गोरखाका सबै खोला ओगटिए

गोरखाका सबै खोला ओगटिए

गोरखा : जलविद्युत् सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) का व्यापारीहरुले गोरखामा बिजुली उत्पादन गर्न सकिने सबै खोला झोलामा लिएर हिंडेको पाइएको छ ।

बुढीगण्डकी, दरौंदी, चेपे, स्यार तथा हिमाली र उच्च पहाडी भेगका स्थायी स्रोत भएका २६ वटा खोला व्यवसायीले दसौं बर्षअघिदेखि दर्ता मात्रै गरेर ओगटेका हुन् ।

विद्युत विकास विभागको पछिल्लो अभिलेखअनुसार एकदेखि २५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न यहाँका बिभिन्न खोलाका १७ ठाउँ ओगटिएको छ । २५ देखि एकसय मेगावाट क्षमताको विद्युत उत्पादन गर्न पाँचठाउँ र एकसय मेगावाट भन्दा ठूलो क्षमताका चारवटा नदी दर्ता भएका छन् ।

चुमनुब्री गाउँपालिकाभित्र ९२८.६७ मेगावाट विद्युत उत्पादन गर्न सात वटा खोला ठेकेदारको झोलामा पुगिसकेका छन् । धार्चे गाउँपालिकाबाट ८७० मेगावाट विद्युत उत्पादन गर्न आठवटा खोला ठेकेदारले ओगटिसकेका छन् ।

दर्ता भएका कुनै पनि आयोजनाको निर्माण कार्य भने सुरु गरिएको छैन । तीनवटा कम्पनीले काम गर्ने लाइसेन्स लिए पनि काम भने सुरु गरेका छैनन् ।

मान्बु र काशिगाउँको सीमानामा रहेको रिप्चेतखोलामा पाँच मेगावाट क्षमताको विद्युत उत्पादन गर्न रिव्चेत जलविद्युत कम्पनी प्रालिले निर्माण लाइसेन्स लिएको छ । 
त्यस्तै आरुघाट गाउँपालिकाको आरुपोखरीको स्तुलखोलामा १.५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न अमरज्योति हाइड्रोपावर कम्पनी प्रालिले निर्माण लाइसेन्स लिएको छ । 
मान्वुको छोटेखोलामा ०.९९ मेगावाट क्षमताको आयोजना निर्माणका लागि पशुपति इन्भार्मेन्टल पावर कम्पनीले लाइसेन्स लिएको विद्युत विकास विभागको अभिलेखमा उल्लेख छ । तर काम भने कुनै पनि कम्पनीले सुरु नगरेका जनप्रतिनिधिहरु बताउँछन् । 

‘स्तुलखोलाको कम्पनीले पोहोर एकफेर फोन गरेको थियो । त्यसपछि अत्तोपत्तो छैन’, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘छोटेखोला र रिप्चेतखोलाका कम्पनीले त सम्पर्क पनि गरेका छैनन् ।’

सर्भे गर्नका लागि दसौं बर्षअघिदेखि लाइसेन्स लिएर बसेका बिभिन्न कम्पनीहरुले अहिलेसम्म काम गरेका छैनन् । सय मेगावाट भन्दा ठूलो क्षमताको जलविद्युत उत्पादनका लागि बुढीगण्डकी नदीको मात्र चार ठाउँ ओगटिएको छ । 

केरौंजा, सिर्दिबास र उहियाको सीमानामा बुढीगण्डकी नदीबाट ३४१ मेगावाट विद्युत उत्पादन गर्न टाइम्स इनर्जी कम्पनी प्रालिले २०६८ सालमा नै सर्भे लाइसेन्स लिएको हो । त्यस्तै बिही, ल्हो र प्रोक क्षेत्रको बुढीगण्डकी नदीबाट ४२० मेगावाट जलविद्युत उत्पादन गर्न चिलिमे हाइड्रोपावर कम्पनी प्रालिले सर्भे लाइसेन्स लिएको छ ।

बुढीगण्डकीको सिर्दिबास क्षेत्रमा २०३ मेगावाट जलविद्युत आयोजना सञ्चालन गर्न पुर्णिमा डेभलपर्स ग्रुप नेपाल प्रालिले अनुमति लिएर राखेको बिभागको अभिलेखमा उल्लेख छ । गुम्दा, काशिगाउँ, मान्बु, लापु, थुमी क्षेत्रको बुढीगण्डकी नदीमा २६० मेगावाट जलविद्युत उत्पादन गर्न नीलगिरि खोला हाइड्रोपावर कम्पनी प्रालिले अनुमति लिएर बसेको छ । 
दसौंबर्षदेखि झोलामा खोला हालेर हिडेका उनीहरुले कार्य प्रगति भने गरेका छैनन् ।

