अभिव्यक्तिको नागबेली यात्रा–३
सुरु भयो अब संविधान लेखनको छलकारी एवं अन्तरिम संविधानप्रदत्त हकहरूको हरणकारी प्रक्रिया। भूकम्पको थर्कोले जनगण भयभीत भएको मौका छोपेर यो प्रक्रियाको नाम राखियो— फास्ट ट्र्याक। संविधन लेखन प्रक्रियामा फास्ट ट्र्याकको अप्रकट अर्थ हो, चोरबाटोको कुटिल चलखेल। चोरबाटोका चटकशील अभिनयकर्मीहरू राष्ट्रवादको अन्धवेगी नशामा लट्ठ भएर फास्ट ट्र्याकमा हल्लिँदै संविधान बनाउन थाले। बलात् विधि मिच्दै, जनमतलाई ठाडै तिरस्कार गर्दै र विमतिका स्वरहरूलाई निर्ममता साथ कुल्चिँदै। संविधान लेख्ने कलम षड्यन्त्रमा पोख्त सनातनी शासकहरूका हातमा थियो।
हो, निजहजुरहरूका एकाधिकारी र स्वेच्छाचारी हातमा। संविधान लेखनको कपटकारी हतारविरुद्ध उत्ताल आवेगसाथ मधेस आन्दोलन उठ्यो। यसबीच टीकापुर घटना घटित भयो, जहाँ अतिशय आक्रोशित भीडद्वारा केही प्रहरी अधिकारी र जवान मारिए। दुर्भाग्यवश, एउटा अबोध बालकको पनि बध भयो। र, आश्चर्य भयो— यथार्थ धरातलमा भएको घटनाक्रम जस्ताको तस्तै देख्ने र देखेको रिट्ठो नबिराई लेख्ने मिडियाको धर्म संविधान लेखनको व्यासासनमा बसेका सत्ताधारीहरूका स्वार्थको झोलीमा विलुप्त भयो। र, पत्रकारिताको न्यूनतम आदर्श र संहिताबाट च्यूत भएको मूलधारे मिडियाले सनातनी राष्ट्रवादी चस्माले टीकापुर घटनालाई हेर्यो।
त्यो मूढाग्रही एवं संकीर्ण कोणबाट हेर्दा भीडद्वारा मारिएका पहाडी प्रहरीहरू र बालक देखिए। तर, प्रतिशोधकारी भीडसँगै प्रहरी धुरिएर तोडफोड गरिएका, लुटिएका र आगलागी गरिएका रैथाने थारूहरूका ध्वस्त घर, पसल र एफएम रेडियो आदि देखिएनन्। प्रहरीको संलग्नता वा उक्साहट वा रोहबरमा थारू महिलाहरूमाथि भएको अकल्पनीय हुर्मत र अपमान त मिडियाका दृष्टिमा टिप्न र लेख्न लायकको घटनै ठहरिएन।
मानौं, पहाडी जो मारिए, तिनका जीवनको मूल्य उच्च थियो। थारूहरू जो दमित भए, प्रताडित भए, अपमानित भए, लुटिए, आतंकित भए र आफ्नो घरआँगनबाट लखेटिए, ती मानौं सबै तुच्छ थिए। यसरी शासनाधीशहरूको आज्ञाकारी भरियातुल्य मिडियाले हाकाहाकी शासक खलकका सन्ततिहरूको उत्पात देवत्वकरण र सीमान्तकृत निमुखा थारूहरूको उग्र दानवीकरण गर्यो।
आखिर सारमा के थियो टीकापुर घटना ? त्यो पृष्ठभूमिमा निहित कुन गुप्त प्रेरक र कुन दृश्यवान् कारकद्वारा घटित भयो ? नितान्त तात्कालिक दृष्टिले हेर्दा टीकापुर घटना अखण्डमार्गीहरूद्वारा भइरहेको उत्पीडन र अपमानविरुद्ध थारू समुदायको उन्मादी अभिव्यक्ति थियो। तर, पृष्ठदृष्टिले ऐतिहासिक सन्दर्भमा हेर्दा त्यो घटनाको प्रेरक र कारक तŒव बिल्कुल फरक दखिन आउँछ। जो पहाडी प्रहरी र बालक मारिए, ती बबुराहरू त दुर्योगवश घानमा परेका थिए।
