नुवाकोटका पाँच ठाउँमा ४५ हल गोरु जुधे (फोटोफिचर)

नुवाकोटका पाँच ठाउँमा ४५ हल गोरु जुधे (फोटोफिचर)

तारुका, नुवाकोट : माघे संक्रान्ति गोरु मेला मंगलवार नुवाकोटका विभिन्न स्थानमा गरिएका छन्। सदियौँदेखि प्रत्येक वर्ष माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा तारुकाको चन्दनीमा गरिएको गोरु जुधाउने मेला यसवर्ष २२ हल गोरु जुधाइएको छ।

चन्दनीका साथै यस वर्ष नुवाकोटका पाँच स्थानमा ४५ हल गोरुबीच भिडन्त गरिएको छ। तारुकाको चन्दनीका साथै वेत्रावति, घलेभन्ज्याङ, कट्टिछाप र शेरावगरमा गोरु जुधाइएको हो। पाँचौ स्थानसम्म जित्ने गोरुका धनीहरूलाई नगद तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ।

तारुकाको चन्दनीमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा गोरु जुधाउने मेला उद्‍घाटन गर्न आएका थिए।  मौलिक पहिचान र संस्कृति बोकेको यस मेलालाई सरकारीस्तरबाटै प्रवर्द्धन गरिनु पर्ने उनले बताए।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर दुरीमा दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनीमा गोरुलाई विशिष्ट श्रेणीका साथै 'क' र 'ख' श्रेणीमा वर्गीकरण गरी जुधाइएको थियो।  तारुकामा १४ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाई मेला गरिँदै आएको छ।

सुविधा

मेलास्थल आउनको लागि सडकको मर्मत, पार्किङस्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्था गरिएको थियो।  सस्तो मूल्यमा खाजा तथा खानाको व्यवस्था पनि गरिएको थियो।

गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको मेलाका संरक्षक तथा तारकेश्वर गाउँपालिका–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले बताए।

मेलामा प्रथम हुने गोरु धनीले ६ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। द्वितीय हुने गोरुका धनीले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। विजेता प्रथम, द्वितीय र तृतीय गोरुको पुरस्कार र बिमाको व्यवस्था गरिएको आलेमगरले बताए।

गोरुको प्रदर्शन

तारुकाको गोरु जुधाई मेलामा गोरु जुधाई मुल्यांकन समितिले विशिष्ट श्रेणी निर्धारण गरेर जुधाइएका विष्णु प्रधानको माले र रेशमलाल श्रेष्ठको कथुरे गोरु सबैभनदा धेरैबेर ४६ मिनेट जुधेपछि बराबरीमा छुट्ट्याउनु परेको थियो।

सबैभन्दा पहिले जुधाइएका तारुकाकै प्रमोद प्रधान र नवीन श्रेष्ठको गोरु पनि लगातार ३१ मिनेट जुधेपछि छुट्ट्याउनु परेको थियो।

स्थानीय श्याम मजकोटीको गोरुलाई सुजन न्यौपानेको गोरुले धुलो चटायो। सूर्य विकको गोरुले रवीन परियारको गोरुलाई बारीरीको पाटोमै लडायो।

गोरु जुध्ने स्थान चन्दनीसम्म गोरु जुधाई मेला हेर्न जानेहरु धुलाम्मे हुँदै पुगेका थिए।

थालनी

स्थानीय वृद्ध विणारत्न शाक्यका अनुसार तारुकाको चन्दनीमा विस १८८७ सालमा चन्द्र शमसेरका ज्वाईँ तत्कालीन बझांगी राजा जयपृथ्वीवहादुर सिंह मावली आएका बेलादेखि तारुकामा गोरु जुधाउन थालिएको बताए।

उनले नेपालको तारुकामा जुधाइने गोरु जुधाई मेला सरकारीस्तरबाट उपेक्षा हुदै आएको गुनासो गरे।

माघे संक्रान्ति चन्दनी गोरु जुधाई संरक्षण संस्थाका मुख्य सल्लाहकार समेत रहेका सांसद नारायणप्रसाद खतिवडाका अनुसार पछिल्लो पाँच वर्षदेखि नुवाकोटका अन्य स्थानमा पनि गोरु जुधाई गरिदै आए पनि तारुकाको मौलिकता सदियौं पुरानो हो ।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथि मिति कतै नभेटिए पनि कतिपय स्थानीय बूढापाकाका दुई सय वर्ष पुरानो मान्छन्।

मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङ, चितवनका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गर्दछ। प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ ।

टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १४ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुकास्थित चन्दनीको कटहरबोटको पाटोमा शुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ। यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् ।

नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गाउंपालिका वडा नं. ३ पिपलडांडाको घलेभन्ज्याङमा पनि माघे संक्रान्तिको अवसरमा मंगलवार आठ हल गोरु जुधाइएको छ। सो मेलाको पूर्व सांसद जगदीश्वरनरसिंह केसीले उद्घाटन गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.