एंग्री यंगमेनले सोधे-कस्तो छ काठमाडौं ?

एंग्री यंगमेनले सोधे-कस्तो छ काठमाडौं ?

म मात्रै होइन, त्यो बेला मेरो उमेरको हरकोहीका ‘रोलमोडल’ हुने गर्थे उनी, अहिले पनि छन्। सबै उनीजस्तै बन्ने प्रयास गर्थे। चाहे साथीसाथीबीच उनको फिल्मको डायलग उनले जस्तै बाक्लो स्वर बनाएर बोल्ने प्रयास गरेर होस् वा उनले पर्दामा गरेका फाइट आफूआफूबीच नक्कल गरेर होस्। हामीमध्येकै कोही उनले जस्तै मोटरसाइकलमा सवार भएर ‘ओ मुकद्दरका सिकन्दर’ भन्दै लुम्बिनी सडक (भैरहवा)मा गीत गाउँदै हिँड्नेहरू पनि थिए।

त्यति बेला भारतबाट नेपाल छिर्ने ‘आज’, ‘दैनिक जागरण’, बलिउडकै खबरलाई आधार बनाएर निस्कने ‘स्क्रिन’जस्ता अंग्रेजी पत्रिकाले ती ‘एंग्री यंगमेन’ उपनामधारीको नयाँ फिल्म कहिले, कहाँ लाग्दैछ भनेर सूचना दिइहाल्थ्यो। बस्, त्यति थाहा पाउनुपथ्र्याे निकै उत्साहित हुन्थ्यौं हामी, फेरि ‘अमिताबच्चन’ (उनको नामलाई यसरी नै उच्चारण गरिन्थ्यो) को नयाँ फिल्म हेर्न पाइने भो भनेर।

त्यति बेला सिनेमा हेर्न पाउनुजस्तो ठूलो मनोरञ्जन अरू केही हुन्नथ्यो, त्यसमा पनि हलमा लागेको पहिलो दिन, पहिलो सो साथीहरूमध्ये जसले हेरेर निस्क्यो, त्यो हप्तौंसम्म ‘सेलिब्रिटी’को कोटीमा पथ्र्यो। त्यसमाथि हामी ६ सन्तानका हाम्रा पिताजी भारतीय सैनिकको पेन्सन थाप्न प्रायः हरेक महिना गोरखपुर जानुहुन्थ्यो। आमा र हामी सन्तानहरूमध्ये कोही एक उहाँसँग गोरखपुर जाने पालो लागेकै हुन्थ्यो, त्यहाँ जाने एउटै लोभ, नयाँ सिनेमा हेर्न पाइने।

यसै क्रममा अलिक बुझ्ने भएपछि गोरखपुर जाने मेरो नम्बर पनि लाग्यो। मैले पहिलोपटक गोरखपुरको झंकार टाकिजमा फिल्म हेरेँ— ‘दो जासुस।’ मेरो बालसुलभ मनमा त्यसको एउटा गीतले निकै गहिरो छाप छोड्यो, ‘पुरवैया लेके चलि मेरी नैया जाने कहाँ रे’ गीतमा अभिनय गर्ने पुरुष कलाकार शैलेन्द्र सिंह थिए। गीत पनि उनैले गाएका थिए। आमा भन्ने गर्नुहुन्थ्यो, मलाई त्यो फिल्म कति मन परेको थियो भने सकिइसकेपछि पनि फेरि हेरम् भनेर म उठ्नै मानेको थिइन रे।

सिनेमा हेरेपछि मनमा अनेकौं जिज्ञासा चल्थ्यो, जुन समाधानका लागि आफ्नो एकमात्र सुपर हिरो, जसलाई हर कुरा थाहा छ र जसको एक्सेस गोरखपुरको सिनेमा हलसम्म छ, अर्थात् मेरो पिताजी। उहाँसामु हाजिर हुन्थेँ, ‘उनीहरूले गाउँदा किन बाजा बज्छ ? हामीले गाउँदा किन बज्दैन ? ’ ‘उनीहरूले मान्छे कुट्दा किन ढिसुम्ढिसुम् आवाज आउँछ, हजुरले दाइहरूलाई कुट्दा किन आउँदैन ? ’ उहाँको एउटै उत्तर हुन्थ्यो, ‘उनीहरू हिरो हुन् नि त।’ पटकपटक त्यही प्रश्न सोध्न थालेपछि उहाँ झर्को मान्नुहुन्थ्यो। तर, म शान्त हुनेवाला कहाँ थिएँ र ?

