यसरी भागेर शरण माग्छन् साउदी युवती
हालै साउदी अरेबियाकी युवतीलाई क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदोले क्यानडामा शरण दिएको विषय विश्वभर चर्चित बन्यो। परिवारसँगै कुवेत घुम्न गएकी ती युवती भागेर बैंकक पुगेकी थिइन्। १८ वर्षीया ती युवती रहफ मोहम्मद अलकुनुनलाई शरण दिन संयुक्त राष्ट्रसंघले अनुरोध गरेपछि क्यानडाका प्रधानमन्त्री त्रुदोले उनलाई शरण दिएका हुन्।
परिवारले मार्छ भन्ने डरले ती युवतीले बैंककबाट कोरियाको सोल हुँदै टोरोन्टो जाने टिकट काटेकी थिइन्। तर थाई अध्यागमन प्रहरीले उनलाई बैंककमै रोकेको थियो। साथै उनको पासपोर्टसमेत जफत गरिएको थियो। त्यसपछि उनले घर जान नमानेर आफूले आफैंलाई होटेलको कोठामा बन्द गरिन्। त्यहाँबाट सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई परिवारका सदस्यले दुव्र्यवहार गरेको जनाइन्। साउदी अरेबियाबाट उनलाई लिन बैंकक आइपुगेका उनका बुवा र दाजुसँग घर जानसमेत उनी मानिनन्।
होटेलकै कोठामा थुनिएर उनले ट्विटरमार्फत एक अभियान चलाइन्। उनको यस अभियानले विश्वकै ध्यान केन्द्रित गर्यो। उनलाई केही समयका लागि राष्ट्रसंघीय अधिकारीहरूको संरक्षणमा राख्न थाई अधिकारीहरूलाई विश्वस्त पारियो। यसका लागि उनलाई सार्वजनिक र कूटनीतिक समर्थन मिल्यो। त्यसपछि उनलाई शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तले शरणार्थीको ओहदा प्रदान गर्यो।
यस घटनाले अन्य देशमा यात्रा गर्न पनि परिवारका पुरुष अभिभावकको अनुमति चाहिने साउदी अरेबियाको कडा नियमविरुद्ध विश्वकै ध्यान आकर्षित भयो। यस्ता नियमले साउदी अरेबियाका युवती तथा महिलालाई पीडक परिवारका बन्दीका रूपमा पार्ने अधिकारकर्मीले बताउँदै आएका छन्।
आफ्नो परिवारमा भएका दुव्र्यवहार सहन नसकेर शरण खोज्दै विदेश जाने क्रममा पछिल्लो समय साउदीका थुप्रै युवती पक्राउ पनि परेका छन्। उनीहरूलाई पुनः घर फर्किन बाध्य पनि पारिएको छ। सार्वजनिक हुन नसकेका यस्ता कैयौं घटना पनि रहेका मानवअधिकारकर्मीको भनाइ छ।
महिलाको अधिकारमा लगाइएका बन्देजका विषयमा साउदी अरेबियामा बहस चलिरहँदा अर्की एक युवती आफ्नी बहिनीसँग भागेर क्यानडा पुगेकी छन्। उनी आफ्नो घरबाट कुन उपाय लगाएर भाग्न सफल भइन् भन्ने विषयमा बीबीसीलाई बताएको कथाले पनि हाल विश्वको ध्यान तानेको छ। २४ वर्षीया सल्वा आफ्नी १९ वर्षीया बहिनीलाई लिएर करिब आठ महिनाअगाडि नै क्यानडा पुगेकी थिइन्। हाल क्यानडाको मोन्ट्रियलमा बसोबास गर्दै आएकी सल्वाले सुनाएको कथा उनकै शब्दमा ः
भाग्ने तयारी
करिब ६ वर्ष अगाडिदेखि नै हामी घर छाडेर विदेश भाग्ने तयारीमा थियौं। तर यसका लागि हामीलाई पासपोर्ट र राष्ट्रिय परिचयपत्र आवश्यक पथ्र्यो। यी कागजपत्र बनाउन मलाई मेरो परिवारको पुरुष अभिभावकको अनुमति आवश्यक थियो। भाग्यवश मेरो राष्ट्रिय परिचयपत्र भने पहिले नै बनिसकेको थियो। विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा नै मलाई मेरो परिवारले राष्ट्रिय परिचयपत्र बनाइदिएको थियो। दुई वर्षअगाडि अंग्रेजी भाषाको परीक्षा दिन मैले मेरो पासपोर्ट पनि बनाइसकेकी थिएँ। ती कागजपत्र मेरो परिवारले नै लुकाएर राखेको थियो। तर जसरी पनि मैले त्यो कागजपत्र फिर्ता लिनु थियो।
एक दिन मैले आफ्नो दाइको घरको साँचो चोरेँ। त्यहाँ गएर सुटुक्क आफ्नो कागजपत्र ल्याएँ। घरबाहिर निस्कन पनि परिवारको स्वीकृति चाहिन्थ्यो। सबैजना सुतेको बेलामा गएर मैले कागज चोरेकी थिएँ। यस बारेमा उहाँहरूले थाहा पाएको भए मलाई धेरै खतरा हुन्थ्यो, कुटपिट पनि गर्न सक्थे। मैले मेरो र बहिनीको पासपोर्ट त लिएँ नै, मेरो बुवा सुतिरहनुभएको बेलामा उहाँको फोन पनि चोरेँ।
