अलैंचीको भाउ कुर्दै किसान
ताप्लेजुङको फुङलिङ बजारमा ३० किलोग्राम अलैंची बोकेर आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि अलैंची बेच्न सकेनन्। ‘ श्रीमतीको उपचार खर्च जुटाउन अलैंची बिक्री गर्न आएको हुँ’, शेर्पाले भने, ‘बिक्री नभएपछि बजारमै थन्क्याएर ऋण खोजेर उपचार गर्नुपर्यो।’ ताप्लेजुङका यी किसानको जस्तै छ, अन्य ४६ जिल्लाका अलैंची किसानको अवस्था।
संखुवासभाको सभापोखरी गाउँपालिकाका कृषक विश्वनाथ लिम्बूले पनि यस वर्ष अलैंची बिक्री गर्न सकिरहेका छैनन्। ४० मन (प्रतिमन ४० किलो) उत्पादन गरेका लिम्बूले उचित मूल्य नपाउँदा अलैंची बिक्री गरेका छैनन्। चार वर्षअघि प्रतिकिलो दुई हजार सात सय रुपयाँसम्ममा अलैंची बिक्री भएपछि मुलुकका ४६ जिल्लाका किसानले खेतबारी मासेर अलैंची लगाएका थिए। यसवर्ष प्रतिकिलो आठ सय पनि पाउन मुस्किल परेपछि किसान र व्यापारी नै अलमलमा परेको अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन्। उनका अनुसार यस वर्ष अलैंचीको मूल्य आठ सय रुपैयाँ प्रतिकिलोभन्दा माथि उक्लिएको छैन।
पछिल्लो साता फुङलिङमा अलैंचीको मूल्य प्रतिकिलो ६ सय २५ मा झरेको व्यपारीले बताए। अन्य जिल्लामा पनि उस्तै अवस्था रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। ‘हामीले मन मारिसक्यौं,’ अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भने, ‘४० हजार प्रतिमन (४० किलो ग्राम) का दरले गतवर्ष खरिद गरेको अलैंची गोदाममै थन्क्याउनु परिरहेको छ।’ व्यापारीले एक हजार प्रतिकिलोले किनेको अलैंची अहिले बढीमा आठ सय २५ रुपैयाँमा पनि बिक्री भएको छैन। ‘केही वर्षसम्म अत्यधिक माग रहेको अलैंची पछिल्लो समयमा गोदाममा थोपरेर राख्नु परिरहेको छ’, बरालले भने, ‘दुई साता यता कारोबारै ठप्प छ।’
इलाम बरबोटेका व्यापारी कृष्ण पौड्याल पनि अलैंचीले किसान र व्यापारीलाई झुक्याएको बताउँछन्। उनी भन्छन्, ‘भाउ ओरालो लागेपछि धेरै किसानका योजना भत्किएका छन्। कति त यो खेती छाडेर वैदेशिक रोजगारमा गए।’ उनका अनुसार महँगोमा अलंैची खरिद गरेर गोदाममा थोपर्दा व्यापार पनि चौपट भएर गएको छ। ‘जुवाको दाउ जस्तै भयो अलैंचीको भाउ’, पौड्यालले भने, ‘हामीले महँगोमा किनेर राखेको अलैंचीले कतिबेला भाउ पाउने भन्ने टुंगो हुन सकेन।’
बाँझै रहेको पाखा र जंगललाई हरियाली बनाएको अलैंचीले कृषकलाई लहलह धान फल्ने खेत र कोदो फल्ने बारीसम्म डोर्यायो। खेत र बारी मासेर कृषकले अलैंची लगाए। केहीवर्ष राम्रै आम्दानी पनि लिए। तर अहिले अलैंचीको भविष्यको विषयमा कृषक र व्यवसायी दुवै अन्योल र चिन्तित छन्। स्वदेशी बजारमा अलैंचीको खपत पाँच प्रतिशत पनि छैन। ‘नेपालमा बजार नै छैन। अन्तर्राष्ट्रिय बजारमा निर्यात दिनानुदिन घटिरहेको छ’, पौड्यालले भने, ‘मूल्यको उतारचढाबले खेती नै परिवर्तन गर्नुपर्ने अवस्था आइसक्यो। कृषकबाट महँगोमा किनेको अलैंची थोरै मूल्य मात्रै पाएपछि हामीले पनि बिक्री गर्न सकिरहेका छैनौं।’