थातबास र भूमि लुटिएको र लुटेराहरूद्वारा आफ्नै घरआँगनमा पशुझैं बँधुवा बनाइएको चरम प्रताडित थारू समुदायले त्यो अन्धवेगी उन्मादको क्षणमा सायद ती प्रहरीहरूका अनुहारमा सिंहदरबारका शासकहरूका अनुहार देख्यो। विडम्बनावश, घानमा परेका प्रहरीहरू माध्यम बने, वास्तवमा आक्रोशित र अराजक भीडको प्रहारको निशाना सिंहदरबारको आततायी शासक थियो। अति सरलीकृत दृष्टिले जीवनलाई केवल कालो–सेतोको अर्थमा बुझ्ने र जीवनलाई नित्य सरल रेखामा लुखुरलुखुर हिँडिरहेको देख्ने बुद्धु मिडियाले जीवनको यो जेलिएको जटिलता के देख्थ्यो ! यो अन्धमति मिडिया त केवल शासकहरूको पुरेत्याइँ कर्ममा लिप्त भयो। यो पुरेत्याइँको अन्तर्यमा राष्ट्रवाद नामक नश्लीय अहंकारवादको ताण्डव क्रियाशील थियो।
टीकापुरको प्रतिशोधी दमनको बीचमा मधेस आन्दोलनमा लहान घटना भयो। उक्त घटनापछि मधेसी आन्दोलन झनै उग्र भयो। नागरिक आन्दोलनको सदस्यताका नाताले म मधेस झरेँ। झर्नुको अभिप्राय थियो, थलैमा गएर आन्दोलन अवलोकन गर्नु, देखेको टिप्नु र टिपेको यथातथ्य लोकलाई सुनाउनु। काठमाडौंमा हस्तिहाडे बुर्जामा बसेर सिंहदरबारका राष्ट्रवादी नजरले हेर्दा मधेस आन्दोलन कतैका कसैको स्वार्थमा र उसैको उक्साहटमा उठेको थियो।
र, त्यसमा रैथाने प्रेरणा, उत्पीडित जनको स्वस्पूmर्त संलनता र समानता एवं न्यायको न्यायोचित आग्रह थिएन। तर थलैमा, बारुदको धुवाँ र गोलीको पर्राको बीचमा गएर हेर्दा जे देखियो, त्यो दृश्य सिंहदरबारको राष्ट्रवादी चस्माले देखेको भन्दा सर्वथा पृथक् थियो। आन्दोलनमा भुइँमानिसहरू दूर देहातदेखि कमिलाको गोलोसरी ओइरिएका थिए। सीमान्तकृतहरू, वञ्चितहरू, बहिष्कृतहरू, अपमानितहरू, कुण्ठितहरू र तन्नमहरू।
सिंहदरबारले सधैं अमानव, अनेपाली र अराष्ट्रवादी भनी हेपेका, हेलाँ गरेका र ठगेका सहस्र अकिञ्चन जनहरू। कोही रबरका स्यान्डल लगाएका, कोही चप्पल लगाएका, कोही खाली खुट्टै आएका। पुरुषजतिले हातहातमा लट्ठी बोकेका। ती आफ्नै घरको सातु–सामल बोकेर आएका, कति त आन्दोलनको यज्ञमा चरु थप्न भनी आनासुकी दामसमेत लिएर आएका। तर मधेसमा, यथार्थ धरातलमा, आन्दोलनको स्वरूप, शैली र सहभागिताको प्रकृति र आयाम जस्तो थियो, आन्दोलनको थलोमा उभिएर माथि हेर्दा पहाडी मिडियामा त्यो कहीँ कतै प्रतिविम्बित भएन।
त्यहाँ जे प्रतिविम्बित भयो, त्यसको सर्वथा उल्टो भयो। एउटा विद्रूप प्रसंग छ, जसमा दुराग्रही पहाडी मिडियाको चरित्र गज्जपले मुखरित भएको छ। आन्दोलनको रिपोर्टिङ गर्न काठमाडौंबाट खटिएका एक पहाडी पत्रकारले गुनासो गरे— दाइ, मधेसमा उभिएर मधेसी आन्दोलनलाई हेर्ने आँखा र राजधानी काठमाडौंबाट मधेसी आन्दोलनलाई हेर्ने आँखा कति फरक ! घटनाजन्य यथार्थ उही हो, प्रक्रिया उही हो, दृश्य उही हो, तर मिडियामा प्रकट हुँदा त्यो कति फरक ! किन बन्धु ? — व्यग्र खुल्दुलीसाथ मैले सोधेँ।
