गोविन्द केसीको अनशन जायज छ

गोविन्द केसीको अनशन जायज छ

करिब तीस वर्षदेखि चिकित्सा शिक्षाको प्राध्यापनमा संलग्न प्राध्यापक डाक्टर जगदीश अग्रवाल नसारोग विशेषज्ञ हुन् । २०४६ सालमा चिकित्सा सेवा प्रवेश गरेका डा. अग्रवाल हाल चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन हुन् । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, डा. गोविन्द केसीको अनशन लगायतका विविध विषयमा डा. अग्रवालसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानी :

चिकित्सा शिक्षा र सेवामा निजी लगानी बढिरहेको छ तर पनि सेवा पाउन धौधौ छ, किन ?

 चिकित्सा शिक्षा सेवामूलक क्षेत्र हो । यसमा सरकारको दायित्व बढी हुन्छ । प्रजातन्त्र पुनस्र्थापनापछि चिकित्सा क्षेत्रमा पनि निजीकरणको लहर चल्यो । सेवामूलकभन्दा पनि यसलाई व्यवसायका रूपमा लिइयो । धेरै पैसा कमाउन सकिन्छ भन्ने सोच निजी लगानीकर्तामा पलायो । सरकार पनि चिकित्सा शिक्षामा एकीकृत नीति बनाउनेभन्दा सम्बन्धन दिन हतारियो । सेवामूलकभन्दा नाफामूलक बनाउने ध्येय बढ्यो । चिकित्सा शिक्षा र सेवाको दृष्टिले यो न्यायसंगत थिएन; जसको नतिजा बीसवटा मेडिकल कलेज हुँदा पनि जनताको पहुँच पुगेको छैन । साधारण उपचार पाउन पनि जनतालाई धौधौ छ ।

 स्वास्थ्य सेवालाई अर्थोपार्जनका रूपमा मात्र लिँदा चिकित्सा पेसाप्रति नै अविश्वास तथा वितृष्णा बढ्दै गएको छैन र ?

– धेरै हदसम्म चिकित्सा पेसाप्रति वितृष्णा बढेको छ । चिकित्सा विषयको अध्यापन हुने शिक्षण संस्थामा गुणस्तरीय शिक्षा नपाउँदा चिकित्साका विद्यार्थीमा असन्तुष्टि छ । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा जनतामा पनि चिकित्सा पेसाप्रति हेर्ने दृष्टिकोणमा वितृष्णा आउनु स्वाभाविक हो ।

 स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गर्ने सरकारी संस्थाको स्थापना गर्ने क्रम सुरु भएको पचास वर्ष बितिसक्यो । तर पनि निजी क्षेत्रमा भएको विकासको तुलनामा सरकारी क्षेत्रको विकास पछाडि परेजस्तो लाग्दैन ?

– निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्रको विकास पछाडि पर्नुका धेरै कारण छन् । पहिलो, सरकारले शिक्षा र स्वास्थ्यमा दीर्घकालीन तथा नवीन सोचका साथ कहिल्यै काम गरेन । २०२९ सालमा ल्याइएको नयाँ शिक्षा योजनालाई निरन्तरता दिइएन । यसलाई कार्यान्वयन गरेको भए सरकारी तहमा चिकित्सा शिक्षाले फड्को माथ्र्यो । त्यति बेला चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले गुणस्तरीय भनेर संसारमै पहिचान बनाएको थियो । ०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि सरकारले चिकित्सा शिक्षामा दीर्घकालीन सोच तथा अवधारणा बनाएन।

