नेपालका सबै दलमा 'र' छिरेको छ : मोहनविक्रम सिंह
बागलुङ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पछिल्लो समय कम्युनिस्ट पार्टीमा अनुशासनहिनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। मसालका कार्यकर्तामा समेत अनुशासनहिनता बढ्दै गएको संकेत गर्दै सिंहले अनुशासनहिनता कम्युनिस्ट पार्टीको लागि दु:खद हुने बताए।
राष्ट्रिय जनमोर्चाले बागलुङमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले मसाललाई फुटाउन भारतीय खुफिया संस्था 'र' लागि परेको दावी गरे।
मसालले निरन्तर भारतीय विस्तारवादी नीतिको विरोध गरेका कारण मसाललाई टुक्राउने षड्यन्त्र भइरहेको उनको जिकिर थियो। पार्टी सरकारमा रहँदा र नरहँदा भारतीय विस्तारवादी नीतिको विरुद्धमा सम्झौताहिन संघर्ष गरेकाले उनीहरुले मसाल फुटाएर कमजोर बनाउन लागि परेको उनले बताए।
उनले नेपालका सबै दलमा भारतीय खुसिया संस्था छिरेको समेत आरोप लगाए। 'नेपालका प्राय दलमा 'र' छिरेको छ, सिंहले भने,'त्यसकारण दलले गर्ने कार्यक्रम पनि 'र' कै निर्देशन अनुसार हुन्छ, त्यसैको प्रभाव हो भारतीय हेपाहा प्रवृत्तिको नेपालका ठूला दलले विरोध गर्न नसक्नु।'
उनले 'र' कै कारण नेकपा मसालको आठौँ महाधिवेशन समेत प्रभावित हुन थालेको भन्दै आफ्ना नेता कार्यकतालाई भारतीय एजेन्टबाट जोगिन आग्रह गरे। 'र'कै कारण पार्टी फुटको संघारमा पुग्न सक्ने बताउँदै उनले त्यसतर्फ सचेत रहन कार्यकर्तालाई आग्रह पनि गरे।
मसालको इतिहास स्मरण गर्न आग्रह गर्दै सिंहले भने, 'हाम्रा कतिपय महाधिवेशन दुःखान्त बनेका छन्, त्यसो हुनुमा आन्तरिक भन्दा 'र', कार्यकर्तामा अनुशासनहीनता र कतिपय कार्यनीतिका विषय छन्।'
हामी आठौँ महाधिवेशनको तयारी गरिरहँदा केही तत्वहरु खेल्ने प्रयत्न गर्दै छन्। सिंहले भने, 'अहिलेसम्मको महाधिवेशनमा दोस्रो र सातौं बाहेक पाँच पटकसम्मका महाधिवेशन पछि पार्टी फुटेको छ, उनले त्यस घटनाबाट पनि पाठ सिकेर अघि बढ्नुपर्ने बताए।