ऐलानी जग्गा धमाधम प्लटिङ, प्रशासन मौन

ऐलानी जग्गा धमाधम प्लटिङ, प्रशासन मौन

इटहरी : सुनसरी र मोरङको सीमामा रहेको बुढीखोला किनारका ऐलानी जग्गा भूमाफियाले प्लटिङ नै गरी बेच्ने गरेका छन्। संरक्षण गरिनुपर्ने जग्गा धमाधम प्लटिङ भइरहे पनि सरोकारवाला निकाय भने मौन छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा पर्ने बुढी खोलाको बगरै ओगटेर प्लटिङ गरिएको छ। प्लटिङका मुख्य योजनाकार स्थानीय रुद्र अधिकारी हुन्। उनले आफ्नो केही नम्बरी जग्गामा झण्डै एक बिघा ऐलानी जग्गासमेत ओगटेर प्लटिङ गरेको स्थानीयको आरोप छ।

उनले नम्बरी जग्गा धुरको न्यूनतम ७५ हजार रुपैयाँ मूल्य तोकेका छन्। अधिकारीले नम्बरी जग्गा किन्न नसक्नेलाई ऐलानी जग्गा बेचिरहेका छन्। अधिकारी आफैंले पनि ऐलानी जग्गा बेचिरहेको स्विकारेका छन्। ग्राहक बनेर फोन सम्पर्क गर्दा उनले ऐलानी जग्गाको एउटा प्लट दुई लाख रुपैयाँले बेचिरहेको बताए।

‘दुई लाखमा सातदेखि नौ धुरसम्ममा ऐलानी जग्गा पनि पाइन्छ। धेरैले धमाधम किनेर घर बनाइरहेका छन्। सात/आठ वटा घडेरी मात्रै छन्’, उनले भने, ‘चाँडो गरेर किन्नुहोला। सकिएपछि पाइँदैन।’ दुई लाख रुपैयाँमा ऐलानी जग्गामा घडेरी पाइन्छ भन्ने अडियो रेकर्ड अन्नपूर्णसँग सुरक्षित छ।

अधिकारीले यसरी ऐलानी जग्गा खुलेआम बेचिरहेको विषयमा सम्बन्धित निकायले भने वास्ता गरेको छैन। नेकपासम्बद्ध जग्गा व्यापारी अधिकारीको अवैध काममा कांग्रेससम्बद्ध जनप्रतिनिधिले समेत मौनता साँधेको स्थानीयले गुनासो गरे।

‘मेयरदेखि वडाध्यक्ष सबै कांग्रेसका छन्’, स्थानीय एक शिक्षकले भने, ‘एउटा व्यापारी एक्लैले त्यसरी खोलाको जग्गा बेचिरहँदा कसैले विरोध गरेको आजसम्म थाहा छैन।’ ती शिक्षकले सबैको मिलेमतोमै अधिकारीले ऐलानी जग्गा प्लटिङ गरेर बिक्री गर्ने काम भइरहेको हुन सक्ने बताए।

मोरङको बुढीखोला बगरको ऐलानी जग्गा ओगटेर गरिएको प्लटिङ। फोटोः हिमाल/अन्नपूर्ण


अधिकारीबाहेक अन्य स्थानीयलेसमेत खोला छेउ खाली ठाउँ भेट्नेबित्तिकै ओगटेर बेच्ने गरेका छन्। स्थानीय दिनेश चौधरी, मतिया चौधरी लगायतले जग्गा ओगटेर बेचेको खुलेको छ। उनीहरूले अघिल्लो वर्ष बाढी आउँदा बाढीपीडित बनेर राहतसमेत लिएका थिए।

यता ऐलानी जग्गा किनेर बस्नेहरू जग्गा किनेको भनेर खुलाउन तयार हुँदैनन्। उनीहरू आफन्तले रोकेर राखेको र आफूले उपयोग गरेको बताउँछन्।

‘इटहरीमा कोठा भाडामा लिएर बस्थ्यौं। यहाँ एक जना आफन्तले रोकेर राख्नुभएको रहेछ’, खोला किनारमा तीन महिनाअघि घर बनाएकी राधिका सापकोटाले भनिन्, ‘उहाँले हामीलाई दिनुभयो। त्यहीं घर बनाएर बस्यौं।’

नगरपालिका र वडा कार्यालयले भने ऐलानी जग्गा किनबेच थाहा नपाएझैं गर्ने गरेका छन्। ऐलानी जग्गाहरूको खोजी गरी संरक्षण गर्नुपर्नेमा धमाधम प्लटिङ भइरहे पनि रोक्नतर्फ चासो देखाएको पाइँदैन। सोही स्थानमा निर्माणाधीन वृन्दावन गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले समेत सार्वजनिक सम्पत्ति किनबेच हुनु दुःखद् भएको बताए। आफूले यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनले गुनासे गरे।

खोला किनारको जग्गा कसैले आफ्नै स्वामित्वझैं बेचिरहँदा पनि तत्काल एक्सन लिन नसक्नु प्रशासन र स्थानीय तहको समेत कमजोरी रहेको उनले औंल्याए। जग्गा किन्ने र बस्नेको संख्या बढ्दै जाँदा सो क्षेत्रमा चोरीका घटनासमेत बढेको उनको दुःखेसो छ। वडा कार्यालयले यो विषयमा अनुगमन गर्ने जनाएको छ। ऐलानी जग्गा प्लटिङ र किनबेचको विषयमा अनुगमन गरिने सुन्दरहरैंचा–५ का वडाध्यक्ष राम रिजालले बताए। उनले भने, ‘अनुगमनपछि प्राप्त रिपोर्टका आधारमा निर्णय गर्नेछौं।’

बुढीखोला किनारको सो क्षेत्र बाढी प्रभावित क्षेत्र हो। अघिल्लो वर्ष साउनमा आएको बाढीका कारण खोला किनारको ऐलानी जग्गामै बस्दै आएका ६ जनाको ज्यान गएको थियो भने कैयौं विस्थापित भएका थिए। बाढीको त्रास रहे पनि खोला किनारको जग्गा हजारौं खर्चेर किनेरै भए पनि टहरो बनाएर बस्नेको संख्या बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.