हुन त भैरहवामा पनि एउटा सिनेमा हल थियो त्यति बेला, जहाँ प्रायः दुईचार वर्ष पुरानो फिल्म मात्र लाग्थ्यो। गोरखपुरबाट फर्केको महिनौंपछि त्यो हलमा सिनेमा हेर्ने मौका मिल्यो, ‘बम्बे टु गोवा’। त्यसमा पहिलोपटक त्यो अग्लो मान्छे देख्न पाइयो। त्यो फिल्ममा बसभित्र उसले नाचगान गरेको मात्र सम्झन्छु। पछि त्यो हल बन्द भएर पक्लिहवा जाने बाटोमा अर्को हल खुल्यो— पञ्चरत्न सिनेमा। त्यसमा लाग्यो पहिलो फिल्म ‘चौकी नम्बर ११’, जुन मैले हेर्न पाइनँ। दोस्रो लाग्यो ‘रइस ज्यादा’, विक्रम नायक थिए त्यसमा।

त्यति बेला अर्को सिनेमा लाग्नेबित्तिकै सहरभरि जानकारी दिन माइकिङ गरिन्थ्यो। र, नजिकका गाउँमा खबर पु¥याउन पोस्टर टाँस्ने तथा पम्प्लेट छर्ने गरिन्थ्यो। माइकिङ गर्ने त्यो आवाज निकै चर्चित थियो त्यस क्षेत्रमा। रिक्सामा भोपु स्पिकर हालेर, आफू बस्ने सिटको तीनतिर सम्बन्धित सिनेमाको पोस्टर टाँसेर बडो भाँती पु¥याएर बोल्ने गर्थे उनी। कतिपय ती बोल्ने मान्छेकै पनि फ्यान थिए। हामी पनि थियौं। हामीलाई त्यो मान्छेमात्र होइन, हलमा प्रोजेक्टर चलाउने मान्छे, हलको गेटमा बस्ने गेटकिपर सबैजना निकै ठूलो अनि भाग्यमानी लाग्थे, किनकि उनीहरूले एउटै सिनेमाको हरेक सो हेर्न पाउँछन् भनेर। तिनीहरूसँग ‘दोस्ती’ गर्न पाउनु ठूलो उपलब्धिको विषय हुन्थ्यो।

एक दिन बिहानै तेस्रो सिनेमाका लागि माइकिङ चल्यो, ‘पंचरन्त सिनेमा, सिद्धार्थनगर, भैरहवामा, पंचरन्त सिनेमा, सिद्धार्थनगर, भैरहवामा (यो लाइन दुईपटक भन्ने गर्थे ती माइकिंगवाला) आजबाट चलिरहेको छ, मारधाड्ले भरिपूर्ण, इस्टम्यान कलर, रंगीन चलचित्र– त्रिशूल।’ उनले त्यसपछि बोल्ने लाइनका लागि कान ठाडो हुन्थ्यो। किनकि अब उनले कलाकारहरूको नाम लिन्थे, जुन जहिले पनि अभिनेत्रीहरूबाट घोषणा गर्थे। पहिलो नाम लिए— हेमा मालिनी। त्यसपछि राखी, वहिदा रहमान, पुनम ढिल्लो अनि शशि कपुर, सञ्जीवकुमार र त्यसपछि भएभरको विशेषण लगाएर भने— साथमा एंग्री यंगमेन, सुपरस्टार, अमिताभ बच्चन। अरू सानोतिनो कलाकारका लागि त उनले ‘आदि’ भन्ने शब्द पनि खर्चिन्नथे, नाम लिन त परै जाओस्। त्यति ‘कञ्जुस’ थिए उनी।

