सञ्चारमाध्यममै गलत नक्सा
काठमाडौं : सञ्चारमाध्यममा कालापानी नभएको गलत नक्सा प्रयोग भइरहेकोमा नक्सा बनाउने आधिकारिक निकाय नापी विभागले चिन्ता प्रकट गरेको छ। आइतबार सम्पादकसँगको छलफलमा विभागले सबै सञ्चारमाध्यममा बारम्बार कालापानी नभएको गलत नक्सा उपयोग भइरहेको बताएको छ। छापा तथा अनलाइनले गलत नक्सा प्रयोग गर्दा सर्वसाधारणमा नै भ्रम उत्पन्न भएको विभागले जनाएको छ।
विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सञ्चारमाध्यममा गलत नक्सा प्रयोग नरोकिएपछि सम्पादकस्तरमा नै छलफल चलाउनु परेको बताए। सम्पादकहरूलाई सही नक्साबारे जानकारी दिए गलत नक्सा प्रयोग नहुने विश्वासले छलफल गर्न बोलाए पनि न्यून उपस्थितिले प्रभावकारी हुन नसकेको उनले बताए। ‘मिडियामा नै पटक पटक गलत नक्सा छापिएका छन्, विज्ञापनमा छापिएका अधिकांश नक्सा गलत हुन्छन्’, उनले भने, ‘त्यसकारण राम्ररी हेरिदिनुहोस् भनेर सम्पादकसँग छलफल गर्न खोजेका थियौं, न्यून उपस्थितिले खासै प्रभावकारी भएन।’ सम्पादकहरूले देश र राष्ट्रियतासँग जोडिएको विषयमा गम्भीर नभएको भन्दै उनले दुःख व्यक्त गरे।
उनले कुनै पनि सञ्चारमाध्यमले देशको नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिकता जाँच्न आग्रह गरे। उनका अनुसार अधिकांशले गलत नक्सा प्रयोग गर्ने क्रम रोकिएको छैन। उनले सही नक्सा नापी विभागको वेबसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह गरे। उनले पटक पटक जानकारी गराउँदासमेत सञ्चारमाध्यमले गलत नक्सा प्रयोग गरेको बताउँदै नरोकिए कानुनी कारवाहीमा जान बाध्य हुने चेतावनीसमेत दिए। ‘४ पटक त पत्रकार सम्मेलन गरेर नै जानकारी गराइसक्यौं तर कार्यान्वयन भएन, अब पनि यो क्रम नरोकिए कानुनी कारवाही गर्छौ’, उनले भने।
देशको सही नक्सा नापी विभागको वेबसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह। अझै गलत नक्सा प्रयोग गरिरहे २० हजार जरिवानासहित कारवाहीको चेतावनी।
जग्गा नापजाँच ऐनअनुसार गलत नक्सा प्रकाशन गरे २० हजार रुपैयाँसम्म जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामग्री जफत गर्ने व्यवस्था छ। कानुनी कारवाहीको व्यवस्था लागू गर्ने तयारी भइरहेको उनले बताए। अन्नपूर्ण पोस्ट्ले नै पहिलो पटक कालापानी नभएको नक्सा प्रयोग भइरहेको समाचार प्रकाशन गरेको थियो। त्यही गलत नक्सा छ्यापछ्याप्ती छ। प्रशासन, गृह, पाठ्यपुस्तकमा गलत नक्सा नै प्रयोग भइरहेको छ।
विभिन्न वेबसाइटदेखि गुगलसम्म गलत नक्सा प्रयोगमा छ। समाचार आएपछि सिंहदरबारभित्रका मन्त्रालय, आयोग र सरकारी निकायबाट भने गलत नक्सा हटाइसकिएको छ। विभागका महानिर्देशक भट्टले संघीय संरचनासहितको नक्सा छापेर सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनले २० दिनभित्र सही नक्सा सार्वजनिक गरिने बताए।महानिर्देशक भट्टले सर्वसाधारणलाई सुदूरपश्चिमको दार्चुला जिल्लाको टुप्पोमा चुच्चो भएको हेर्न आग्रह गरे। ‘दार्चुला जिल्लाको माथिल्लो भाग डाडुजस्तो भएको नक्सा गलत हो चुच्चो भएको नक्सा सही हो। प्रयोग गर्दा चुच्चो भएको नक्सा प्रयोग गर्नुहोला’, महानिर्देशक भट्टले भने। डाडुजस्तो नक्सामा कालापानी र लिपुलेकसहितको ६२ वर्गकिलोमिटर नेपाली भूभाग छैन।