राष्ट्रिय सुरक्षा, आप्रवासन, भन्सारलगायतका आन्तरिक मामिला हेर्ने मन्त्रालयको एकाउन्टमा लग गरेर त्यहाँ बुवाको ठाउँमा मैले मेरो नम्बर परिवर्तन गरिदिएँ। उहाँको सोही एकाउन्टबाट मैले हामी दिदीबहिनीलाई देश छाडेर जान पाउने स्वीकृति पनि आफैं दिएँ।
यसरी भागेँ
भाग्ने रात हामी दिदीबहिनी दुवै निकै तनावमा थियौं। सबैजना सुतिरहेका बेलामा हामी घरबाट भाग्यौं। हामीलाई गाडी चलाउन नआउने हुनाले एउटा ट्याक्सी बोलायौं। साउदी अरेबियाका प्रायः सबै ट्याक्सी ड्राइभर विदेशी नै हुुने भएकाले हामी घर छाडेर बाहिर जान लागेकोमा उनीहरूलाई कुनै चासो भएन। हामी रियाद नजिकै पर्ने किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागिरहेका थियौं। यही क्रममा बाटोमा कसैले देखेका भए हामी मारिन पनि सक्थ्यौं।
मैले आफ्नो विश्वविद्यालयको पढाइको अन्तिम वर्ष एक अस्पतालमा काम गरेको थिएँ। त्यही पैसा जोगाएर प्लेनको टिकट किन्न र जर्मनीका लागि ट्रान्जिट भिजाको रकम जुटाएको थिएँ। बेरोजगारी भत्ताबाट आएको पैसालाई पनि मैले जोगाएर राखेको थिएँ। भाग्यवश बिनारोकावट जर्मनीका लागि उड्ने प्लेनमा हामी दिदीबहिनी चढ्न सफल भयौं। मैले यसअगाडि कहिल्यै प्लेन चढेको थिइनँ। प्लेन चढ्न पाउँदा निकै खुसी पनि लागिरहेको थियो। साथै मनमा डर पनि त्यत्तिकै थियो।
हामीलाई घरमा नदेखेपछि मेरो बुवाले प्रहरीलाई सम्पर्क गर्नु भएको रहेछ। तर त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो। मैले बुवाको नाममा मन्त्रालयमा दर्ता गरिएको नम्बर परिवर्तन गरेर मेरो नम्बर राखिदिएकाले प्रहरीले बुवालाई भनेर गरेको फोन मेरोमा आउँथ्यो। विमानबाट अवतरण गरेपछि बुवाका लागि भनेर पठाइएको एउटा सन्देश मेरो फोनमा पनि आएको मैले देखेको थिएँ।
विदेश आइपुग्दा
साउदी अरेबियामा महिलाका लागि कुनै जीवन छैन। म विश्वविद्यालयमा जान्थेँ। घर फर्केपछि दिनभरि बन्दीझैं बस्नुपथ्र्यो। घरका पुरुष सदस्यले आफूलाई सर्वशक्तिमान ठान्दथे। अपशब्दले गाली बेइज्जती गर्ने र कुट्ने पिट्नेसमेत गर्थे। जर्मनी पुगेपछि मैले आफूलाई कानुनी सहायता प्रदान गर्न एक वकिललाई खोजेँ। आफ्नो पूरै कहानी बताएँ र विदेशमा शरणका लागि एउटा फारम पनि भरेँ।
मानवअधिकारको मामलामा क्यानडा निकै अग्रस्थानमा गनिन्छ। त्यसैले मैले क्यानडा नै रोजेँ। सिरियाली शरणार्थीले पनि क्यानडा बस्नका लागि विश्वकै उत्कृष्ट देश भनेको मैले समाचारमा पढेको थिएँ। भाग्यवश शरणका लागि क्यानडामा मैले दिएको निवेदन स्वीकृत भयो। जब म टोरन्टोमा अवतरण गरेँ, त्यहाँ क्यानडाको झन्डा देखेर मलाई निकै रमाइलो र ठूलै प्राप्तिको अनुभूति भयो।
स्वतन्त्र जीवनमा रमाउँदा
आज म मेरो बहिनीसँग मोन्ट्रियलमा बस्छु। अहिले मलाई कुनै पनि कुराको तनाव छैन। मलाई यहाँ कसैले पनि कुनै काम गर्न दबाब दिँदैनन्। साउदी अरेबियाका मानिस धेरै धनी होलान् तर जीवन यतै राम्रो छ। मैले जति बेला चाहे पनि आफ्नो अपार्टमेन्ट छाड्न पाउँछु। यसमा कसैको अनुमति चाहिँदैन। म जहाँ मन लाग्यो त्यहीँ जान पाउँछु। त्यसका लागि पनि कसैको अनुमति लिनु पर्दैन। मलाई जे राम्रो लाग्यो त्यही लगाउन पाउँछु। त्यसैले म यहाँ निकै खुसी छु र स्वतन्त्र छु। म आफ्नो जीवनसँग रमाउँदै छु।
परिवारसँग अहिले मेरो कुनै सम्पर्क छैन। तर यो मेरा लागि मात्र नभई उनीहरूका लागि पनि राम्रै हो जस्तो लाग्छ। अबदेखि यही मेरो घर र यही मेरो संसार हो। (एजेन्सीको सहयोगमा )