विप्लव समूहले दुई ट्रकमा आगो लगायो
सुर्खेत : बन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सुर्खेतमा २ वटा मालबाहक ट्रकमा आगजनी गरेको छ । शनिबार बिहान सुर्खेतको पश्चिम बड्डिचौर, सत्तरीमा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
आजगनी भएको सूचना पाएलगत्तै प्रहरी परिचालन गरिएको र क्षतिको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरज चौलागाईंका अनुसार नेपालगन्जबाट खाद्यान्न बोकेर आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रकमा शनिबार बिहान करिब ४ बजेतिर आगो लगाइएको थियो ।
आगो लगाएको थाहा पाउनेबित्तिकै प्रहरी पुगेर आगो निभाएको निरीक्षक चौलागाईंले बताए । आगो लगाउनेहरुको खोजी प्रहरीले गरिरहेको छ । बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।
यहि पौष २२ गते विधार्थीको जिल्ला सम्मेलनका बेला जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई प्रहरीले पक्राउ गरेको थियो ।उनीहरूलाई झुटा मुद्दामा गिरफ्तार गरेकाले तत्काल रिहाइको माग गर्दै बन्दको घोषण गरेको विप्लव समूहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले बताए । बिहानै ट्रकमा आगो लगाएपछि जिल्लाको सुरक्षा कडा पारिएको छ ।