माइकिङमा एंग्री यंगमेन र सुपरस्टार भन्ने शब्द त्यसअघि उनले प्रयोग गरेको थाहा थिएन। साथीहरू मध्येकै कसैले भन्योे, ‘अबे, यो त शोलेको जय हो बे, यसको काम बडा खतरा हुन्छ।’ ‘शोले’ ‘त्रिशूल’भन्दा अघिको सिनेमा भए पनि मैले हेर्न पाएको थिइनँ। त्यति सुनिसकेपछि ‘त्रिशूल’ नहेरी नहुने भयो। आमा, दिदी र म पञ्चरत्न सिनेमा पुग्यौं, सिनेमा हेर्न। ‘त्रिशूल’को विजयकुमार (अमिताभ बच्चन) हेरेपछि लाग्यो, छोरो मान्छे हुनु त यस्तो पो।

धनी बाउले आफ्नो र आमाको वास्ता नगर्दा बाउको हरेक व्यापार टाट पल्टाइदिने उसको प्रतिशोध र पछिसम्म बाउसँगको उसको आक्रोश। ‘त्रिशूल’को त्यो विजयकुमारले निकै गहिरो छाप छोड्यो मनमस्तिष्कमा। यतिसम्म कि घरमा कहिलेकाहीँ पिताजीले आमासँग अलि चर्को बोल्नासाथ आफूभित्रको सुषुप्त विजयकुमार जागेर आउँथ्यो। त्यसपछि आमाको धेरै माया लागेर आउने अनि कताकता पिताजीसँग विद्रोह गर्न मन लागिहाल्ने, त्यति बेला संसारभरमा सबभन्दा खराब मानिस आफ्नै बाउ लाग्ने। अब मनमस्तिष्क पूरै अमिताभ बच्चनमय भयो। उसको बारेमा हरेक कुरा थाहा पाउनुपर्ने हुन्थ्यो मलाई।

पिताजीका लागि अमिताभ बच्चनसँग सम्बन्धित जिज्ञासाहरूको लामै सूची थियो मसँग। भेट्न पाएको छैन, प्रश्न तेस्र्याईहाल्थे। पिताजी आफ्नो मुडअनुसार व्यवहार गर्नुहुन्थ्यो, कहिले राम्रै जवाफ दिने, कहिले गाली गर्ने, कहिले उल्टोपाल्टो कुरा गरिदिने। किनकि एउटा उत्तर दिन पाउनु हुन्नथ्यो, म त्यो उत्तरबाटै किन र कसरी भन्ने प्रश्न ठोक्दिन्थेँ। एकपटक त्यसरी नै सोधेको थिएँ, ‘हजुरलाई कसरी थाहा भयो ? ’ उहाँको मुड जिस्कने रहेछ, भन्दिनुभयो, ‘बम्बैमा त्यो र म सँगै गुच्चा खेल्थ्यौं नि।’ पछि आमालाई, ‘त्यो लम्बूलाई यसले निकै मन पराउँछ, त्यसको फिल्म लाग्यो भने देखाइदिनू’ भन्नुभएछ।

यसै क्रममा उसको ‘शोले’ सुनियो, हो सुनियो किनकि हेर्नका लागि हलमा उक्त सिनेमा लागेको थिएन तर सुन्न भने सकिन्थ्यो, पूरै डायलग सहितको दुईवटा अडियो क्यासेट भाडामा ल्याएर ‘शोले’ पहिलोपटक सुनियो। त्यो अडियो नै गजब लाग्यो।

