रात नपरेको अनुभूति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच घण्टाको उडानपछि रातको सवा आठ बजे बैंककको डोन मियुङ विमानस्थलमा अवतरण भयो, थाई एअरवेज। एसियन ल्यान्ड कोलिसन संस्था आयोजक रहेको मानवअधिकार र भूमिअधिकारसम्बन्धी दुईदिने कार्यशालामा सहभागी हुन यज्ञप्रसाद अधिकारी, गीता पण्डितका साथ म बैंकक पुगेको थिएँ। गीता मिस र मेरो लागि बैंकक नयाँ गन्तव्य थियो। तर, यज्ञ सर भने दुईतीनपटक त्यहाँ पुगिसक्नुभएकाले एअरपोर्टमा खासै अप्ठेरो भएन।
चेकआउटपछि बैंककको रातिको झिलिमिली हेर्दै होटेलतिर लागियो। दिउँसोको समयमा साह्रै अस्तव्यस्त र जाम हुन्छ रे यहाँका सामान्य सडकहरूमा, काठमाडौंको कोटेश्वरमा हुने जामजस्तै। तर, राजमार्ग सधैं खुला र आनन्ददायी। सामान्य सडकमा गुडिरहँदा पनि काठमाडौंको सडकको तुलनामा त आनन्द नै आइरहेको थियो। बैंककमा अहिले आफ्नै आँखाले देखिरहेको हाइवे, ओभरब्रिज, त्यसमाथि अर्को ओभरब्रिज र अझ माथि मेट्रो ट्रेनको लिक, यस्ता संरचनाहरू आखिर कहिले बन्ने मेरो देशमा ? म सोच्न थालेँ।
थाइल्यान्डको प्रमुख व्यवसायमध्ये पर्यटन पनि हो। राजधानीको हरेक चोकमा एउटा हेर्नलायक संरचना देखिन्छ। कतै पानीका फोहोरा निस्किरहेका साना पार्क छन् त कतै राजारानीका ठूला मनमोहक प्रतिमा। एकापट्टि बत्तीले सिँगारिएका फूलबारी त फेरि लगभग एक किलोमिटरको दूरीमा हस्तकलाको मनोरम प्रदर्शन। ८० को दशकको सिनेमामा देखाइने लालटिनले सजिएको छ, सडकको बीचमा रहेको सानो फूलबारी। चोकचोकमा ट्राफिक लाइट आफ्नै गतिमा बल्ने बदल्ने क्रम जारी छ, सडकमा गाडीहरूको चाप उस्तै छ। यहाँ रात परेको कुनै अनुभूति नै छैन। फुटपाथमा पर्यटकहरू हिँडिरहेका छन्, निर्धक्क।
खाओसन सडकको बीच भागमा अवस्थित आइबिस स्टाइल्स खाओसन भिङ्ताई होटेलमा हाम्रो बस्ने व्यवस्थापन गरिएको थियो। खाओसन मूल सडकको दायाँबायाँ थुप्रै स्टल खुला थिए— रेस्टुरेन्ट, कपडा, खेलौना, गहनाका पसल, मसाज पार्लर, ब्युटी पार्लर आदि। खाने, पिउनेको छुट्टै जमात थियो। यस्तो भीड छिचोलेर अघि बढ्नसमेत मुस्किल परिरहेको थियो हामी सवार ट्याक्सीलाई। बल्लतल्ल होटेल पुगियो। एसीवाला ट्याक्सीबाट झर्दा आगोको भट्टीभित्र पसेजस्तो महसुस भयो। ओहो यहाँ त मंसिरमा पनि गर्मी।
नयाँनयाँ स्वाद र बैंककको प्रख्यात स्ट्रिट फुड चाख्न आआफ्नो कोठामा भारी बिसाएर १५ मिनेटमा भेट्ने कुरा भयो। होटेलेबाट दायाँतिर जाने सल्लाह मिलेपछि बायाँतिरको बजार भोलिपल्टका लागि छोडियो। कुनै स्टलमा डम्प्लिङ (मम), कुनैमा सिफुड, कुनैमा खाऊँखाऊँ लाग्ने गरी सजाइएका फलफूल, चाउमिनका रङमात्रै ५–६ थरीका, कुनैचाहिँ होटेल पनि रहेछन्, फुटपाथभरि बस्नका लागि टेबुल र कुर्सी राखिएका। दिनभर गाडी गुड्ने सडकमा बेलुकी पसल थापिएका रहेछन्। रोजगारी सिर्जना गर्ने यस्तो काइदाले थाइल्यान्डमा जम्मा ०.७ प्रतिशत मात्र बेरोजगार छन्। खाली ठाउँ र समयको पूर्ण सदुपयोग गर्न जानेका रहेछन् बैंककवासीले।
दिनभर गाडी गुड्ने सडकमा बेलुकी पसल थापिएका रहेछन्। रोजगारी सिर्जना गर्ने यस्तो काइदाले थाइल्यान्डमा जम्मा ०.७ प्रतिशत मात्र बेरोजगार छन्।