जवाफमा उनले भने— यहाँबाट नांगा आँखाले देखेको र नढाँटी टिपेको समाचार लेखेर पठायो, छापिएर आउँदा त्यसको रूपै अर्कै हुन्छ। यति भनेर ऊ अकमकायो। भित्ताका पनि कान हुन्छन् भन्ने डरले होला सायद। मैले ठट्टा गरेँ— कुटिल सम्पादन, निर्मम काटकुट र घोर विरुपीकरण, कि कसो ब्रो ? र, नतिजास्वरूप समाचारको रूप हेदै विकृत र विद्रूप ? कि कसो बन्धु ? बन्धु अताल्लियो र मौन व्रतमा लीन भयो।
मधेस आन्दोलनमा टीकापुरमा अभिव्यक्त नश्लवदी प्रवृत्तिलाई बिर्साउने एउटा घटना घटित भयो। उन्मादी भीडले एकजना असईलाई एम्बुलेन्सबाट थुतेर बध गर्यो। ती असई पहाडी थिए। त्यसै दिन प्रहरीको गोलीले तीनचारजना मधेसी आन्दोलनकारी पनि मारिएका थिए। र, प्रहरीद्वारा अस्पतालभित्र तालिवानी आतंक मच्चाइएको थियो। तर, काठमाडौंको समस्त मिडियाभरि एकोहोरो स्याल हुइँया पिटियो— मधेसमा पहाडी असईको नृशंश हत्या भयो।
हो, असईको हत्या भएको साँचो हो। तर, उही क्षणमा, उही दिनमा, उही सन्दर्भमा र उही परिवेशमा मधेसी आन्दोलकारीको पनि त हत्या भएको थियो। तर, काठमाडौंको मिडियाले एक पहाडीको बध भएको मात्र देख्यो र लेख्यो, अनेक मधेसीको बध भएको देखेको नदेखेई गरेर लुकायो। यो लेख्नु र नलेख्नु, देख्नु र लुकाउनु वास्तवमा उही बन्धुद्वेषी, दुराग्रही र अहंकारवादी राष्ट्रवादको कुटिल क्रीडा थियो। मधेसमा भइरहेको उग्र दमन, अन्धाधुन्ध हत्या र चरम ज्यादती पहाडी मिडियामा पूरापूर ब्ल्याकआउट भयो।
र, जगत्लाई यस्तो छनक दिन खोजियो मानौं मधेसमा असल मनशाययुक्त आन्तरिक उत्प्रेरणाबाट केही नै भएको छैन। जे भएको छ, त्यो केवल अन्तैका उक्साहटकारी र रैथाने विखण्डनकारीहरूको खेल तमासा हो। हो, हाकाहाकी यसो भनियो। र, प्रतीकात्मक रूपले यसो पनि भनियो— मधेसमा जो मारिँदै छ, ऊ अमानव हो, अनेपाली हो, अराष्ट्रवादी हो। तसर्थ ऊ मारिनलायक छ, र यो खेदको विषय किमार्थ होइन।
मेरो अभिव्यक्तिको दीर्घ यात्रामा इतिहासको त्यो क्षण ज्यादै संकटग्रस्त क्षण थियो। कठिन, दुरुह, अत्यासलाग्दो र स्तब्धकारी क्षण। मधेसी आन्दोलनको क्रूर यथार्थको यथातथ्यबारे सत्य बोल्यो कि महेन्द्रीय राष्ट्रवादको प्रेतले पोलिहाल्थ्यो ! सहज अवस्थामा भयंकर क्रान्तिकारी अभिनय गर्ने अनेक स्वरहरूले चर्म रक्षार्थ मौन व्रत धारण गरेका थिए। र, तिनका कलम मग्नसँग सुतेका थिए।
मधेस आन्दोलन नेपालका नेपालीहरूकै आन्दोलन हो, र त्यो आन्दोलन नेपाल कतै लगेर बुझाउन होइन, बरु सकेदेखि सिंहदरबारको शासनको लगाम आफ्ना हातमा लिनका लागि हो भन्न गाह्रो थियो भने उन्मत्त राष्ट्रवादी कोणबाट सहस्र निन्दित र लाञ्छित भइन्थ्यो। अझ अन्धमति भीडको जग्जगी भएको त्यो बेला भौतिक प्रहारको खतरासमेत थियो भने पनि हुन्छ। तसर्थ बोल्नैपर्ने त्यो क्षणमा शब्दकर्म र मिडियाका अधिकांश शूरवीरहरू सत्य नबोल्न कटिबद्ध भए।