सरकारको नेतृत्वकर्तामा पनि इच्छाशक्ति देखिएन । उदारीकरण तथा निजीकरणका नाममा व्यक्तिगत, संस्थागत र पार्टीगत स्वार्थ हावी भयो । सरकारी संस्थाको सुदृढीकरणतर्फ ध्यान दिइएन । पछिल्लो तीस वर्षमा सरकारका उपयोगी तीन संस्था (बीपी कोइराला स्वास्थ्यविज्ञान, धरान, पाटन स्वास्थ्य विज्ञान र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स) खडा भए । तर, निजी क्षेत्रमा भने बीस संस्था स्थापना भए । तत्कालीन सरकारले निजी क्षेत्रको विकासमा चालेको कदमको यो ज्वलन्त उदाहरण हो । यही कारणले नै निजी क्षेत्रमा भएको विकासको तुलनामा सरकारी क्षेत्रको विकास त निकै पछाडि पर्न गएको हो ।

 चिकित्सा शिक्षा सुधारका विषयमा डा. गोविन्द केसी अनशन बस्न थालेको चार वर्षभन्दा बढी भइसक्यो । प्रत्येकपटक सबै सरकारले सम्झौता गर्ने तर कार्यान्वयनमा बेवास्ता गर्ने गरेका छन् । डा. केसी अहिले फेरि अनशनमा छन् । उनको अनशन शृंखलाबारे तपाईंको टिप्पणी के छ ?

नागरिकको तहमा रहेर हेर्दा मैले उहाँको अनशन सान्दर्भिक देख्छु । सेवामूलक हुनुपर्ने चिकित्सा क्षेत्र नाफामूलक हुँदा यसले पारेको प्रभावलाई लिएर डा. केसीमा जुन चिन्ता देखिएको छ; यसमा सबै संवेदनशील हुनुपर्ने आवश्यकता छ । डा. केसीको सोच र माग उचित छन् । बहुसंख्यक निमुखा जनताले स्तरीय त छाडौं, सामान्य स्वास्थ्य सेवासमेत नपाएर अकालमा ज्यान गुमाउनुपर्ने दर्दनाक अवस्था छ । त्यस्तै प्रतिभाशाली, मेधावी तथा मेहनती विद्यार्थीले चिकित्सा विषय अध्ययन गर्न नपाउनु विडम्बनापूर्ण परिस्थिति छ । यसै सन्दर्भमा डा. केसीको अभियान यही दिशातर्फ पहल गरेको ठान्नुपर्छ । उहाँको निष्ठामाथि प्रश्न उठाउने ठाउँ देख्दिनँ ।

संसदमा प्रस्तुत चिकित्सा शिक्षा स्वास्थ्यसम्बन्धी विधेयक र डा. गोविन्द केसीको अडानप्रति टिप्पणी के छ ?

– यसअघि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा पनि डा. गोविन्द केसीका माग समेटिएको थिएन । त्यस बेला उहाँका माग पूरा गर्ने सहमतिसहित डा. केसीको अनशन तोडिएको थियो । अहिले संसद्मा पेस गरिएको चिकित्सा शिक्षा विधेयकमा पनि पर्याप्त गृहकार्य गरिएन । संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सांसदबीच नै सहमति हुन सकेन । बहुमतका आधारमा समितिबाट हचुवाको भरमा विधेयक पारित गरियो । मुलुक र जनताप्रतिको दायित्वलाई पहिलो प्राथमिकता दिनुपर्ने हो । तर, राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थ हावी भयो । चिकित्सा शिक्षा विधेयकले दीर्घकालसम्म पार्नसक्ने प्रभावबारे गम्भीर भएर सोचविचार गर्ने काम भएन ।

विधेयकमा ऐन लागू भएको मितिले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रमका लागि शिक्षण संस्था खोल्न नपाइने प्रावधान राखिएको छ । यो कत्तिको जायज छ ?

 शतप्रतिशत जायज छ । काठमाडौं उपत्यकाबाहिर चिकित्सा विषयमात्र किन ? इन्जिनियरिङलगायत अन्य विषयमा पनि उत्कृष्ट शिक्षण संस्था खोल्नुपर्छ । तबमात्र गाउँको विकास हुन्छ । तर, सरकारले उपत्यकाबाहिर विभिन्न सेवा सुधार तथा पूर्वाधार खडा गर्न विशेष ध्यान दिनुपर्छ ।

७. ऐन जारीपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्न छैन भन्ने व्यवस्था राखिएको छ । धेरै शिक्षण संस्थालाई सम्बन्धन दिँदा के प्रभाव पर्छ र ?

