चीनका प्रविधिमैत्री भिखारी
सानैदेखि चीनमा जीवनयापन गर्दै आएकी क्यानेडियन महिला ईशावेलले १०३औं जन्मजयन्ती मनाइरहेकी थिइन्, सन् २०१८ को डिसेम्बर १५ मा।जीवनको उत्तराद्र्धमा पनि सक्रिय जीवन बाँचिरहेकी तिनले चीनको चरम गरिबीदेखि चरम समृद्धिसम्मको अवस्था आफ्नै आँखाले नियालेकी छिन्।बेइजिङ केन्द्रस्थित थ्यानआनमन चोकदेखि उत्तरतिर बेइजिङ फरेन ल्याङग्वेज युनिभर्सिटीमा उनका पुराना फोटो र भिडियो संकलन गरेर वृत्तचित्र बनाइएको थियो।अन्त्यमा जन्मोत्सवको केक खाएर फर्किने क्रममा नजिकै अन्डरपास भएर बस स्टेसन जानुपर्ने भयो ।
चिसोले यात्रुको चहलपहल कम हुन थालेको थियो।अन्डरपासमा एकजना मानिस क्यासेट घन्काएर गीतमा मग्न थियो।उसको हाउभाउ र लवाइले ‘समृद्ध सहरको दरिद्र’ भन्ने ठ्याक्कै झल्किन्थ्यो।उसका अगाडि केही पैसा राखिएको बास्केट पनि थियो।उसको स्वरमा दम थियो।नेपाली, अंग्रेजी वा हिन्दी गीत गाइरहेको भए म पनि झुम्मिन्थेँ कि ? तर उसले चिनियाँ गीत गाइरहेको थियो।उसको अघिल्तिरबाट पार भएर केही पर पुगेपछि फर्की हेर्दा एक यात्रुले उसको बास्केटमा पैसा खसालेको देखेँ।हेर्दा सभ्य, शिष्ट र सफा देखिने त्यो मान्छे वास्तवमा एउटा भिखारी रहेछ, लवाइखवाइ हेर्दा स्तरीय भिखारी ।
नेपालमा कला देखाएर भिक्षा माग्नेभन्दा हात फैलाएर माग्ने बढी छन्।हुन त गत वर्षको भदौदेखि नै नेपाल भिक्षामुक्त मुलुक घोषणा भइसकेको छ।भिक्षा मागे एक हजार र माग्न लगाए १० हजार जरिवाना तथा कैदको व्यवस्था भएको मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएको छ।यसबारे के कार्यान्वयन भयो, थाहा छैन।भिक्षा माग्नेहरूप्रतिको मेरो दृष्टिकोण निकै त्रासदीमय भएकाले यो प्रथा हट्नुपर्छ भन्नेमा चाहिँ म दृढ छु ।
अलख् निरञ्जन
बाहिर कुनै जोगीको चिम्टा बजेको आवाज सुन्यो कि बाराको निजगढस्थित हाम्रो घरमा सबैभन्दा डराउने मै हुन्थेँ।२०५७ सालतिरको कुरा हो, जतिखेर म सानै थिएँ।ओल्लो पल्लो घर भ्याएर हाम्रा घरतिर हानिने कुनै पनि जोगी देख्यो कि मेरो सातो जान्थ्यो ।
निधारमा कालो टीका लगाएको, दाह्रीले मुख नै छोपिएको, हातमा चिम्टा बजाउँदै, मुखले राम राम जप्दै हिँडेको पीत वस्त्रधारी कोही व्यक्ति हाम्रा घरतिर सोझिन लाग्दा मेरो भागम्भाग चल्थ्यो।‘कस्ती काँतर रहिछे’ भन्दै दाइभाइ, आफन्तहरूले जिस्काउँलान् भन्ने डरले पनि ‘कसैले चाल नपाए हुन्थ्यो’ भन्ने सोच्थेँ।तराई क्षेत्रमा बाबाजीहरूको बिगबिगी हुन्थ्यो।यिनीहरूका मुखारबिन्दबाट अलख निरञ्जन भन्ने पवित्र वाक्य सुन्न नपरे नि हुन्थ्यो भन्ने लागिरहेका बेला भान्सामा काम गरिरहनुभएको आमाले ठूलो स्वरले कराउनुहुन्थ्यो, ‘छोरी ! बाहिर बाबाजी आउनुभो, भिक्षा लगेर देऊ ।’
अघिसम्म बाबाजीका रूपाकृति देखेर हायलकायल हुने मलाई अहिले आमाको आदेशले रन्थनाउन थाल्थ्यो।मेरो मुटुको वेग यस्तरी बढ्न थाल्थ्यो कि, त्यसरी त जवानीमा कुनै प्रेमिकाको मुटु पनि धड्किएन होला।अंगअंगमा तरंग छुट्न थाल्थ्यो।शरीरका रौंहरू दुम्सीका झैं ठाडाठाडा हुन थाल्थे।हातगोडा लल्याकलुलुक भएर पानी पानी हुन्थेँ।तथापि निडर छोरीको भावभंगीमा प्रस्तुत गर्नु थियो।कचौरामा चामल लगेर जोगीको झोलामा हात कमाउँदै खन्याउँथेँ ।
