गाईपालकको कथा ‘गोपी’
नारायणगढ : पछिल्लो समय नेपालमा रंगमञ्चबाट प्रवेश गरेका कलाकार र मौलिक कथामा निर्माण भएका फिल्मले सफलता प्राप्त गरेका छन्।कुनैबेला आयातित कथामा फिल्म बनाएकोले सफलता पाउन नसकेको आरोप खेपेको नेपाली फिल्मी क्षेत्रलाई हेर्ने हो भने गीतसंगीतदेखि कथा र पात्रसम्मलाई मौलिकता नै फापेको उदाहरण पनि प्रशस्त छ।त्यस्तै मौलिक कथामा निर्माण भएको फिल्म ‘गोपी’ पनि माघ १८ देखि देशभरका हलमा लाग्दैछ।
‘फिल्ममा आफ्नै कथा देखाउन खोजिएको छ,’ लेखक सामिप्यराज तिमल्सिनाले भने, ‘नेपालमा केही छैन भनेर विदेश जाने युवाको लहर चलिरहेको बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन गोपी निर्माण गरेका हौं।’ गाउँमा गाई पालेर सफलता कमाउन सकिन्छ भन्ने उदाहरण फिल्ममा देखाइएको छ।‘हामीले आफ्नै कथामा फिल्म बनाउने प्रयास गरेका हौं,’ पत्रकारितामा सक्रिय रहेका लेखक तिमल्सिनाले भने, ‘फिल्मको कथा भएन भनेर धेरै समाचार लेखेँ।अहिले आफैंले कथा लेखेको छु।’
हरेक फिल्ममा फरकफरक भूमिकामा प्रस्तुत भएका अभिनेता विपिन कार्की यस फिल्मका मुख्य पात्र हुन्।उनले यसमा पनि फरक भूमिकामा अभिनय गरेको दाबी गरेका छन्।अभिनयको लागि पात्रलाई न्याय दिलाउन सक्नुपर्छ भन्ने मान्यता लिएर कलाकारितामा आएका विपिन गोपीमा गाईपालक किसानको भूमिकामा देखिँदैछन्।‘अहिलेसम्म किसानको भूमिकामा देखिएको थिइनँ,’ उनले भने, ‘अहिलेसम्म काम नगरेको भूमिका भएकोले यसमा पनि मलाई फरक रूपमा देख्न सक्नुुहुनेछ।’ फिल्मकी नायिका वर्षा राउत भने ‘गोपी’मा पशु चिकित्सकको भूमिकामा छिन्।गाईबस्तुसँग त्यति धेरै नजिक नभएकोले यो भूमिका निभाउन निकै गाह्रो भएको उनले सुनाइन्।
फिल्म युनिट यतिबेला प्रचारप्रसारमा छ।शनिबार प्रचारप्रसारकै क्रममा लेखक तिमल्सिनासहित कलाकारहरू विपिन कार्की, वर्षा राउत र कार्यकारी निर्माता श्रीधर पौडेल चितवन आइपुगेका थिए।प्रदर्शनको पूर्वसन्ध्यामा पोखरा र बुटवललगायतका केही सहरमा प्रमोसनको लागि पुग्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, हिउँवाला गौतम, सरोज अर्याल, कमलमणि नेपाल, गणेश मुनाललगायतका कलाकारले समेत अभिनय गरेका छन्।आरोही केसीले निर्माण गरेको ‘गोपी’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।