चितुवाको आक्रमणबाट बालक घाइते
बैतडी : बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। बुधबार बिहान विद्यालय जाने क्रममा शिवनाथ गाउँपालिका ६ बसेडी बस्ने धर्मसिह धनाडीका छोरा ११ वर्षीय रविन्द्रसिंह धनाडी चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
शोमेश्वर माविमा कक्षा ५ मा अध्यनरत धनाडीलाई शिव मन्दिर नजिक चितुवाले आक्रमण गरेर घाइते बनाएको सोमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्मरदत्त कलौनीले जानकारी दिए।
चितुवाले आक्रमण गर्दा बालक चिच्याएको आवाज सुनेपछि गोठला घटनास्थलमा पुगेका थिए। गोठलाले बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए।
घाइते बालकको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। बालकको टाउको, अनुहार र गर्धनमा घाउ भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिए।
‘चितुवाको आक्रमणबाट घाइते बालकको अवस्था समान्य रहेको छ’, उनले भने, ‘चितुवाको आक्रमणबाट घाइते बालकको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर पठाएका छौं।’
पुस ११ गते पनि शिवनाथ गाउँपालिका ६ कि ४८ वर्षीया हिउकला धनाडी चितुवाको आक्रमण बाट धाइते भएकी थिइन्। २०६८ साल यता चितुवाको आक्रमण बाट २३ जनाको ज्यान गइसकेको छ भने धेरै व्यक्ति घाइते भएका छन्।