कसैलाई दान गर्ने बेलामा हात कमाउनु लोभी हुनुको संकेत हो रे।मेरो हातको कम्पनलाई बाबाहरूले के अर्थ लगाए होलान्, म भन्न सक्दिनँ तर उमेरले परिपक्व भइसक्दा पनि हड्बडाउने बानी चाहिँ कहिल्यै हटेन ।
शक्तिहीन, श्रीहीन, सम्भवतः कति दिनदेखि खान नपाएको क्षीण भिखारीदेखि डराउनैपर्ने कारण नै त के थियो र ? बाह्य आवरण जे भए पनि भित्री कस्तो छ, त्यो मेरो मतलवको विषय नहुनुपर्ने हो।अहिले पनि तराईमा थरीथरीका माग्नेहरू विभिन्न बहानामा आउँछन्।कोही हातमा कागज लिएर देखाउँछन्, ‘छोराछोरी बिरामी छ’ भन्छन्, कोही ‘घर जल्यो’ भन्छन्।खुल्ला सिमानाका कारण पारिका भिखारीहरू नै धेरै हुन्छन्, कोही कोही त आशिष पनि दिन्छन् ।
कुनै पनि देशको प्रतिष्ठा वा स्वाभिमान त्यस देशभित्रका नागरिकको शिष्टताले निर्धारण गर्छ।त्यसैले केही सहरहरूले भिखारीलाई पर्यटकको छेवै पर्न दिँदैनन् ।
उच्च शिक्षा अध्ययनका सिलसिलामा मेरो बसाइ हेटौंडामा हुने भयो।एउटा बिरानो ठाउँमा छिमेकी आन्टी त्यतिबेलाकी मेरी नजिककी साथी बनिसकेकी थिइन्।एकदिन उनका घरमा ५÷६ जना महिलाहरू आए।खाने लाउने केही नभएको भन्दै एक्ली अन्टीलाई गुनासो पोखे।आँगनमा वरिपरि झुम्मिएका ती महिलाहरूले क्रमशः आन्टीका गलाको तिलहरी, कानको झुम्का त मीठामीठा गफमा भुलाई भुलाई उतार्न लगाइसकेछन्।संयोगवश अंकलको आगमन भयो र ठगहरूबाट जोगिनुभयो ।
दिनभरि माग्ने निहुँमा अरूका घर निरीक्षण गर्ने अनि उपयुक्त समय मिलाएर लुट्ने वा चोर्नेहरू पनि हुन्छन्।कोही त साँच्चै नै पीडित पनि हुन्छन् पनि तर धेरैजसो कोही काम गर्नका अल्छी।मन्दिर पुग्नै हुँदैन, मगन्तेहरूले घेरिएको ‘सेलिब्रिटी’ भइन्छ।सडकमा ट्राफिक लाइटमा रोकियो कि हरियो बत्ती बले पनि सुख पाइन्न।ठूलो पैसा दिन सकिन्न, खुजुरा पैसा नबोकी हुन्न ।
हाल चीनको राजधानी बेइजिङ बसेको ६ महिना भयो।एक आरएमबी बराबर नेपाली १६ रुपैयाँ हुन्छ।भिखारीलाई १ आरएमबी दिन पनि कत्रो लोभ ! नेपालमै लागेको बानी हो, खुजुरा पैसा बोकेर निस्किने ताकि बाटोमा कुनै भिखारी भेट्यो कि दानी हुन पाइयोस् र धेरथोर पुण्य कमाउन सकियोस्।यतिका दिन भइसक्यो, खुजुरा पैसाको व्यवस्थापन गर्न नपाएको।आस नै मारिसकेको बेलामा धन्न अन्डरपासमा, त्यो पनि पार भइसकेपछि भिखारी देख्न पाइयो, तर खुजुरा पैसा बोक्न छोडिसकिएको थियो ।
यतिखेर चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो।चीनले प्रविधि र सञ्चारमा उल्लेख्य प्रगति गरेको छ, जसको प्रभाव अहिले सबै तहतप्कामा देख्न पाइन्छ।सेयरिङ साइकल, विच्याट पेमेन्टदेखि अन्तरिक्ष विकासमा चीनको रफ्तार अतुलनीय छ।प्रविधिले चिनियाँहरूको जीवनमा पारेको गहिरो प्रभावलाई कम आँक्न मिल्दैन ।
सनातनी हिन्दु धर्ममा आफ्नो आम्दानीको दशांश गरिब दुःखीलाई दान गर्नु भनिन्छ।दान गर्ने भन्दैमा ठूलो रकम वा आफैं जोगी बन्ने गरी कसैले पनि सर्वस्व चढाउन सक्दैन।त्यसैले बाटोमा भेटिएका मगन्तेप्रति दयामाया त जाग्छ, धेरै दिन सकिन्न, थोरै दिन खोज्दा खुजुरा पैसा भेटिएन भने के गर्ने ?