अलैंचीका व्यापार पनि घाटामा गएका छन्। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ का वडा अध्यक्षसमेत रहेका पूर्ण सिटौला आलैंचीको व्यापारबाट ६ करोड घाटा भएको बताउँछन्। ‘राम्रो होलाभनेर ठूलो परिणाममा अलैंची खरिद गरियो। एक्कासि मूल्य घटेपछि ठूलो ऋण लागेर डुबियो’, उनले भने, ‘बिर्तामोडमा रहेको घर बेचेर उक्त ऋणसम्स तिर्न सकें। अहिले केही फाप्छ की भनेर सुन्तलाखेती सुरु गरेको छु।’ अलैंचीले डुबाएपछि व्यवसाय परिवर्तन गरेर सुन्तला र रुद्राक्षखेती सुरु गरेको सिटौलाको भनाइ छ।
पूर्वका पहाडी जिल्लामा उत्पादित सबै अलैंची झापाको बिर्तामोड र सुनसरीको धरानमा जम्मा हुने गरेको छ। अलैंची राख्न व्यापारीले गोदाम नै बनाएका छन्। त्यही अलैंची विराटनगर भन्सार कार्यालय हुँदै भारततर्फ निर्यात हुन्छ। अध्यक्ष भट्टराईका अनुसार ९८ प्रतिशत अलैंची भारत हुँदै अन्य मुलुक जाने गरेको छ। नेपाली अलंैची भारतको सिलीगुडी, नयाँ दिल्ली, कोलकाता, पाकिस्तानको कराँचीलगायत पुग्ने गरेको जानकारी उनले दिए। अन्य देशमा नगन्य मात्रमा पुग्ने गरेको छ। नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक पुर्याउन दुई महिना लाग्ने भएकाले पनि तेस्रो मुलुकमा अलैंचीको व्यापार नफस्टाएको उनले बताए।
अध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय बजारका लागि सरकारले एयर कार्गोका लागि पहल गर्नुपर्ने र अन्तर्राष्ट्रिय मेलामा स्टल खरिदमा सहयोग गर्नुपर्ने बताए। चार वर्षअघि मूल्य वृद्धिसँगै नेपालमा पनि व्यापारीले अलैंची जस्तै देखिने चुरुम्फोलगायत वस्तु मिसाएर बिक्री गर्न थालेपछि त्यसले अन्तर्राष्ट्रिय बजारमा अलैंचीको विश्वसनियतामा प्रश्न चिन्ह खडा गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बजारमा मागमा गिरावट आउँदा अहिलेसम्म अलैंचको भाउ ओरालो लागिरहेको छ।
भाउ बढेको समयमा पाकिस्तानलगायत देशमा चीन र भियतनाममा पाइने अलैंची जस्तै देखिने वस्तु मिसाए पठाउने सम्मका गलत काम पनि भएन। अहिले त्यो क्रम रोकिए पनि मूल्यमा दिनप्रतिदिन आइरहेको गिरावटले संकटग्रस्त अवस्थामा पुर्याएको अध्यक्ष भट्टराई बताउँछन्।
अलैंची विकास केन्द्र पान्दमका प्रमुख पदम अधिकारी मूल्य गिरावटको कारण मिसावट भन्न नमिल्ने बताउँछन्। अन्तर्राष्ट्रिय बजारमै अलैंचीको माग खच्किएकाले मूल्यमा गिरावट आएको उनको विश्लेषण छ। अलंैची व्यवसायी महासंघले भने भारतको आसाममा पनि नेपालमा जस्तै गुणस्तरीय अलैंची उत्पादन हुन थालेको र त्यहाँको अलैंची बिक्री भई नसककेकाले मूल्य घटेको बताउँदै आएको छ। गत वर्ष आसामको अलैंची बिक्री भइसकेपछि नेपालको प्रतिकिलो एक हजार रुपयाँसम्ममा बिक्री भएको थियो।