विश्वविद्यालयले सम्बन्धन दिने भन्ने चानचुने होइन । एउटा मेडिकल कलेजलाई सम्बन्धन दिनु भनेको सम्पूर्ण प्राज्ञिक गुणस्तरकोे जिम्मेवारी लिनु हो । नियमित अनुगमन र परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसका लागि दक्ष जनशक्ति चाहिन्छ । कुनै पनि विश्वविद्यालयले आफ्नो जनशक्ति र क्षमताअनुसार सम्बन्धन दिनुपर्छ । पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिने हो भने सरकारले विश्वविद्यालयमा थप लगानी गर्नुपर्ने हुन्छ ।

आशयपत्र पाइसकेका उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा एक पटकका लागि पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने व्यवस्थाले बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित छ । यसमा डा. केसीले आपत्ति जनाउनुपर्ने किन ?

म व्यक्तिगत विषयमा जान चाहन्नँ । तर जिज्ञासा राख्न चाहन्छु, आशयपत्र लिनेले सम्बन्धन कसबाट पाउँछु भन्नेमा विश्वस्त हुनु पर्दैन ? त्यसको सुनिश्चितता त मेडिकल कलेजमा लगानी गर्नुअगावै गर्नुपथ्र्यो । अहिले जे भइरहेको छ, त्यो यसअघि नै योजनबद्ध र भ्रष्ट मनस्थितिबाट भएको हो । कुनै पनि संवेदनशील लगानीकर्ताले लगानी नडुबोस् भनी सम्पूर्ण पक्षमा ध्यान दिनुपर्र्छ । त्यो विचार नगर्नु जुवा खेल्नुजस्तै हो । जुवामा हारेपछि रुनु हुँदैन ।

वर्षपछि मुलुकमा सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा रहने छन् भनिएको छ । यसका चुनौती के के छन् ?

 गृहकार्य नगरी सस्तो लोकप्रियताका लागि ल्याइएको प्रावधानजस्तो देखिन्छ । मेडिकल कलेजले सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिइरहेको गुनासो आउने गरेको छ । सार्वजनिक सूचनामार्फत सरकारले तोकेको भन्दा बढी शुल्क असुल्दासमेत कारबाही गर्न नसक्नेले नाफामूलक संस्थालाई गैरनाफामूलक बनाउँछु भन्नु दिवास्वप्न हो ।

सम्बन्धित शिक्षण संस्थाले सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने बताइएको छ । सरकार एक्लैले चिकित्सा शिक्षा र स्वास्थ्यको भार थेग्न सक्ला ?

हामीले जाने, सुनेसम्म त काठमाडौं उपत्यका भित्रकै एउटा मेडिकल कलेज (मनमोहन)को हस्तान्तरण प्रक्रियासमेत अगाडि बढ्दा पनि सफल कार्यान्वयन हुन सकेन । बीस÷तीसवटा शिक्षण संस्थाको सम्पत्ति हस्तान्तरण भई सरकारले स्वामित्व ग्रहण गर्न सक्छ होला ?

१२. सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्दा फ्याकल्टी (शिक्षक)को समस्या नपर्ला ?

 निःसन्देह हरेक प्रदेशमा एउटा टर्सरी केयर सेन्टरका रूपमा मेडिकल कलेज खोल्ने नीति बनाइनुपर्छ । सरकारले चाहेको अवस्थामा यो असम्भव पनि छैन । सरकारी कलेजमै फ्याकल्टीको समस्या हुन्छ भने निजी मेडिकल कलेजमा झन् अप्ठ्यारो पर्छ । फ्याकल्टी लगायतका पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्छ । सरकारले चाहना गर्‍यो भने कमजोर व्यवस्थापकीय दृष्टिले असफल निजी मेडिकल कलेजलाई आफू मातहत लिई स्वामित्व ग्रहण गर्न सक्छ ।

चिकित्सा शिक्षा आयोगलाई कमजोर बनाउने गरी चिकित्सा विश्वविद्यालयको अवधारणा ल्याइएको भन्दै विरोध गर्ने क्रम सुरु भएको छ । विश्वविद्यालयको आवश्यकता नभएको हो ?