सन् २०१७ मा चीनमा एउटा भिडियो भाइरल भयो, त्यसमा कारमा चढेकी महिलासँग भिखारीले अगाडि उभिएर कचौरा थाप्छ।तर उनले ‘पैसा बोकेको छैन’ भनेर उम्किन खोज्छिन्।तब भिखारीले कमिजको टाँक खोलेर घाँटीमा झुन्ड्याएको ‘क्यूआर कोड’को सानो पोस्टर देखाउँछ।किनकि अचेल चिनियाँहरूले नगद बोक्न छोडे, विच्याटमै कारोबार गर्न थालेका छन् ।
कतिपयले घाँटीमा परिचयपत्र झुन्ड्याएको जस्तै गरेर माग्छन् भने कतिपयले माग्ने भाँडोमै ‘क्यूआर कोडको स्टिकर’ टाँसेका हुन्छन्।जसरी भए पनि तपाइँ दाता त बन्नैपर्छ।यसरी पनि माग्नेहरूको स्तर बढ्दै गएको देखिन्छ, समृद्ध चीनमा ।
राज्यको गलत नीति र विशाल जनसंख्याका कारण चीनले इतिहासमा ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको थियो।गरिबी, अभाव र भोकमरीका कारण कैयन् सर्वसाधारणले अकालमा ज्यान गुमाएको तीतो इतिहास छ।बीसौं शताब्दीको मध्य अवस्थाको कालखण्ड समेटेर लेखिएको एउटा चिनियाँ पुस्तक छः स्ट्रिट क्रायर्स।इतिहासका प्राध्यापक हान्छाओ लुले लेखेको सन् २००५ मा प्रकाशित उक्त किताबमा चीनका माग्नेहरूको स्थिति र माग्ने हुनु पर्नाका कारण छ।त्यसमा कुनै बेला चीन माग्नेहरूका कारण आक्रान्त भएको झल्किन्छ ।
चीनमा माग्ने परम्पराले सामाजिक समस्या नै उत्पन्न भएको थियो, जसको कारण यहाँका मिडिया, प्रहरी प्रशासन र समाज नै समाधानका लागि एकजुट भए।जसले चीनमा जो अशक्त छ,जो टुहुरा छन् ,उनीहरूलाई किनबेच गर्ने तथा जबर्जस्ती माग्न बाध्य पार्ने गरेको पत्ता लगाए।अझै पनि बेइजिङका केही व्यस्त स्थलहरूमा माग्नेहरूका किस्साहरू सुन्न सकिन्छ।
बेइजिङमा अत्यधिक विदेशीहरूको भीड हुने एउटा स्थान छ, सान लि थुन।सो क्षेत्रमा केही माग्नेहरू बिहान ७ बजेदेखि राति १० बजेसम्म देखिन्छन्।जब काम सकिन्छ, जुरुक्क उठेर सुकिलामुकिला लुगा लगाएर रेस्टुराँ र सुपरमार्केटतर्फ धाउने गरेको भिडियो सीसीटीभीले खिचेको थियो।उनीहरू नक्कली माग्नेहरू हुन्, जो क्षमता भएर पनि माग्न बसेका।जागिर खाएरभन्दा मागेर धेरै कमाउन सकिने भएकाले उनीहरूले यस्तो जुक्ति निकालेका ।
कुनै पनि देशको प्रतिष्ठा वा स्वाभिमान त्यस देशभित्रका नागरिकको शिष्टताले निर्धारण गर्छ।त्यसैले केही सहरहरूले भिखारीलाई पर्यटकको छेवै पर्न नदिनेदेखि उनीहरूलाई कतै पुनस्र्थापन गर्ने नीति लिएका छन्।बेइजिङका विभिन्न स्थानमा ‘रेस्क्यु सेन्टर’हरू देख्न सकिन्छ।हुन त नेपाल पनि गरिब मुलुक हो।यहाँ स्वदेशी तथा विदशी भिखारीहरू पनि देख्न पाइन्छ।नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य बोकिरहेका बेला देशको प्रतिष्ठामाथि आँच ल्याउन सक्ने यस्ता सानातिना कुरामा पनि ध्यान दिने कि ?