोही विदेश पलायन भइसके’, उनले भने, ‘जनताबाटै काम ढिला भइरहेको छ।’
००००००
भूकम्पबाट ललितपुरमा भत्केका घर
स्थानीय तह भत्किएका घर संख्या बनेका घर
गोदावरी नगरपालिका ९,५८८ १,५९६
ललितपुर महानगरपालिका ७,३५० ६४३
महालक्ष्मी नगरपालिका ३,६५७ ५७२
वागमती गाउँपालिका ३,३७० १४६७
महांकाल गाउँपालिका २,२६७ ८३४
कोन्ज्योस्योम गाउँपालिका २,१५४ ११२८
स्रोत : जिल्ला आयोजना कार्यान्वयन इकाइ ललितपुर