 चिकित्सा विज्ञानसम्बन्धी विश्वविद्यालयको सम्भाव्यता अध्ययन कार्यदलमा रहेर यसबारे पाँच वर्षअघि नै प्रतिवेदन दिएका छौं । विश्वविद्यालयका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मात्र उपयुक्त छन् । विश्वविद्यालय बनाउने हो भने आयोगले दिएको प्रतिवेदनअनुसार नै नीति बनाउँदा उपयुक्त हुन्छ । विश्वविद्यालय खोल्ने हो भने चिकित्सा आयोगकै नीतिअनुसार गठन हुनुपर्छ ।

 चिकित्सा शिक्षाको क्षेत्रमा निजी लगानी बढ्दै जाँदा सरकारी ढुकुटीमा कम दबाब पथ्र्यो नि होइन ?

 व्यावहारिकतामा रहेर हेर्ने हो भने यो सत्य नहुनुपर्ने हो । चिकित्सा क्षेत्रमा गरिने सरकारी लगानी दीर्घकालीन हुन्छ । जनताले पाउने प्रतिफललाई क्षणिक र आवधिक लगानीसँग दाँज्न मिल्दैन । तसर्थ चिकित्सा क्षेत्रमा सरकारी लगानी हुनुपर्छ ।

 चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी पाएका विश्वविद्यालयहरू, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद एवं अन्य पेसागत काउन्सिल लगायतका नियमनकारी निकायको भूमिका पनि प्रभावकारी नहुँदा विकृति आएको त हो नि ?

यो गहन प्रश्न हो । मुलुकको चिकित्सा शिक्षाको गुणस्तरमाथि धेरै प्रश्न उढेका छन । यथार्थ स्वीकार गर्नैपर्छ । २१औं शताब्दीमा यो शिक्षामा अनुसन्धानबाट नयाँनयाँ किसिमका शिक्षण प्रविधि, मूल्यांकन, प्रविधि लगायतका विश्वमा लागू भइरहेको परिप्रेक्ष्यमा प्रायः शिक्षण संस्था परम्परागत पठनपाठनले स्तरीय, सीपमूलक जनशक्ति उत्पादन भइरहेको दाबी गर्न गाह्रो छ ।

स्वास्थ्य शिक्षण संस्थाको भर्ना प्रणाली, पाठ्यक्रम, शिक्षण विधि तथा मूल्यांकन पद्धतिमा पनि पुनरवलोकन गर्ने पद्धति देखिँदैन नि ?

 यी अत्यन्त महत्वपूर्ण पक्ष हुन् । विद्यार्थी भर्नादेखि पाठ्यक्रम, शिक्षणविधि लगायतका पद्धतिमा पुनरवलोकन गर्नैपर्ने छ ।

डा. केसी र सरकार दुवै आआफ्ना अडानमा छन् । यसरी सहमति कसरी हुनसक्छ ?

 राष्ट्र र जनहितलाई पहिलो प्राथमिकता दिने हो भने निकास निस्कन्छ ।

 डा. केसीको अनशन सम्बन्धमा सरकार तथा राजनीतिक दलहरू जवाफदेही हुनु पर्दैन ?

 सरकार मात्र होइन; विश्वविद्यालय, सम्बन्धित शिक्षण संस्थालगायत सरोकारवाला सबै सार्वजनिक रूपमा उत्तरदायी हुनुपर्छ । व्यक्तिभन्दा समुदाय, समुदायभन्दा समाज र समाजभन्दा राष्ट्रिय स्वार्थ माथि हुनुपर्छ । व्यक्तिगत तथा संस्थागत स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिनुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.