समय घर्किंदै गयो। प्राथमिकबाट निमावि तहको विद्यार्थी भइसकेको थिएँ म, साइकल चलाउन सिकिसकेको थिएँ। अब सिनेमा हेर्न न घरमा सोध्नुपर्ने भो, न त पञ्चरत्नमा मात्र भर पर्नुपर्ने भो। त्यो अग्लो मान्छेको सिनेमा लागेको थाहा पाउनासाथ साइकल चढेर नहरको बाटो हँदै आफ्नो देशको सीमा नाघेर भारत उत्तरप्रदेश, नौतनवाँको जयहिन्द टाकिज वा ओम पिक्चर पैलेस पुग्नु पानीपँधेरोजस्तै भयो। कहिलकाहीँ गोरखपुरसम्म पुगेर अमिताभ बच्चनका त्यति बेलाका प्रायः सबै सिनेमा हेरियो। जस्तै ‘अभिमान’, ‘अमर अकबर एन्थोनी’, ‘काला पत्थर’, ‘नमक हराम’, ‘मुकद्दरका सिकन्दर’, ‘डन’, ‘खुद्दार’, ‘परवरिश’, ‘मिस्टर ‘नटवरलाल’, ‘नसीब’, ‘इन्कलाब’, ‘देशप्रेमी’, ‘आखिरी रास्ता’, ‘मर्द’, ‘शाहन्साह’ आदि।

पछि जागिर खान काठमाडौं आइसक्दा मन पर्ने कलाकारहरू धेरै भइसकेका थिए तर अमिताभ अमिताभ नै थिए। भ्याएसम्म उनको फिल्म छुटाउन्नथेँ। त्यति बेला नेपाल टीभीमा काम गर्थें म। थाहा पाइयो, उनले टीभी सो गर्दैछन्, नाम थियो, ‘कौन बनेगा करोडपति।’

पाको उमेर पुगिसकेका उनलाई त्यो सो निकै सुहायो, मेरो हिसाबले। आममानिसका कथाहरूसँग उनी साक्षात्कार हुन थाले, उनीहरूलाई धनी बनाउँदै गए, उनीहरूको खुसीमा रमाए, सयौं करोडका धनी उनी कसैले एक करोड रुपैयाँ जित्दा आफैंले जितेझैं गरी खुसी हुन्थे, रमाउँथे। अनि दुःखमा त्यही सोमा कयौंपटक आँसु चुहाए। दर्शक पनि उनीसँगै हाँस्न र रुन थाले।

अमिताभ बच्चनले अधिकांश समय हिन्दीमा कुरा गरे। आफू पहिलोपटक नेपाल आएको सम्झे। भने, ‘नेपालको राजपरिवारसँग हाम्रो परिवारको सम्बन्ध थियो, बाबुजी (हरिवंश राय बच्चन) त साहित्यिक कार्यक्रममा राजाले बोलाउँदा गइरहनुहुन्थ्यो। अहिले कस्तो छ काठमाडौं ? ’

०००

अब एकैछिन आफ्नो कुरा गरौं। नेपाल टेलिभिजनमा करिब सात वर्ष काम गरेपछि भर्खरै खुलेको कान्तिपुर टीभीमा काम गर्न पुगेँ। नेपाली दर्शकका रिमोट कन्ट्रोलमा एकसे एक कार्यक्रमसहितका विदेशी टीभी च्यानलहरूका संख्या पनि बढ्दै थिए त्यति बेला। यी दुइटा टेलिभिजनमा करिब १६ वर्ष बिताइसक्दा सधैं बिझाइरहने कुरा थियो— हामीले पनि त्यस्तो सो गर्न पाए।

जे होस्, एपीवान आइसकेपछि केही हदसम्म त्यो चाहना ‘नेपाल आइडल’को दुईवटा सिजन र ‘बुगीवुगी’को एक सिजन गर्न पाउँदा पूरा भयो। दर्शकबाट निकै उत्साहजनक प्रतिक्रिया पाइयोे, यस्ता फ्रेन्चाइज सोहरूमा। फलस्वरूप ‘हु वान्ट्स टु बी अ मिलेनियर’को फ्रेन्चाइज पनि एपीवानले भिœयायो।