एकाध ‘पागल’हरू जसले डराउँदै, कनिकुथी सत्य बोल्ने आँट गरे, ती मोदीका दलालमा गनिए, ती लैनचौरका ज्यालादारी एजेन्ट भनिए। र, कुत्सित मनशायले स्वैरकल्पनामा तिनका घरदैलामा भारुको यति विशाल वर्षा गरियो, त्यो वर्षाको बाढीमा नबगी ती ‘पागल’हरू जिउँदा रहनु अबोधगम्य रहस्य हो।
मधेसमा सत्ताको ताण्डव नृत्यबीच जब रगतको होली खेलिँदै थियो, सिंहदरबारको सिंहासनमा सुशील दा विराजमान थिए र सत्ताको बन्दुक वामदेव गौतमका हातमा थियो। अलि पछि त्यो बन्दुक कथित माअेवादी शक्ति बस्नेतका हातमा सर्यो। बन्दुक बोक्ने हात जोसुकैको होस्, मधेसलाई हेर्ने दृष्टि र दमन गर्ने आकांक्षामा कुनै हेरफेर भएन। कटबाँस, अ श्रुग्यास र गोलीको नित्य वर्षा भइरह्यो। उत्पीडित भूमिमा दारुण चित्कार, मर्मान्तक कोलाहल र भयातुर भागाभागबीच रगतको खोलो बगिरह्यो। त्यो पशुको होइन, मानिसको रगतको खोलो थियो।
मजस्तै मानिसको, तपाईंजस्तै मानिसको, सुशील कोइराला, पुष्पकमल दाहाल, खड्गप्रसाद ओली र वामदेव गौतमजस्तै मानिसको।। तर, पहाडी राष्ट्रवादका दृष्टिमा त्यो रगतको पशुको रगतको जति मूल्य पनि भएन। छेवैबाट, नांगा आँखाले त्यो नृशंश दमन, त्यो दारुण चित्कार र त्यो भयावह कोलाहल देखेपछि मेरो रूढ संस्कारमा महेन्द्रीय राष्ट्रवादको जो शेषांश थियो, त्यो समाप्त भयो। र, मेरो अन्तस्करणले ऐलान गर्यो— भाइ, अब तेरो नरभक्षी राष्ट्रवादका दिन गए ! गए त ठीकै भयो, राष्ट्रवाद नामक मेरो मनोरोगको शेषांश सदाका लागि इतिहास भयो।
त्यो राष्ट्रवाद जो, अखण्डताको गर्जन गर्छ, र सामाजिक विखण्डनको बीजारोपण गर्छ। त्यो राष्ट्रवाद, जो आफ्नै देशभित्रको कसैलाई तुच्छ देख्न आफ्नो श्रेष्ठताको मायावी विम्ब रचना गर्छ। त्यो राष्ट्रवाद, जो मानवतावादको गुड्डी हाँक्छ र अमानवताको माहोल निर्माण गर्छ। त्यो राष्ट्रवाद, जो प्रकारान्तरले अतीतको अन्ध महिमागान, वर्तमानको कुत्सित भत्र्सना र भविष्यको निष्ठुर निषेधमा गर्व गर्छ।
खुट्टा हालिने अग्लिँदै गयो, खुट्टा हाल्नेहरू होचिँदै थिए। खुट्टा हालिने प्रभुलाई भ्रम भयो–— यो मेरो वास्तविक उचाइ हो। खुट्टा हालिदिने भक्तहरूलाई भ्रम भयो— यो परम् पूजनीय ख्वामित्को वास्तविक उचाइ हो। ऊ हेर्दाहेर्दै काठका खुट्टाधारी दम्भी राम माथि, माथि, झन् माथि उठ्दै गयो, आत्महीन हनुमानहरू तल, तल, झन् तल रसातलतिर दबिँदै गए।
