तारकेश्वरमा पोखिए कवि र कलाकार
पाँचमाने हबेली त झोर कठेरी साङ्लेखोला तारे भीर।
भन्ज्याङमा बसेर म हेर्छु रमिता देखिन्छ लिखुको तीर।
स्थानीय होमनाथ अर्याल (८४) तारकेश्वरको महिमा सुनाउँछन्। उनी लोकभाकामै सुनाउँछन्, ‘तीनपिप्लेबाटै सुरु हुन्छ है भुवनेश्वरी मन्दिर पुग्ने यात्रा। अलिमाथि भेटिन्छ बौद्धधर्मावलम्बीको धार्मिकस्थल पाँचमाने। त्यहाँ पुगेर नेपाल र तिब्बतको लडाइँका गाथा सुन्नुहोला। त्यसपछि आधा घण्टा शिवपुरी डाँडा हिँड्नुपर्छ। टुप्पोमा विराजमान तारकेश्वर महादेव तपाईंलाई नै पर्खिरहेका छन्।’
उनको भाकासँगै जेसुम यात्राका यात्रीको पाइला अगाडि बढ्छ। स्थानीय मौलिकता, संस्कृति र प्रकृति प्रवद्र्धन गर्ने उद्देश्यले चार महिनाअघि सुरु भएको जेसुम यात्राले आफ्नो चौथो संस्करणमा तारकेश्वरको यात्रा चुनेको थियो। यही अभियानअन्तर्गत कवि, चित्रकार र कलाकारको एक टोली दुई घण्टा हाइकिङ गर्न हौसिएका थिए।
काठमाडौं नजिकैको तारकेश्वर शिवपुरी राष्ट्रिय निकुञ्जमाभित्र पर्छ। तीनपिप्लेदेखि सुरु हुने हाइकिङको पाइलापाइलामा यात्रीले प्राकृतिक सौन्दर्यको अनुभूति गर्न पाउँछन्।
यहाँ भूकम्पपछि परिस्कृत रूपमा बनेको भुवनेश्वरी मन्दिर छ जुन १६ सय मिटर उचाइमा छ। मन्दिरमा २७ गजुर छन्। संसारको सबैभन्दा ठूलो देवीको मन्दिर भनेर पनि यसलाई चिनिन्छ। तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि हरिशरण घिमिरे भन्छन्, ‘यो मन्दिरमा स्थानीयले पालैपालो पूजापाठ गर्ने परम्परा बसालिएको छ।’
घिमिरे, जमरकट्टेल, अर्याल, फुँयाल, धितालजस्ता विभिन्न जातिको यहाँ बसोबास छ। यात्रामा पाँचमाने हुँदै यात्रीहरू शिवपुरी डाँडाभित्रका चराचुरुंगीका चिरबिर सुन्दै अगाडि बड्न पाउँछन्। सल्ला, धुपी, गुराँस र कटुसजस्ता थरीथरीका बोट बिरुवाहरूले हाइकिङमा हिँडेकालाई यात्राभरि नै साथ दिन्छन्।
काठमाडौंबाट आएका तन्नेरीहरूसँग शिवपुरीको बाटोभरि जम्काभेट भइरहन्छ। जंगलको बाटोभरि यात्रीहरू थकाइ मार्दै अगाडि बढ्छन्। कोही फोटो खिच्न र सेल्फी लिन व्यस्त देखिन्छन्।
काठमाडौंको धुवाँधुलो र होहल्लाबाट अलि पर तारकेश्वर निकै शान्त र स्वच्छ छ। जितपुरको फेदीदेखि शिवपुरी निकुञ्जको डाँडा चढ्दासम्म प्रकृति, संस्कृति र इतिहासको संगमस्थल ताकेश्वर डाँडा सानो नेपालझैं प्रतीत हुन्छ।
यहीँ डाँडाको टुप्पोमा बसेर जेसुम यात्राका कविको कलम चल्न थाल्छ। चिरकारको कुची रङहरूमा चलायमान हुन थाल्छ। साहित्यकार सोम धिमालले त झन् ‘तारकेश्वर पदयात्रा गरौं स्वस्थ रहौं’ भन्ने कविता नै लेखे। अर्का कवि गणेश बुढाले तारकेश्वरको यात्रा सुन्दरताको यात्रा भएको वर्णन गरे। उनले यो यात्रा आफ्नै इतिहास र भूगोलको खोजी गर्ने अवसर भएको आफ्नो कवितामा वर्णन गरे।
कवि तथा कलाकार रोजिता बुद्धाचार्यले तारकेश्वरको प्रकृति, सामाजिक परिवेश र इतिहासका पाटाहरू खोलिरहँदा पर्यटकीय व्यवस्थापनका लागि सुझाव पनि दिइन्। जेसुम यात्राकी संयोजक अनिता लामाले इतिहास बोकेको भव्य धार्मिक स्थल तारकेश्वरका स्थानीयको नाममा सम्बोधन गर्ने कविता रचेकी थिइन्। ताकेश्वर मात्र होइन त्यहाँ बसोबास गर्ने जनता पनि समृद्धि हुनुपर्ने उनको आशय थियो।
चित्रकार केशवराज खनालले तारकेश्वरको डाँडाबाट देखिएको उपत्यकाको दृश्य आफ्नो क्यानभासमा कैद गरे। त्यस्तै प्रकाश मानन्धर, विक्रम प्रजापति, सृजित भासिमले उक्त क्षेत्रको सेरोफेरोलाई चित्रको रूप दिए।
जेसुम यात्रासँगै तारकेश्वर— ४ का वडा सचिव कमलनाथ ढकाल, काठमाडौं जिल्ला समन्वय परिषद् सदस्य रघुनाथ तिमल्सिना पनि थिए। कविहरूको कवितावाचनमा तारकेश्वरका मेयर रामेश्वर बोहराले ऐतिहासिक र सांस्कृतिक सम्पदा खोजीमा आएका जेसुम यात्रीसँग खुसी साटे।