‘मंसिरदेखि फागुनसम्म अलैंची निर्यात गर्ने सिजन हो’, उनले भने, ‘तर यस वर्ष पनि पोहोर जस्तै भाउ वृद्धि हुने आसमा किसान र व्यापारी अलैंची थन्क्याएर बसिरहेका छन्।’ उनले यस वर्ष सिजनमा पनि अलैंची निर्यात हुन नसक्नुले समस्या खडा गरेको बताए।
साउन यताका पाँच महिनामा गत वर्षको तुलनामा यस वर्ष तीन लाख १९ हजार तीन सय ८५ किलो कम अलैंची निर्यात भएको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्यांकले देखाएको छ। गत वर्षभन्दा २३ दशमलव आठ प्रतिशत कमको कारोबार भएको छ। पाँच महिनामा गत वर्षको यही अवधिको तुलनामा ३८ करोड ५२ लाख ३९ हजार कम करोबार भएको केन्द्रले जनाएको छ। यस वर्ष साउन यताको पाँच महिनामा १४ लाख ९४ हजार आठ सय ९२ किलो अलैंची निर्यात भएको छ। गत वर्षको यही अवधीमा १८ लाख १४ हजार दुई ७७ किलो निर्यात भएको थियो। गत वर्ष ९ सय प्रतिकिलोको हाराहारीमा कारोबार भएको थियो।
समुद्र सतहबाट आठदेखि १८ सय मिटरसम्मको उचाइमा अत्यन्तै राम्रो अलैंची उत्पादन हुन्छ। दुई हजार चार सय मिटरसम्म पनि उत्पादन हुन्छ। वार्षिक दुई हजारदेखि दुई हजार पाँच सय मिलिमिटरसम्म वर्षा हुने ठाउँमा राम्रो फस्टाएको पाइन्छ। आठदेखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यान युक्त छायाँदार जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञ बताउँछन्। ताप्लेजुङमा गत वर्ष चार हजार दुई सय हेक्टरमा गरिएको खेतीबाट दुई हजार नौ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो।
पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, संखुवासभा, ओखलढुंगा, धनकुटा, उदयपुर र पश्चिम नेपालका लमजुड., कास्की, सल्यान, दैलेख, सुर्खेत, अछाम, डोटी, बैतडीसमेत ४६ जिल्लामा अलैंची बगान विस्तार भएको अलैंची विकास केन्द्र पान्दम फिक्कलले जनाएको छ।
नेपालमा सबैभन्दा बढी अलैंचीखेती गर्ने ताप्लेजुङमा तीन हजार ६ सय ४७ हेक्टर क्षेत्रमा यसको व्यावसायिक खेती भएको छ। संखुवासभा तीन हजार दुई सय ५९, इलाम दुई हजार सात सय ७४ र पाँचथरमा करिव एक हजार आठ सय हेक्टरमा अलैंचीखेती लगाइएको छ। अलैंची लगाउँदा खेतबारी मास्नु नपर्ने, भूइँ, डाले घाँसलगायत बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुनोयतका कारण यसलाई खोल्सामा फल्ने भनेर सुनकै कोटीमा राखेर महत्त्व दिने गरिएको छ। अलैंचीको आम्दानीले अर्थतन्त्र एवं स्थानीय जनजीवनमा परिवर्तन समेत ल्याएको छ। गत वर्ष ५४ लाख दुई हजार ११ किलो अलैंची निर्यात हुँदा चार अर्ब ८४ करोडको कारोबार भएको केन्द्रले जनाएको छ।
वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेका १९ वटा तुलनात्मक लाभका वस्तुमध्ये अलैंची पनि एक हो। मसला, औषधि, पेयपदार्थ तथा घरेलु अन्य प्रयोजनका लागि महत्त्वपूर्ण यो मसलाजन्य नगदेबालीको माग भारत र पश्चिमा मुलुकमा बढी छ। विश्वका अलैंची उत्पादन गर्ने मुख्य तीन मुलुकमध्ये नेपाल अग्रस्थानमा छ। नेपालमा करिब १७ हजार हेक्टरबाट अलैंचीखेती हुने गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। यसबाट वार्षीक ६ हजार पाँच सय २१ मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ। भारतमा भने २६ हजार चार सय ८२ हेक्टरबाट वार्षिक चार हजार पाँच सय २५ मेट्रिक टन मात्र अलैंची उत्पादन हुने गरेको छ।
प्राचिन समयदेखि महत्त्वपूर्ण र महँगो मसलाका रूपमा लिइँदै आएको अलैंची तेल, मिठाई, केकजस्ता वस्तुलाई सुगन्धित बनाउन पनि प्रयोग गरिँदै आएको छ। यसैगरी आयुर्वेद र युनानी चिकित्सामा घाँटी, फोक्सो, आँखा, पाचन प्रणालीजस्ता समस्यामा औषधिका रूपमा समेत प्रयोग गरिन्छ। कुनै मुलुकमा चिया र कफीसँगै उच्चकोटीको मदिरामा पनि प्रयोग हुने गरेको पाइन्छ। यसबाहेक सौन्दर्य प्रशोधनमा पनि यसको प्रयोग हुँदै आएको छ।
२०१५ सालदेखि नै अलैंचीखेती गरेर किसानले आम्दानी लिन थालेका हुन्। पहिलोपटक अलैंची खेती इलामका सीमावर्ती गाउँहरु श्रीअन्तु, समालबुङ, पशुपतिनगर, गोर्खे, जोगमाई लगायत क्षेत्रमा भएको पाइन्छ। कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठले दुई सय ४० वर्ष पुरानो अलैंचीको बजारी करणका लागि नेपालमा थप काम गर्नु पर्ने बताए।
पहाडी क्षेत्रका ६७ हजारभन्दा बढी कृषक अलैंचीमा आ िश्रत रहेको सरकारको पाँच वर्षे अलैंची निर्यात नीतिमा उल्लेख छ। नेपाली अलैंचीले विश्वको ६८ प्रतिशत हिस्स ओगटेको दायित्व नामक गैरसरकारी संस्थाले हालै सार्वजनिक गरेको रिर्पोटमा उल्लेख छ। रिर्पोटमा गुणस्तर सुधार, रोग नियन्त्रण र मिसावट नियन्त्रणमा तत्काल काम गर्न सुझाव दिइएको छ। नेपाली अलैंचीको गुणस्तरलाई तीन तहमा विभाजन गरिएको छ।
संघका अध्यक्ष भट्टराईका अनुसार तीनवटै समूहको मूल्य बेग्ला बेग्लै छ। जम्बोजेट, स्टेन्डर र चलन चल्ती भनिने वर्गीकरणमा प्रतिमन एक हजार सम्मको फरक रहने गरेको उनले बताए। अलैंचीको दानाको आकार, पुच्छर काटेको वा नकाटेको, अलैंचीको रंग, अलैंचीको चिस्यानको आधारमा वर्गीकरण गर्ने गरिएको छ। जम्बोजेट सबैभन्दा उच्च गुणस्तरको भए पनि यस्तो अलैंची किसानबाट नआउने अध्यक्ष भट्टराईले बताए। ०००००
घटेको छैन उत्साह
भोजपुर नगरपालिका १० भैंसीपंखाका देउचन्द्र राईले आफ्नो करिप १५ रोपनी जग्गामा पुख्र्यौली धानखेती छाडेर अलैंची लगाएको तीन वर्ष भयो। पुख्र्यौली खेतीले परिवारलाई खान मात्र पुग्ने भएपछि आम्दानीको लागि वैकल्पिक खेतीका लागि उनीसँग पाखो बारीबाहेक अरु केही थिएन। त्यही खेतमा अलैंची लगाएपछि अहिले उनले आम्दानी गर्न थालेका छन्।