यही चरम उन्मादको प्रक्रियामा सहदेशवासीहरूको रक्तकुण्डबाट राष्ट्रवादी नायकको जन्म भयो। पृथ्वीनारायण शाहका कुमकुमसम्म आउने राष्ट्रवादी, महेन्द्र शाहका कानकानसम्म आउने राष्ट्रवादी। भन्नुमात्र हुँदैन, मूलधारे मिडिया यो राष्ट्रवादीको प्रखर विम्बको पौरखी जननी हो। लाग्न त मलाई यो राष्ट्रवादीको जायजन्मको नालीबेली कहन त्यसैत्यसै घिन लाग्छ, तर के लाग्छ, यथार्थवादी धर्मका दृष्टिले लोकलाई यो नालीबेली नसुनाई धरै छैन।
०००
राष्ट्रवादको गर्जनमाझ जब दमन र हत्याले चरम रूप धारण ग¥यो, मधेसी आन्दोलनकारीहरू चर्मरक्षार्थ दसगजाको शरण पर्न विवश भए। सिंहदरबारका शासक र तिनका अनुयायीहरू आन्दोलनकारीहरूको यो पलायनप्रति कृतज्ञ हुनुपर्ने हो। कारण तिनले पलायनको यो बाटो समातेका नहुँदा हुन् त शासकका गोलीले मारिनेहरूको संख्या साठीको दोब्बर अर्थात् छब्बीस पुग्न सक्थ्यो।
र, त्यो प्रत्येक हत्या कलंकको दाग भएर बधकारी शासकहरूका निधारमा अंकित हुन्थ्यो। तर, गुनका बैरीहरूमा यसरी सोच्ने सद्बुद्धि कहाँ हुन्छ र ? तिनले त उल्टै आन्दोलनकारीहरूलाई दसगजापारि गएर वारि ढुंगा हान्ने देशद्रोहीको बात पो लगाए। यसबीच धमिलो पानीमा माछा मार्ने दाउले मोदी मण्डली दसगजापारि बाटो छेक्न हाजिर भयो। मधेसी आन्दोलनको प्रवाहमा जब मोदीगणको तुच्छ स्वार्थ मिसिन आयो, मधेसी आन्दोलनको रूप विरूप भयो।
र, सिंहदरबारका राष्ट्रवादी शासकहरूलाई फत्तुर लगाउन झनै सजिलो भयो— मोदीगणको नरपीडक छातामुनि ओत लागेका आन्दोलनकारीको देखियो त सच्चा अनुहार !
०००
राष्ट्रवादको नशामा लट्ठिएको मूढमति मिडियाले नश्लीय राष्ट्रवादको नायक कसलाई बनायो ? बनायो त्यसलाई, जो मुखर गणतन्त्रविरोधी थियो। सम्झना छ, जब हामी गणतन्त्रको ध्वजा बोकेर सडकसडकमा अ श्रुग्याँस र लाठी खाँदै थियौं, यो नायक कौसीमा बसेर मग्न मुद्रामा रमिता हेर्दै थियो। र, घोर उपहासको लवजमा यो भन्दै थियो— गणतन्त्रको कर्कश गर्जन गोरुगाडा चढेर अमेरिका जाने दिवास्वप्न हो।
तथापि बर्बर दमनमाझ हामीले सपना देख्न छाडेनौं, सुरक्षित कौसीमा बसेर उसले गिज्याउन छाडेन। उसो त यो नायक मुखर वा छद्म रूपमा प्रगतिशील परिवर्तनका यावत् मुद्दाहरूको विरोधमा थियो। संघीयता र समावेशिताको विरोधमा, धर्मनिरपेक्षता र सकारात्मक विभेदको विरोधमा। ऊ ‘हाम्रा पुर्खाले कत्रा दुःखले आज्र्याको मुलुक’मा उनै पुर्खाका पदचिह्न पछ्याउँदै उनकैजस्तो विचार, संस्कार र शासकीय ढाँचाको पैरवीकार थियो।
०००
राष्ट्रवादको गर्भबाट जन्मिएको नायक आनन्ददायी कौसीमा बसेर अन्तर्यामी दृष्टिले मधेस आन्दोलन हेरिरहेछ। जब सिंहदरबार मातहतको प्रहरी प्रतिशोधकारी उन्मादका साथ आन्दोलनकारीका टाउका र छातीमा गोली दाग्छ, आफ्ना बफादार राष्ट्रसेवकहरूको पराक्रम देखेर ऊ दंग पर्छ। र, चरम उपहासको भावमा ऊ भन्छ— ऊ आँपको बोटबाट केही कुहेका आँप झरे। चटकी मानवको यो उपमा सटिक छ। नाथे एकाध आँप झरेर आँपको पौल भएको विशाल वृक्षलाई के फरक पर्छ !
