प्रधानमन्त्री ओली ललितपुर पाटन दरबार क्षेत्रमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पाटन दरबार क्षेत्रमा पुगेका छन्। भूकम्प दिवश मनाउने क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मात्रै उपस्थित हुने कार्यक्रम प्रधानमन्त्री ओलीसमेत पुगेका हुन्।
ओलीले सबै भन्दा चासो लिएर भीमसेन मन्दिरको अवलोकन गरेका छन्। जुन मन्दिर भुकम्पले उत्तरतर्फ ढल्किएको छ ।
मन्दिरको वरिपरि आवतजावत निषेध गरिएको छ। मन्दिर निर्माणका लागि भारतीय दूतावासले जिम्मा लिएको भएपनि कुनै काम अगाडि नबढाएपछि ललितपुर महानगरपालिका, उद्योग वाणिज्य महासंघ ललितपुर तथा स्थानीयले नै बनाउने तत्परता देखाएका थिए। तर पुरातत्व विभागले अनुमती नदिएको गुनासो ललितपुरबासीको छ। यो मन्दिर चार करोड लागतमा बन्ने अनुमान गरिएको छ।
पाटन दरबार परिषरका सम्पदा निर्माणको जिम्मा लिएको काठमाडौ भ्याली प्रिजर्भेसन ट्रस्टका कन्ट्री डाइरेक्टर डा. रोहित रञ्जितकारले प्रधानमन्त्रीलाई सम्पदा पुननिर्माणको ब्रिफिङ गरेका छन्।
ओलीले पुननिर्माण भइरहेको भाइदेवा मन्दिर, निर्माण पुरा भइसकेको कृष्ण मन्दिर, हरिशंकर मन्दिर र बन्न अझै बाँकी रहेको भीमसेन मन्दिरलगायत अवलोकन गरेका हुन्।