‘धान लगाउँदा पाक्ने बेलामा असिना र रोप्ने बेलामा पानी नहुनाले वर्षेनी उत्पादन पनि घट्न थालेपछि आम्दानीका लागि अलैंची रोपियो। अहिले सात÷आठ मन भए पनि अलैंची फल्न थालेपछि पैसो देख्न पाइएको छ,’ उनले भने, ‘रोप्दा अलैंचीको भाउ पनि राम्रै थियो। पछि क्रमस घट्दै गए पनि धानभन्दा राम्रै आम्दानी छ।’
अलैंचीको मूल्यमा विगतका वर्षमा आधा ५० प्रतिशतभन्दा बढी गिरावट आए पनि पुख्र्याैली धानखेतीभन्दा राम्रै आम्दानी हुने गरेकाले भोजपुरका अधिकांश कृषक पछिल्लो समय धमाधम अलैंचीखेती विस्तारतिर लागेका छन्।
अलैंचीखेतीमा आकर्षण बढेसँगै जिल्लामा यसको विस्तारसमेत हुँदै गएको छ। धानभन्दा एक दुई पैसा भए पनि आम्दानी प्रत्यक्ष रुपमा देखिने भएकाले टेम्के मैयुङ गाउँपालिका–२ छिनामखुका कृषक राजेश राईले पनि आफ्नो ६२ मुरी धान फल्ने २१ रोपनी खेतमा अढाई वर्ष अघि अलैंची लगाएका छन्। गतवर्ष त्यही खेतमा उत्पादन भएको अलैंतीबाट मात्रै उनले साढे पाँच लाख आम्दानी गरे। अलैंचीको मूल्य पहिलेको तुलनमा घटे पनि अरु खेतीमा भन्दा यसले फाइदा नै पुर्याउने भएकाले खेतीलाई नै निरन्तरता दिएको उनी सुनाउँछन्।
भारत–पाक किचलोको असर
पाकिस्तान निर्यात बन्द भएसँगै अलैंचीको मूल्यमा गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठ बताउँछन्। भारतको बाटो हुँदै पाकिस्तान निर्यात गर्न समस्या भएको मूल्य नसोचेको गिरावट आएको उनको भनाइ छ।
पाकिस्तानले भारतको बाटो हुँदै लगिएको अलैंची प्रयोग नगरेपछि व्यापारमा समेत प्रभाव परेको हो। भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैंची पाकिस्तान निर्यात ठप्प भएको उपाध्यक्ष श्रेष्ठ बताउँछन्। चीनको बाटो हुँदै पाकिस्तानसँग अलैंची व्यापार बढाउन सरकारले पहल गर्नु पर्ने उनको माग छ।
विश्व बजारले धुँवारहित अलैंचीको माग गरेको अवस्थामा नेपालबाट ९० प्रतिशत धुँवायुक्त अलैंची उत्पादन हुने गरेको श्रेष्ठको दाबी छ।
उत्पादनमा ओरालो
किसानमा अलैंचीखेतीको पर्याप्त ज्ञान नहँुदा पुराना अलैंचीका बोट मर्न थालेका छन्। संखुवासभामा करिब ५० वर्ष पुराना बगान उजाड बन्न थालेपछि किसान निरास भएका छन्।
बुढो बिरुवा भएकाले रोगको संक्रमणसमेत बढेको कृषि शाखा खाँदबारीका प्राविधिक रामबहादुर ठाकुरले बताए। एक सय ५० मनसम्म उत्पादन गरेको चिचिला गाउँपालिकाका अनुप गुरुङ भन्छन्, ‘अहिले मरितरी ५ मन फलेको छ।’ सबै वोट मरेर सखाप भएपछि निरास बनेका गुरुङले पुनः नयाँ बिरुवा रोपेपछि गतवर्षदेखि उत्पादन सुरु भएको सुनाए। पाखोबारीमा अरु बालीसमेत खासै नहुने भएपछि पुनः अलैंची लगाउनुपरेको उनी बताउँछन्।
(इलामबाट तोयानाथ भट्टराई , ताप्लेजुङबाट सीताराम गुरागाई, भोजपुरबाट प्रदीपचन्द्र राई र संखुवासभाबाट अनिष विष्ट।)