पूरै गाउँ केराखेतीमा

पूरै गाउँ केराखेतीमा

बेनी : वर्षमा ६ मुरी धान फल्ने खेतमा केराखेती गरेकी बेनी नगरपालिका–२ खबराकी जयन्ती घिमिरे महिनामै १० हजारभन्दा बढी कमाउँछिन्। खबराकै यामबहादुर क्षेत्रीले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १०रोपनीमा एक सय घरी केरा लगाएका छन्। लगाएको डेढ वर्षदेखि नै यसबाट राम्रो आम्दानी भइरहेको छ। ‘घरमा काम गर्ने मान्छे छैनन्। खेताला पाइन छाडे। खेती लगाएर लगानी पनि उठ्दैन’, घिमिरेले भनिन् ‘अन्नबालीको वर्षभरिको आम्दानी केराले दुई महिनामै उठायो।’ थोरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको छ।

डेढ सय घरधुरी रहेको खबरामा खेतबारी, खोल्सा, खरबारी जताततै केराखेती छ। गाउँ नै केराघारीमा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक सोवित शर्मा बताउँछन्।

करिब ५० जनाले बगैंचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन्। १०÷१५ घारी केरा नलगाएको घरनै छैन। मानबहादुर थापा, हीरा कुँवर, घनश्याम सापकोटालगायत कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भिœयाएका थिए। ‘परीक्षण सफल भएपछि केराखेती विस्तारले तीव्रता पाएको हो’, कुँवरले भने, ‘यसअघि घरायसी उपभोगका लागि बाइसे, मुंग्रे, धुर्से जातको लगाउने गरे पनि बिक्री गर्ने चलन थिएन।’

उनले केरा बेचेर मासिक ३० हजार आम्दानी गरिरहेका छन्। मजदुर अभावमा जमिन बाँझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीय श्रीलाल सापकोटाले बताए। दैनिक सरदर पाँच भारि केरा यहाँबाट बिक्रीका लागि लगिन्छ। पकाएको एक दर्जन केरा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषक रूपा सापकोटाले बताइन्।

बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ। पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित खबराको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ। बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन। खबरामा उत्पादन हुन थालेपछि बेनीमा वाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारी श्रीकृष्ण सुवेदीले बताए। बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाध्यक्ष हीराबहादुर थापाले बताए।

गत वर्ष विनियोजन भएको पाँच लाख रुपैयाँ बजेटबाट लिफ्ट प्रविधिको सिँचाइ योजना निर्माण, कृषकलाई तालिम, चार जना अगुवा कृषकलाई पुरस्कृत र दुई हजार दुई सय बिरुवा वितरण गरिएको वडाध्यक्ष थापाले बताए। केराखेती कार्यक्रमका लागि यसवर्ष पनि तीन लाख रुपैयाँ विनियोजन भएको छ। सिँचाइ, आधुनिक प्रविधि र बगैंचा सरसफाइको आवश्यकता रहेको अगुवा कृषक शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.