भोलिपल्ट बिहान ७ बजे नै सुकुमभिट सडकमा रहेको पुलमान बैंकक ग्रान्डी होटेलको लागि प्रस्थान गरियो। काठमाडौंवासीलाई सबैभन्दा राम्रो लाग्नेचाहिँ धुवाँधुलोमुक्त सहर नै रहेछ क्यारे, अघिल्लो रात देखेको भन्दा पनि अझ सुन्दर लाग्यो बैंकक सहर। त्यहाँ हरेक चोकमा ट्राफिक लाइटले सक्रिय रूपमा काम गरिरहेको थियो। ट्राफिक प्रहरी नै नचाहिने। राजमार्गमा यात्रा गर्दै गर्दा सडकमा गलैंचा नै पो बिछ्याइएको छ कि भन्ने भान भयो।
दिनभरिको कार्यक्रम र प्रस्तुतिले थाकेर होटेल फर्किएका हामी आज बेलुकी होटेलको बायाँतिर लाग्यौं। हिजोजस्तै स्टलहरू आ–आफ्नो ठाउँमा उभिइसकेका छन्। बिहान सुकुमभिट जाँदा यही फुटपाथ सुनसान थियो, अहिले मेला लागेजस्तो भएको छ। काठमाडौंमा पनि निश्चित स्थानहरू तोकेर महानगरले रात्रिकालीन स्ट्रिट फुड स्टलहरू राख्ने व्यवस्था मिलाए राम्रो हुने थियो भन्ने बारेमा एकछिन छलफल चल्यो। यसो गर्न सके रेस्टुरेन्टको महँगो खानेकुरामा पहुँच नहुनेहरूले समेत फरक स्वादका लागि घरबाहिर खानेकुरा खान सक्ने स्थिति बन्नेछ, बेरोजगारी हट्नेछ। विदेशी पनि आकर्षित हुनेछन्। रात्रिकालीन स्ट्रिट फुडको व्यवस्था गरिए विविध जातिको खानेकुरा खान टुँडिखेलको मेला महोत्सव कुर्नै पर्दैन।
दुईदिने कार्यशाला सफलताका साथ समापन गरी बैंकक पुगेको चौथो दिन बल्ल फुर्सद पाइयो। भोलिपल्ट बिहानै विमानस्थलका लागि हिँडिसक्नुपर्ने भएकाले बाँकी एक दिनलाई कसरी उपलब्धिमूलक बनाउने भन्दै होटेलका स्टाफहरूसँग सोधपुछ गर्यौं। उनीहरूले ग्रान्ड प्यालेस, मेक्लोङ ट्रेन मार्केट, डेम्नोन सादुआक फ्लोटिङ मार्केट, सी लाइफ बैंकक ओसन टुर, एन्सिएन्ट मंकी सिटी टुर आदि सुझाए। तर, सबै ठाउँका लागि एक दिन पूरै छुट्ट्याउनुपर्ने। भूपरिवेष्टित मुलुकका हामीहरूको इच्छाचाहिँ समुद्र भ्रमण गर्ने भएकाले हाम्रो यात्रा बैंककबाट झन्डै एक सय ५० किलोमिटर टाढा पताया सहर जानेतिर मोडियो।
दूरीका हिसाबले टाढा भए पनि पताया सहर जाँदा कारको सिसाबाट आँखाले नै बैंककको भरपूर भ्रमण गरियो। तीन तह भएको चिल्लो सडक, मेट्रो ट्रेनको च्यानल लाइन, ट्रिपर गुड्न छुट्टै सडक, अनि राजमार्गको दायाँबायाँ देखिने हरियाली, खोलानाला र मनमोहक संरचनाले अलि बढी नै लोभ्यायो मलाई। कतै पनि जाम नपरेकाले एक घण्टा पचास मिनेटमै पुगियो पताया, अनि आँखाअगाडि विशाल समुद्र नाचिरहेको देख्दा खुसीको सीमा रहेन। यहाँ पनि विकेन्ड शनिबारबाटै हुने हुँदा अलि बढी नै भीडभाड रहेछ। समुद्री किनारको तातो बालुवामा खुट्टा पोलुन्जेल हिँड्ने अनि चिसो पानीमा खुट्टा डुबाउँदै आनन्द लिने क्रम केही समय जारी रह्यो।
हामी सन् २०२० लाई पर्यटकीय वर्षका रूपमा मनाउने तयारी गर्दै छौं। पर्यटकहरू विदेश भ्रमणमा जाने भनेको मनोरञ्जनका लागि हो, न कि सास्तीका लागि। पर्यटन वर्ष साँच्चिकै मनाउने हो भने पर्यटकको सुरक्षा र सेवासुविधामा ध्यान दिँदै उनीहरूलाई माया र सत्कार गर्नु अत्यावश्यक हुन्छ। पर्यटक नेपालबाट बिदा हुँदा राम्रा, रमाइला र मीठा यादहरू मात्र लैजाने वातावरण हामीले सिर्जना गर्र्ने बारेमा आजैबाट सोच्न जरुरी छ।