उद्विग्न मधेसी आकाशमा प्रवाहित धुवाँ हेर्दै र चित्कार सुन्दै जब यो नायक अट्टहास गर्छ, मिडिया बिनाप्रश्न, बिनाटिप्पणी, बिनाविमति मखलेल मुद्रामा रिपोर्टिङ गर्छ। मानौं, मिडियाको कर्म र धर्म नै राष्ट्रवादको नश्लीय नायकको अखण्ड महिमा मण्डनमा लिप्त रहनु हो।
संविधानसभाको गोप्य खोपीमा लोकदृष्टिलाई छलेर संविधान भकाभक लेखिँदो छ। यो जालझेलसँग असहमत आन्दोलनकारी मधेसमा मारिँदो छ। कतैका कसैको सहारा र राहत नपाएर निसास्सिएका आन्दोलनकारीहरू मानव–साङ्लोको औतारमा प्रकट हुन्छन्। पूर्व–पश्चिम मूलबाटोभरि नै। झन्डैजसो दृष्टि–शृंखलाको ओल्लो क्षितिजदेखि पल्लो क्षितिजसम्म। त्यो मानव–साङ्लो वास्तवमा आफ्नो दारुण दशाप्रति जगत्को ध्यानाकृष्ट गर्ने सामूहिक चेष्टा थियो।
जब नश्लीय नायकले त्यो अथाह जनसागर देख्यो, ऊ त्यसैत्यसै अत्ताल्लियो। अरे, कुहेर बोटबाट झर्न लायकका आँपहरू सारा सडक ढाकेर जगत्सामु कुरूप नाटक प्रदर्शन गर्ने ? ए रात्तै ! रिसले टुप्पीबाट धुवाँ छुटेको बखतमा उसले ड्याम्म उद्घोष गर्यो— यो मानव–साङ्लो होइन, माखेसाङ्लो हो। जो प्रदर्शनमा उत्रिएका थिए, तिनका चित्तमा पनि किञ्चित कोमल संवेदना हँदो हो, ईख हुँदो हो, आत्माभिमानको चेत हुँदो हो भन्ने उसलाई हेक्का रहेन। कारण ऊ नश्लीय राष्ट्रवादको वायुपंखी घोडामा माथि गगनमा सवार भएको थियो। उसका दृष्टिमा तल धुलामा ती दमित नरनारीहरू कमिलातुल्य गोचर भएका थिए। कमिला नाथेको केको संवेदना ? तिनको केको ईख ? तिनको केको आत्माभिमान ?
