जसले छाउ बार्दैनन्
अन्नपूर्ण विशेष ब्युरो : सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा। यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन्। कतिको ज्यान नै गएको छ। तर सुदूरपश्चिममै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्।
टीकापुर–४ छेगरखैलाकी हीरा चौधरी ४५ वर्षकी भइन्। १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो। तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन्। ‘हाम्रो छाउ बार्ने चलन छैन,’ उनी भन्छिन्, ‘महिनावारी भएको बेला दैनिक सरसफाइ गर्छौं, घरको सबै कोठामा जान्छौं, खाना पकाउँछौं।’ थारु समुदायमा छाउको चलन छैन।
टीकापुर–३ घियापुछरीकी ४७ वर्षीया बलरानी चौधरीलाई त छाउ बार्ने चलनबारे थाहा पनि छैन। उनी महिनावारी भएको बेला पूजाकोठामा मात्र जान्नन्। ‘पूजामा जानु हुँदैन, देउताको कोठामा जानु हुँदैन, श्राप लाग्छ भन्ने विश्वास छ। अरु सबै कुरा खुल्ला हो’ उनले भनिन्।
कैलालीको मोन्याल गाउपलिका–५ कटौजी स्थायी घर भएकी सुनीता बुढामगरलाई छाउगोठमा मृत्यु भयो भन्ने सुन्दा आचार्य लाग्छ। २६ वर्षकी उनलाई यो प्रथाबारे थाहै छैन। ‘छाउपडी प्रथा न त हाम्रो माइती घरमा मान्छन्, न त पोइली घर (पतिको घर) मै मान्छन्,’ हाल धनगढी उपमहानगरपालिका बसपार्कमा व्यवसाय गरेर बसेकी उनी भन्छिन्, ‘हरेक महिना महिनावारी हुन्छ, यसमा महिलाको के दोष ? यो त प्राकृतिक नियम हो नि !’
जानकी गाउँपालिका–७ गोलौरीकी २७ वर्षीया राधा महतौले थारु समुदायमा छोइछिटो नभएको बताइन्। ‘हामी महिनावारी भएको बेला सबै काम गर्छौं’ उनले भनिन्, ‘पुर्खाले देउताको कोठामा मात्रै नजानु भनेको त्यो मानेका छौँ।’
सौका समुदायमा पनि छैन छाउपडी
तराईका थारुमा मात्रै होइन, पहाड र हिमालमा बस्ने सौका समुदायमा पनि छाउ बार्ने चलन छैन। घरमा कुन महिलालाई महिनावारी भएको छ, अरुलाई थाहा नै हुँदैन। दार्चुला, बाजुरा र बझाङको हिमाली तथा दुर्गम भेगमा सौका समुदायको बसोबास छ। ‘हामी त महिनावारी भएको बेलामा सँगै बस्ने, सँगै सुत्ने र खाना खाने गर्छौं। अलग्गै सुत्ने, बस्ने र बार्ने हामीलाई थाहा छैन,’ दार्चुलाको ब्यास क्षेत्रकी मञ्जु तिंकरीले भनिन्, ‘भोटे समुदायमा बार्ने चलन छैन। भान्सा कोठामा जान कुनै रोकटोक हुँदैन।’
आफूहरुलाई देउताले पनि छाउ बार्न नभनेको बताउँछिन्, दार्चुला सदरमुकामकी भावना तिंकरी। ‘हामी नास्तिक होइनौँ। तर हाम्रा देउता त रिसाउँदैनन्,’ तिंकरीले भनिन्, ‘पूजा पाठ गर्छौ। भगवानले छाउ गोठमा बस्नु भनेका छैनन्। त्यो सब अन्धविश्वासको कुरा हो।’
छाउ नबार्ने मात्र होइन, सौका समुदायमा महिनावारीका बेला परिवारका पुरुष सदस्यले खेल्ने भूमिका पनि उदाहरणीय छ। पुरुषहरुले लुगा धोइदिने, पारिवारिक जिम्मेवारी लिने, स्वस्थ खानेकुरा खुवाइदिने दार्चुला सदरमुकामकी शिक्षिका मान्ता तिंकरीले बताइन्। ‘माहिनावारी भएन भने मानव सृष्टिको कल्पनै गर्न सकिन्न। समाज यो कुरा किन बुझ्दैन ? ’ उनी प्रश्न गर्छिन्।
सुदूरपश्चिमका आदिवासी, मगर, गुरुङ, तामाङलगायत जातिमा छाउपडी बार्ने चलन नभएको आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेशका सचिव दलबहादुर बुढामगर बताउँछन्। सुदूरपश्चिमका नौ वटै जिल्लामा आदिवासीहरुको बसोबास छ।