त्यो अपूर्व भेट

एक दिन नेपाल आइडल सिजन २ को थिएटर राउन्ड चलिरहेकै बेला मुम्बई जानुपर्ने भयो, बेलायतबाट आएकी मिलेनियरकी केट् नामक प्रतिनिधिसँग भेट्न। गजबको कुरा त के थियो भने उनी करोडपतिको सुटिङ देखाउन चाहन्थिन् हामीलाई। हामी मुम्बई पुग्यौं। त्यसपछि फिल्मिस्तान स्टुडियो पुग्यांै, जहाँ करोडपतिको सुटिङ चलिरहेको थियो। अमिताभ बच्चनसँगको भेट कल्पना बाहिरकै कुरा थियो।

पुग्नासाथ थाहा भयो, बुगीवुगीका लागि नेपाल आएका सोनी च्यानलका प्रतिनिधि श्रीराम सुब्रमन्यम करोडपतिका ‘क्रिएटिभ हेड’ रहेछन्। हामी थियौं, अमिताभ बच्चनभन्दा मात्र केही मिटरको दूरीमा। तर पनि उनीसँगको भेट अनिश्चित। केट् र श्रीराम भने भेट गराउने अभियानमा लागेका थिए।

करोडपतिको नयाँ एपिसोडको सुटिङ सुरु भयो। म प्रोडक्सन कन्ट्रोल रुम (पीसीआर)मा र समूहका अरू सदस्य पाहुना कोठामा बसे। पीसीआरबाट उनलाई कमान्ड गर्ने एकजना व्यक्ति थिए— सिद्धार्थ वासु। वास्तवमा उनी भारतमा ‘क्विज सो’का जनक नै मानिन्छन्। कुनै बेला दूरदर्शनमा उनी आफैं पनि क्विज सो चलाउँथे। त्यही कुरा स्मरण गराउँदा उनले हाँस्दै भने, ‘त्यो त डाइनोसोरको बेलाको कुरा भयो, अब अमितले चलाउने साो पो चल्छ।’

हामीले अमिताभ बच्चनलाई भेट्न चाहेको सिद्धार्थले पनि थाहा पाए, उनी पनि भेटाउने प्रयासमा लागे। हुन त पीसीआर र स्टुडियोबीचको दूरी कति नै हुन्छ तर पनि नभेटुन्जेल के हो के हो भन्ने भइरह्यो। एक घण्टाजति प्रसारण हुने त्यो कार्यक्रम करिब ७० मिनेट जति रेकर्ड गरियो। पीसीआरबाट वासुले दिएको कमान्ड अक्षरशः पालन गर्दै आफ्नो तर्फबाट एउटा पनि गल्ती नगरी अमिताभले छायांकन सकाए।

श्रीरामले भने, ‘उनी आफ्नो तर्फबाट सकेसम्म गल्ती गर्दैनन्।’ हुन पनि त्यस्तै देखियो, ७० नाघिसकेका अमिताभ जसरी दत्तचित्त भएर आफ्नो काममा तल्लीन देखिए, त्यसले लाग्थ्यो, यो मान्छे यत्तिकै त सुपरस्टार भएको होइन ! बीचबीचमा ब्रेकका बेला स्टुडियोमै बनाइएको सानो कोठामा एकछिन आराम गर्न छिरिहाल्थे उनी। ब्रेकपछि फेरि फूर्तिका साथ क्यामरा अगाडि उभिन्थे। टेक हँदा त जे भन्यो त्यो गर्नै प¥यो, टेक नहुँदा पनि उनी जतिन्जेल त्यो सेटमा हुन्थे, प्रतिस्पर्धीदेखि दर्शक सबैसँग विनम्रतापूर्वक हाँसेरै व्यवहार गरिरहेका हुन्थे।