०००
समतल भूमिमा जो आन्दोलनरत थिए, तिनको कुनै अस्वाभाविक, अतिरिक्त र असम्भव दाबी थिएन। थियो त केवल संविधानमा बराबरीको दाबी। स्थान बराबरी, मान बराबरी, हक बराबरी, अवसर बराबरी। राष्ट्रवादका नायकलाई कमिला जाबोको बराबरीको यो दाबी हास्यास्पद लाग्यो। र, उसले उग्र गर्जन ग¥यो— पारि बिहारतिर, उत्तर प्रदेशतिर... उता पो बराबरी...। यता केको बराबरी ? यसको अर्थ हो— तिमीहरू उताका हौ, यताको ‘हाम्रा पुर्खाले कत्रा दुःखले आज्र्याको’ भूमि छाडेर तिमीहरू उतै गए हु्न्छ।
०००
आन्दोलनमा पलप्रतिपल आक्रोश बढ्दो छ, दमन बढ्दो छ, रक्तपात बढ्दो छ। संविधानसभामा रक्तरञ्जित संविधान लेखिँदै छ, मिडियामा मधेसी सहिदका रगतको मसीले राष्ट्रवादी नायकको गाथा रचिँदै छ। गजप भयो बा ! हेर्दाहेर्दै अहिलेको अहिले उल्का भयो ! विरल नायकको उचाइ उकास्न काठका खुट्टा अदृश्य हालियो। खुट्टा हालिदिने स्वामीभक्त मिडिया थियो। खुट्टा हालिने अग्लिँदै गयो, खुट्टा हाल्नेहरू होचिँदै थिए। खुट्टा हालिने प्रभुलाई भ्रम भयो— यो मेरो वास्तविक उचाइ हो।
खुट्टा हालिदिने भक्तहरूलाई भ्रम भयो— यो परम पूजनीय ख्वामित्को वास्तविक उचाइ हो। ऊ हेर्दाहेर्दै काठका खुट्टाधारी दम्भी राम माथि, माथि, झन् माथि उठ्दै गयो, आत्महीन हनुमानहरू तल, तल, झन् तल रसातलतिर दबिँदै गए। उत्पाती–वित्पाती स्वभावको नखरे राष्ट्रवादी नायक मायावी लोकप्रियताले सज्जित भयो। त्यो भुइँफुट्टा लोकप्रियता थियो— पृष्ठभूमि बिनाको, वैचारिकता बिनाको, धरातल बिनाको र दीर्घायु बिनाको। पूर्ण रूपले निराधार र निराकार।
तर्कले व्याख्या गर्न नसकिने, तथ्यको सहाराले अथ्र्याउन नमिल्ने। तैपनि त्यो बुझिएन भन्नु अपराध हुने ! राष्ट्रवादको नखरे नायकले शून्य आकाशमा छिछिमिराझैं फटफटाउँदै उत्पाती–वित्पाती भाकामा भन्यो— म आकाशको जूनलाई सुन बनाएर दीनदुःखीका आँगनआँगनमा सिंगासिंगै खसाइदिन्छु। गगनविरही ख्वामितको कल्याणकारी वाणी सुनेर लट्ठक लोक मखलेल भयो। र, प्रभुको जयजयकारको तुमुल ध्वनिले समस्त आकाश गुञ्जायमान भयो।
यसरी रक्तरञ्जित संविधानको झैं जब रक्तरञ्जित नायकको उदय भयो, मेरो अभिव्यक्ति स्वतन्त्रताको गर्धनमाथि राष्ट्रवादी डिमोकलको तरबार झुन्डियो। राष्ट्रवादी रामको जयगान गर्न जति पनि छुट छ, आलोचना गर्न त्यति नै बर्जित छ। गरे देशद्रोही भनिइन्छ, विखण्डनकारी भइन्छ। अनि सत्ताद्वारा पालित र पोषित भिजिलान्तेहरूद्वारा सामाजिक कम र असामाजिक बढी लाग्ने ‘सामाजिक सञ्जाल’मा छिःछिः र दूरदूर, घेराउ र आखेटको लहर उठ्यो।
निर्मम समयको प्रश्न छ— सत्यको ध्वजावाहक स्वतन्त्र विचारकर्मीले यो संकटकालमा गर्ने के ? चर्मरक्षा गर्न आँखा चिम्लेर राष्ट्रवादी प्रभुको भजन गाउने कि चर्मविनाशको जोखिम उठाएर भुइँफुट्टा प्रभुको यथार्थ कथा हाकाहाकी उजागर गर्ने ? रोज्नलाई हरेक नागरिक स्वतन्त्र छ। कि मूक मुद्रामा हनुमान औतार धारण गर कि मुखर भावले विद्रोह बोल ! यता न उताको छद्मभेषी लण्ठ जो छ, त्यो भित्ते घडीको हल्लनताम लंगुर कहलिन लायक छ।