फरार रहेका ३ सय २६ अपराधी एकै महिनामा पक्राउ

फरार रहेका ३ सय २६ अपराधी एकै महिनामा पक्राउ

विराटनगर  : विभिन्न अपराधमा संलग्‍न रहेको भन्दै अदालतले दोषी ठहर गरेका ३ सय २६ जना फरार अपराधी एक महिनाको अवधिमा मोरङबाट पक्राउ परेका छन्। अदालतले दोषी ठहर गरेपनि कैद तथा जरिवाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेका मध्ये ३ सय २६ जनालाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको छ।

पुस महिनामा ठूलो संख्यामा फरार प्रतिवादीलाई पक्राउ गरिएका कारण उनीहरुलाई ७६ वर्ष तीन महिना आठ दिन कैद र ७४ लाख ६७ हजार पाँच ९१ रुपैयाँ चार पैसा जरिवाना असुल भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

उनले महिनागत हिसाबमा फरार अपराधी पक्राउ तथा उनीहरुबाट कैद र जरिवाना असुल अहिलेसम्मकै उच्च रहेको जानकारी दिए। डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान, जवरजस्ती करणी, करणी उद्योग, लागुऔषध, चोरी, बहुविवाह, ठगी, किर्तेलगायत एक दर्जन बढी अपराधिक घटनामा संलग्नहरु छन्।  

उनले अदालतको फैसला कार्यान्वायन वर्षलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादी पक्राउ विशेष अभियानै चलाएको जानकारी दिए। 'अपराधमा संलग्न अदालतले दोषी ठहर गरे पनि लामो समयदेखि फरार रहेका थिए,' उनले भने, 'त्यही भएर पक्राउ गर्नका लागि प्रहरी सक्रियता बढाएर विशेष टोली खटाइएको छ।' प्रहरीले धमाधम पक्राउ गरेर अदालतमा बुझाउन थालेपछि पुराना मुद्धा फैसला भइसकेर जरिवाना तिर्नुपर्ने तथा कैद भुक्तान गर्नुपर्ने कतिपय फरार प्रतिवादी आफै अदालतमा उपस्थित हुन थालेको जनाइएको छ।

डीएसपी श्रेष्ठले भने, 'अब प्रहरीले नछाड्ने भयो भन्ने छाप परेपछि दोषी ठहर भएर पनि फरार रहेका अपराधी आफैं अदालतमा उपस्थित भएर जरिवाना तिर्न र कैद सजाय भुक्तान गर्न थालेको पाइयो।'

पुस महिनामा मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट एक सय १५ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कार्यालय उर्लाबारीबाट २३ जना, पथरीबाट २२, बेलबारीबाट २३, लेटाङबाट आठ, रानीबाट २१, सिजुवाबाट तीन, हरैंचाबाट २९ र नेमुवाबाट १६ जना फरार अपराधी पक्राउ परेको जानकारी डीएसपी श्रेष्ठले दिए।

वडा प्रहरी कार्यालय विराटनगर 'क' बाट २४, जिल्ला प्रहरी कार्यालयबाट चार, वडा प्रहरी कार्यालय हाटखोलबाट २९ र प्रहरी चौकी मझारेबाट नौ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

मोरङमा साउनमा एक, भदौमा सात, असोजमा १० र मंसिर महिनामा २३ जना मात्रै फरार प्रतिवादी पक्राउ परेका थिए। 
'प्रहरीले दोषी ठहर भइसकेका फरार प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि जरिवाना तिर्नुपर्नेलाई जरिवाना असुल गरेर छाडिन्छ,' जिल्ला अदालत मोरङका तहसिलदार शाखा अधिकृत ईन्द्रकुमार श्रेष्ठले भने, 'कैद सजाय तोकिएकालाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरिएको छ।'

उनका अनुसार अदालतको फैसलाले प्रतिवादीलाई दोषी ठहर गरेपनि फरार भएर पक्राउ पर्न नसक्दा मोरङमा २००३ सालदेखिको धेरै वर्ष कैद तथा ठूलो रकम जरिवाना असुल हुन बाँकी छ।

मोरङमा १६ करोड ७६ लाख ६३ हजार सात सय २१ रुपैयाँ ५८ पैसा जरिवाना र चार हजार चार सय ९७ वर्ष १० महिना २६ दिन कैद असुल हुन बाँकी रहेको जानकारी श्रेष्ठले दिए। 

उनले फरार रहेका अपराधीलाई पक्राउ गर्न र उनीहरुबाट कैद तथा जरिवाना असुल गर्नका लागि प्रहरीसंग समन्वय गरेर फैसला कार्यान्वायन विशेष अभियान संचालन गरिएको जानकारी दिए। अभियान संचालन गरिएपछि एक करोड १३ लाख ६४ हजार छ सय ९५ रुपैयाँ २६ पैसा जरिवाना र एक सय पाँच वर्ष एक महिना २६ दिन कैद असुल भइसकेको श्रेष्ठको भनाइ छ।  

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेका अनुसार पुस महिना भरीमा प्रदेशका विभिन्न जिल्लाबाट जम्मा तीन सय ८२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अन्य जिल्लाको तुलनामा सबै भन्दा बढी मोरङमा तीन सय २६ जना पक्राउ परेको उनले बताए।

पुस महिना भरीमा झापाबाट १९, सुनसरीबाट १२, ओखलढुंगाबाट आठ, उदयपुर र पाँचथरबाट पाँच÷पाँच, ताप्लेजुङबाट तीन, संखुवासभा र तेह्रथुमबाट दुई-दुई जना पक्राउ परेको जानकारी डीएसपी न्यौपानेले दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.