सुटिङ सकिएपछि त्यहाँ स्टुडियोभित्रका सबैले उनीसँग एक्लाएक्लै फोटो खिच्ने अवसर पाउँथे। फोटो खिच्ने पनि विशेष व्यवस्था रहेछ, त्यो सेटभित्र उनका आठजना फोटोग्राफर हुँदा रहेछन्, फोटो खिच्ने एकछत्र जिम्मा उनीहरूको मात्रै, किनकि मोबाइल फोनहरू सबै बाहिरै राखेरमात्र स्टुडियोमा प्रवेश गराइन्थ्यो। उनको नजिक पुग्दा जो पनि नर्भस भएको प्रस्टै देखिन्थ्यो, कसैले खुट्टा ढोग्न खोज्दा यस्तो नगर भनेर उनी भनिरहन्थे तर उनका फ्यानहरू कहाँ मान्थे र ? कोही उनको नजिक पुग्नासाथ बरर आँसु झार्थे।

आफूलाई अंकमाल गर्न खोज्नेहरूलाई बडो आत्मीयताका साथ उनी अंकमाल गर्न दिन्थे। उनलाई प्रायः सबैले केही न केही उपहार ल्याइदिएकै हुने, उनी ती सबै कुरा स्वीकार्थे। जब दर्शकको पालो सकिँदै थियो, हामीलाई सिद्धार्थले दर्शककै पछि लाइनमा बस्न भने। समूहका अरूलाई के भयो त्यो म भन्न सक्दिनँ तर जतिजति उनको नजिक म पुग्दै थिएँ, मैले हेरेका उनका सारा फिल्मका दृश्यहरू मेरो मथिंगलमा फिल्मको रिलझैं छिटोछिटो घुम्दै गयो, बाल्यकालका ती सारा कुराहरू फ्ल्यासब्याकमा आइरह्यो।

के यो त्यही मान्छे हो, जसको त्यत्रो चर्चा हामी गर्ने गर्थ्यो, जसलाई सिनेमाको पर्दामा मात्र हेर्न सम्भव थियो ? अनि, के म भैरहवाको त्यही सुरेश हुँ ? जसले पहिलोपटक उसलाई ‘त्रिशूल’मा हेरेको थियो ? भन्ने पनि लाग्यो। किनकि उसकै देशका बासिन्दालाई पनि यति सजिलो छैन उनको भेट पाउन। लाखौंको सपना हुन्छ, जीवनमा एकपटक उनलाई भेट्ने तर केहीको मात्र पूरा हुन्छ। एक झलक पाउन उनको घरअगाडि हजारौंको भीड लाग्छ।

कुनै परिकथाका नायकलाई भेट्नेभन्दा कम हुन्न उनलाई भेट्ने सपना। अन्ततः त्यो महान् हस्तीसँग हात मिलाउने पालो आयो, मुटु ढुकढुक अनि हत्केलाभरि पसिना, हतारहतार हात पुछेँ। उनले मतिर हात लम्काए तर अनायासै मेरा दुई हात नमस्तेका लागि उठे, त्यसपछि दुवै हातले उनको हात समाएँ, त्यसमा उनले पनि आफ्नो अर्को हात थपे। मुखबाट ‘नमस्ते’ बल्ल पो निस्केछ। अब टोलीका पाँचैजना (प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेल, निर्देशक सचन थापा, सेट डिजाइनर राजु पेन्टर र विपिन आचार्य) हामी त्यो महान् कलाकारका अघि थियांै, करोडपति हेर्न आएका सबै दर्शक गइसकेका थिए। केट्, सिद्धार्थ र श्रीराम त थिए नै, अनि फोटोग्राफरहरू।

उनले अधिकांश समय हिन्दीमा कुरा गरे। आफू पहिलोपटक नेपाल आएको सम्झे, सानो हुँदा आफ्ना पितासँग राजा महेन्द्रको राज्याभिषेकमा (उनले बिर्सेर राजा त्रिभुवन भने पनि खासमा राजा महेन्द्रको पालामा थियो)। ‘नेपालको राजपरिवारसँग हाम्रो परिवारको सम्बन्ध थियो, बाबुजी (हरिवंश राय बच्चन) त साहित्यिक कार्यक्रममा राजाले बोलाउँदा गइरहनुहुन्थ्यो’, उनले भने। त्यसपछि आफू ‘महान्’को सुटिङका लागि काठमाडौं आएको सम्झे, ‘अहिले कस्तो छ काठमाडौ‌ं?’ उनले सोधे, हामी सबैले आआफ्नो पारामा बेलिविस्तार लगायौं।