अभिभावकको सहयोगले घट्छ पीडा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारकी रिजन तिलिजालाई महिनावारी हुँदा परिवारका सदस्यले राम्रो स्याहार गर्छन्। अन्नपूर्ण–४ नारच्याङकी रामदेवी पुर्जालाई पनि महिनावारीको समयमा परिवारका सदस्यहरुले पोषिलो खानेकुरा खुवाउँछन्। सरसफाइ र स्वास्थ्यमा विशेष ध्यान दिने गरेका छन्। ‘आमाले अरुबेलाभन्दा स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनुहुन्छ,’ पुर्जा भन्छिन्, ‘गाह्रो काम लाउनुहुन्न। दूध, अण्डा खान दिनुहुन्छ।’ अभिभावक र समाजले प्राकृतिक प्रक्रियाको रुपमा लिएर त्यहीअनुसार सहयोग गर्दा महिनावारीको पीडा कम हुने तिलिजाको अनुभव छ।
देशका विभिन्न क्षेत्रमा महिनावारीको बेला महिलामाथि विभेद र अमानवीय व्यवहार गरेका समाचार आइरहेका छन्। तर, म्याग्दीका मगर, छन्त्याल र थकाली समुदायका महिलाहरुले महिनावारीको समयमा यस्तो पीडा सहनुपर्दैन। बाहुन, क्षेत्री र दलित समुदायमा पनि महिनावारीको समयमा महिलालाई गर्ने व्यवहार फेरिँदै गएको छ। बेनी नगरपालिका ७ कालीपुलकी झुलमाया तिलिजा महिनावारी हुँदा महिलालाई सहयोग गर्ने संस्कार आफ्नो समुदायमा रहेको बताउँछिन्। ‘मैले थाहा पाउनुअघि नै महिनावारी बार्ने चलन हटिसकेको थियो’, ५५ वर्षीया तिलिजाले भनिन्। चेतनाको विकास र शिक्षाको पहुँच विस्तारसँगै पछिल्लो समय अन्य समुदाय पनि यसप्रति लचक देखिन थालेको स्वास्थ्यकर्मी मीना राम्जालीले बताइन्। ‘महिनावारीमा घरबाहिर राख्ने, छुट्टै फाटेका कपडा दिने जस्ता कुरीति हट्दै गएको छ’, राम्जालीले भनिन् ‘महिनावारी हुँदा घरबाहिर बस्नुपर्ने चलन सुरक्षा र स्वास्थ्यका दृष्टिकोषले जोखिमयुक्त छ। महिलामाथि हिंसाको खतरा हुन्छ। त्यसैले यस्तो चलन सबैले हटाउनुपर्छ।’
थकाली समुदायमा पनि महिनावारीको समयमा छोरी, बुहारीलाई सम्मान र स्याहार गर्ने चलन रहेको थकाली सेवा समाजकी पूर्व केन्द्रीय सदस्य विमला गौचनले बताइन्। महिलालाई शिक्षित र सचेत बनाए छाउपडी प्रथा र महिनावारीको समयमा गरिने विभेद अन्त्य गर्न सकिने उनको भनाइ छ।
अमानवीय छाउप्रथाका कारण कतिपयले ज्यान गुमाइरहेका छन्। तर सुदूरपश्चिम र देशका विभिन्न भागमा बसोबास गर्ने कतिपय समुदायमा छाउको अस्तित्व छैन।
महिनावारी हुँदा छात्रा विद्यालय नआउने समस्या अन्त्य गर्न सरकारी निकाय र म्याग्दीका स्थानीय तहहरुले पहल थालेका छन्। मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले गाउँपालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयमा एक सय थानका दरले स्थानीय उद्यमीले तयार गरेको सेनेटरी प्याड २० रुपैयाँमा उपलब्ध गराइएको बताइन्। यसबाट हुने आम्दानी बाल क्लब र एक जना शिक्षिकाको नाममा कोष बनाएर परिचालन गरिने छ। महिनावारी हुँदा धेरै किशोरी विद्यालय नआउने र पढाइ छुट्दा उनीहरुको शिक्षामा असर परेकाले विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराएको उपाध्यक्ष बिटालुको भनाइ छ।
हरायो गुफावास
पहिलो पटक महिनावारी हुँदा भोजपुरस्थित बोखिम दाम्सिङकी ८४ वर्षीया चन्द्रकुमारी राई (प्रधान) १० वर्षकी थिइन्। तत्काल उनलाई चित्राले बारिएको गोठमा राखियो। पकाउने, खाने भाँडा, ओछ्याउने गुन्द्रीसुकुल, कपडाहरु अलगै दिइयो। ‘त्यसअघिका आमा, दिदीहरुले पनि म जस्तै गुफा बसेको थाहा थियो। तर किन बस्छन् भन्ने थाहा थिएन,’ चन्द्रकुमारी सम्झिन्छिन्, ‘आफ्नै महिनावारी भएपछि पो सबै थाहा भयो। पाँच दिनसम्म गोठमा एक्लै बस्नु प¥यो।’ यसलाई ‘गुफावास’ भन्ने चलन थियो। पाँच दिनपछि सबै भाँडाकुँडा र ओढ्ने ओछ्याउने राम्ररी धोइपखाली गरेपछि मात्रै घरभित्र लगिन्थ्यो।
