‘प्रदेशको नाम र राजधानी छिट्टै’
इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ २० बाट सुरुहुने प्रदेशसभाबाट प्रदेशको नाम र राजधानी तय गरिने जानकारी दिएका छन्।
इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश संसदमा मत भिन्नता रहे पनि सहमतिका आधारमा टुँगो लगाउने मुख्यमन्त्री राईले जानकारी दिए।
वर्तमान सरकारलाई काम गर्न सकिन भन्ने छुट नभएको उनको तर्क थियो। ‘तीनै तहमा विचार मिल्ने सरकारको बहुमत भएकाले सरकारलाई जनताका काम गर्न सकिन भन्ने सुविधा छैन’, उनले भने।
इलामको विकासमा प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राईले आश्वासन दिए। सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले यसअघि नै पर्यटकीय नगरी बनाउने घोषणा गरेको थियो।
नेपाल सरकारको सय गन्तव्य सर्किटमा सूर्योदय नगरपालिकाको कन्याम–फिक्कल–अन्तुको नाम पनि समावेश छ। नगरप्रमुख रणबहादुर राईले सुशासनका लागि नगरलाई अनलाइन प्रणालीमा जोडेको जानकारी दिए। सूर्योदय नगरपालिकाले आफ्नो लेटर प्याडमा पनि पर्यटकीय नगरी लेख्न सुरु गरेको मेयर राईले जानकारी दिए।