उनले ‘खुदा गवाह’को सुटिङमा मुस्ताङ आएको पनि सम्झे। ‘अहिले त मुस्ताङमा सडक पुगिसक्यो’, हामीले भन्यौं। त्यसपछि करोडपतिका बारेमा भने, ‘यसले क्षमता भएकाहरूको जीवनमा जसरी परिवर्तन ल्याइदिन्छ, त्यो वास्तवमै अद्भुत छ, मलाई त्यसैले पनि यो सो मन पर्छ।’ एउटा प्रसंगमा राजा त्रिभुवनदेखि वीरेन्द्रसम्म सबैको नाम उनले लिए।

वासुले घडी हेर्न थालेपछि हामीले बुझ्यौं, अब छुट्टिने बेला भयो। कुराकानीकै दौरानमा मैले दुईपटक ‘फेरि कहिले नेपाल आउनुहुन्छ ? ’ भनेर सोधेँ, उनी हाँसीमात्र रहे, कुनै जवाफ दिएनन्। त्यसपछि फोटो खिच्ने पालो आयो। फोटोग्राफरले हामीहरूको उचाइअनुसार उभिने लाइन कम्पोज गरे। तर, फोटो त उनको फोटोग्राफरले मात्र खिच्ने, हामीले कसरी पाउने ? श्रीरामले भने, ‘यसको पनि सिस्टम छ, तिमीलाई मेल आउनेछ, चारपाँच दिनभित्र।’ नभन्दै मेल पनि आयो। बिदा हुने बेलामा उनले हामीलाई यही फ्रेन्चाइजमा नेपालमा हुने सोको लागि शुभकामना पनि दिए।

भेटेर हामी बाहिर निस्केपछि फेरि कुरा उठ्यो, के उनले यही कार्यक्रमको नेपाली संस्करणका लागि दुई लाइन नेपाली भाषामै बोलिदेलान् ? प्रयास गर्नमा के जान्छ, वासुलाई अनुरोध गरियो। उनले प्रयास गर्ने बताए, एकैछिनपछि ट्याब लिएर उनका लेखक आए र मैले नेपालीका लाइनहरू लेखेँ। हरेक नेपाली वाक्यको अर्थ ती लेखकलाई बुझाइयो। ‘ठीकै छ आज तिमीहरू जाऊ, म बेलुका प्रयास गर्छु’, श्रीरामले भने। खुसीको कुरा, उनले बोलिदिएछन्, ‘नमस्ते नेपाल, सन्चै हुनुहुन्छ ? के छ हालखबर ? ’ जताततै सुन्न सकिन्छ।

केही दिन अघिदेखि खै मलाई के रहर लागेर हो, कहिल्यै नपाल्ने जुँगा पाल्न थालेको थिएँ। अमिताभसँग भेट्न पाउने वा नपाउने अन्योलका बीच उनीसँग भेटको पर्खाइमा रहँदा मेरो मनमा अनायासै एउटा विचार पलायो। आफैंले आफैंलाई भनेँ, ‘भेट्न पाइयो भने जुँगा काट्छु। नभए पालिराख्छु।’ भेट पाएपछि भोलिपल्ट बिहानै रहरले पालेको जुँगा चट् पारेँ।

शताब्दीका महान् कलाकारसँग करिब १० मिनेट सँगै बिताउन पाउनु मजस्तो एक साधारणका लागि अमूल्य उपलब्धि थियो। आशा छ, फेरि अर्कोपटक भेट होस्। जुँगा त चाहेको बेला फेरि पनि राख्न सकिन्छ तर उनीसँग फेरि भेट हुने वा नहुने आफूले चाहेर मात्रै पुग्दैन। सारा परिस्थिति अनुकूल हुनुपर्छ, आशाचाहिँ अवश्य छ फेरि भेट्न पाइयोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.