उनका अनुसार गुफावासका बेला बाबुमाइतीसँगै मेलापात गर्न, बोल्न, हिँड्न दिइए पनि रात गोठमै बिताउनु पथ्र्यो। विवाहपछि पनि महिनावारी हुँदा श्रीमानबाट अलग्गै बस्नु पर्ने त्यतिबेलाको बाध्यता उनले सुनाइन। ‘ श्रीमान्सँग पनि बस्न पाइँदैन थियो,’ उनले भनिन्, ‘तर त्यतिबेला जस्तो पीडा अहिलेकाले भोग्नु पर्दैन। छोरीका लागि अहिले राम्रो दिन आएको छ।’
चन्द्रकुमारीजस्तै अन्य समुदायका महिलाले पनि महिनावारीमा छोइछिटो बार्नुपथ्र्यो, गुफामा बास हुन्थ्यो। तर, पछिल्लो समय यो परम्परा पूरै हटेर गएको छ। चन्द्रकुमारीका अनुसार नेवार, राई–लिम्बू, तामाङ र शेर्पा लगायतका समुदायबाट गुफावासको प्रथा हटेको धेरै भइसक्यो।
शेर्पा समुदायमा रजस्वला भएकालाई पूजापाठबाहेक कुनै प्रतिबन्ध छैन। शेर्पा समुदायमा पहिलेबाटै महिलालाई स्वतन्त्र रुपमा हिँडडुल, बस्नखान, बोलचालमा कुनै बाधा नरहेको आमचोक गाउँपालिका वासिङथर्पु लाप्चेकी ५८ वर्षीया ईनी शेर्पाले बताइन्। उनले पनि आफू ११ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा आमा, दिदीबहिनीहरु जस्तै पूजापाठ, प्रसाद ग्रहण र गुम्बामा ध्यान गर्न जान नपाएको तर त्यस बाहेक अरु सबै कुरामा सामान्य जीवन जिउन पाएको सुनाइन्।
तामाङ समुदायमा पहिले महिनावारी भएकाहरु वरपीपलनजिक नजाने, बीउबिजन छुन नहुने, गाईको दूधजन्य पदार्थ नछुने, गुफा बस्नुपर्ने परम्परा थियो। तर यो अन्धविश्वास छोराछोरीको पालामा पूरै हराएर गएको टक्सार दारेगाँैडाकी ५१ वर्षीया मनमाया तामाङले सुनाइन्।
किरात राई समुदायमा महिनावारीको बेला अहिले पनि साम्खा (धामीले पुज्ने चुला) मा जान दिइँदैन। पाँचदिनपछि नुहाएर चोखिएपछि मात्र महिनावारी भएकी महिलालाई चुलाचौकाको काम गर्न दिइने गरेको बोखिम दाम्सिङकी ४२ वर्षीया विष्णुकुमारी राई सुनाउँछिन्। उनले भनिन्, ‘महिनावारी हुँदा साम्खामा जाँदैनन्। थालबटुको सफा गरेर परै राखिन्छ गरिन्छ। हाम्रा बाबुआमाको पालामा बाबुमाइतीसँग बोल्नै दिँदैनथे। तर अचेल त्यस्तो रोकछेक छैन।’
पूर्वका पहाडी क्षेत्रमा गुफावासको चलन पनि अहिलेको पुस्तामा छैन। ‘तर अझै छोइछिटोको अंश भने बाँकी नै छ,’ आदिवासी जनजाति अगुवा लीलामाया तामाङले भनिन्, ‘अझै पनि चुलोचौकामा जान नदिने, भँडार पस्न नदिने, अगेनो छुन नदिने, पूजास्थलमा जान गर्न नदिने तथा अरुलाई दिने खानेकुरा छुन नहुने प्रचलन छँदैछ।’
यस्तो प्रचलन पनि हटाउनुपर्ने उनको धारणा छ। ‘महिनावारी भएकालाई अरुसरह नै व्यवहार गर्नुपर्छ भन्ने सोचको विकास हुन सकिरहेको छैन,’ उनी भन्छिन्।
अन्यायपूर्ण छाउगोठ प्रथा महिलामाथि दासत्वको प्रतीक भएको महिला अधिकारकर्मी सिर्जना राईको मत छ। ‘यस्तो प्रथा हटाउन मुलुकमा दर्बिलो कानुन आवश्यक छ,’ उनले भनिन्, ‘छाउप्रथा नीच सोच र मानसिकताको उपज हो। पूर्वमा छाउ गोठ नै त छैन तर पाँच दिनसम्म आफ्नै घरभित्र पनि सबै ठाउँमा जान दिइँदैन। यसको अन्त्य हुनुपर्छ।’
(धनगढीबाट कैलाश जोशी, दार्चुलाबाट सुन्दरसिंह धामी, टीकापुरबाट परमानन्द पाण्डे, बेनीबाट सन्तोष गौतम र भोजपुरबाट प्रदीपचन्द्र राई।)