उपमेयरको सुत्केरीलाई कोसेली : घ्यु र दाल

उपमेयरको सुत्केरीलाई कोसेली : घ्यु र दाल

बैतडी : जिल्लाको पुरचौंडी नगरपालिका-१ कुँडीकी गोमती जागरीले सात दिनअघि हाट स्वास्थ्यचौकीमा बच्चा जन्माइन्। सातौं दिन सुत्केरी जाँचका लागि हाट स्वास्थ्यचौकीमा पुगिन्। जागरी हाट स्वास्थ्यचौकीमै पुगेको बेला शुक्रबार पुरचौंडी नगरपालिकाकी उपप्रमुख जानकी बमले एक पोको कोसेली हात पारिन्।

पोकोमा आधा किलो घिउ, १ किलोग्राम आयोडिनयुक्त नुन,१ किलोग्राम दाल, १ किलोग्राम गेडागुडी र सरसफाईका सामग्री राखिएका थिए।स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कोसेली पाएपछि आफू निकै खुसी भएको जागरीले बताइन्। उनले भनिन्, 'सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुपर्छ भनेर मलाई स्वास्थ्यकर्मी सम्झाए। उपप्रमुख आफैं आएर कोसेली दिनुभयो।खुसी लागेको छ।'

जागरीजस्तै नगरपालिकाभरीका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई कोसेली प्रदान गरिने पुरचौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। उनले भने, 'नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराएका, स्वास्थ्य संस्थामै सुत्केरी भएका, सुत्केरी पछि पनि तीनपटक प्रोटोकल अनुसार स्वास्थ्य जाँच गराएका आमालाई कोसेली प्रदान गरिएको हो। यसका लागि नगरपालिकाका सबै स्वास्थ्य संस्थामा कोसेलीको पोको पठाइसकेका छौं।'

नगरपालिकाभरीका गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउने, उनीहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्य सहित उपमेयरको कोसेली सुरु गरिएको उपप्रमुख बमले बताइन्। उनले भनिन्, 'हामीले व्यवहार परिवर्तन गर्ने उद्देश्य सहित यो कार्यक्रम शुरुवात गरेका हौं। गर्भवती र सुत्केरी महिलाको पोषणमा घरपरिवारका सदस्यले पनि ध्यान दिन सकून भनेर हामीले कोसेलीमा पोषकतत्व राखेका हौं।'

नगरपालिकालाई घरमा हुने सुत्केरी शून्य नगरपालिका बनाउने, पोषणयुक्त नगरपालिका बनाउने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको हो। चालु आर्थिक वर्षमा नगरपालिका साढे ९ सय आमालाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको स्वास्थ्य संयोजक कुँवरले बताए। उनले भने, 'स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमालाई हामी कोसेली प्रदान गर्छौं। यसले मातृमृत्युदर र शिशुमृत्युदरमा पनि कमी आउने विश्वास छ।'

विशेष चाडपर्वमा आफन्तलाई भेट्ने जाने बेलामा लगिने मिठोमसिनो खानेकुरालाई सुदूरपश्चिममा कोसेली भन्ने चलन छ। एउटी आमाले बच्चा जन्माउनु विशेष समय भएकाले कोसेली दिने गरेको उपप्रमुख बमले बताइन्। उनले भनिन्, 'नगरपालिकाका गर्भवती आमाले कोसेली पाउन भन्ने हाम्रो चाहना छ। यसका लागि उनीहरुले स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउनुपर्छ। स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ ।यो कुराको बारेमा सबैलाई थाहा पाएमा व्यवहारमा पनि परिवर्तन आउँछ।'

आमाले बच्चा जन्माएका बेला पोषिलो खानेकुरा खान दिनुपर्छ, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने धारणाको विकास गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुत्केरीलाई उपमेयरको कोसेली कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य संयोजक कुँवरले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.