त्यस्तै गुम्दा, केरौंजा र उहियाँको सीमानामा १०५ मेगावाटको जलविद्युत उत्पादनको सर्भेका लागि साञ्जेन जलविद्युत कम्पनीले आवेदन दिएको छ । उहिया क्षेत्रमा बुढीगण्डकीबाटै १३० मेगावाट विद्युत उत्पादनका लागि सर्भे गर्न चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले निवेदन दिएको विद्युत विकास विभागले जनाएको छ ।

छेकम्पार र चुम्चेतको सीमानाको स्यारखोलामा ५९ मेगावाटको विद्युत उत्पादन गर्न बिगल्याण्ड हाइड्रोपावर कम्पनीले लाइसेन्स लिएको छ । त्यस्तै सामागाउँको बुढीगण्डकीमा ५२ मेगावाट विद्युत उत्पादन गर्न नेचुरल हाइड्रोपावर कम्पनीले लाइसेन्स लिएको छ । 

सिर्दिबास र चुम्चेतको सीमानाको बुढीगण्डकीमा ९१.१५मेगावाट विद्युत उत्पादन गर्न सूर्य इनर्जी प्रालिले लाइसेन्स लिएको छ । त्यस्तै बिहीको बुढीगण्डकीमा ४३.५२ मेगावाट विद्युत उत्पादन गर्न टम डोगर हाइड्रोपावर प्रालिले अनुमति लिएको छ । 

सिर्दिबास, चुम्चेत र बिही क्षेत्रको स्यार खोलामा ६० मेगावाट विद्युत उत्पादन गर्न चिलिमे हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ । 
‘कसले कसरी अनुमति लिएका हुन्छन्, हामीलाई थाहै हुदैन’, चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामा भन्छन्, ‘यदि हामीसंग अनुमति लिने, अथवा सिफारिस लिने हो भने हामी झक्झक्याइरहन्थ्यौं । तर हामीलाई कुनै अत्तोपत्तो हुदैन ।’

काशिगाउँ र मान्बुमा पर्ने रिचेत खोलाबाट दुई मेगावाट विद्युत उत्पादन गर्न अपर रिचेत हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ । 
थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएको छ । घ्याल्चोक र बारपाक सीमानाको दरौंदी खोलाबाट ९.८२ मेगावाट विद्युत उत्पादन गर्न कालिका कन्स्ट्रक्शन प्रालिले अनुमति लिएको छ । 

घ्याल्चोक, सौरपानी, सिम्जुङ क्षेत्रबाट ९.२० मेगावाट विद्युत उत्पादन गर्न अपार भट्टराई, सुशीला पराजुली बराल कम्पनीले अनुमति लिएको छ । लापु, गुम्दा र उहिया क्षेत्रमा पर्ने माछीखोलामा १८ मेगावाट विद्युत उत्पादन गर्न वाटरइनर्जी डेभलपमेन्ट प्रालिले अनुमति लिएको छ । 

खरिबोट र दूधपोखरी सीमाको चेपेखोलामा ९ मेगावाट विद्युत उत्पादन गर्न रिजेलाइन इनर्जी प्रालिले अनुमति लिएको छ । सोही ठाउँमा नै ८.६३ मेगावाट विद्युत उत्पादन गर्न आशुतोष इन्भेस्टमेण्ट प्रालिले अनुमति लिएको छ । खरिबोट र दूधपोखरी क्षेत्रको चेपेखोलामा ५.१० मेगावाट जलविद्युत उत्पादन गर्न  पुष्प दवाडीले अनुमति लिएका छन् । 

हंशपुर, इलमपोखरी, बिचौरको लाङ्दीखोलाबाट ३.२६ मेगावाट विद्युत उत्पादन गर्न उज्यालो नेपाल हाइड्रोपावर प्रालिले अनुमति लिएको छ । 
त्यस्तै घ्याच्चोकको दरौंदीमा १० मेगावाट विद्युत उत्पादन गर्न बारपाक दरौंदी हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ । उहियाको निम्रुङखोलामा ९.८० मेगावाट विद्युत उत्पादन गर्न किरणपावर प्रालिले अनुमति लिएको छ । 

गुम्दा र लाप्राक बीचको माछीखोलाबाट ४.५५ मेगावाट विद्युत उत्पादन गर्न विकास हाइड्रोपावर प्रालिले अनुमति लिएको छ । खरिबोटमा चेपेखोलाबाट ८.८३ मेगावाट विद्युत उत्पादन गर्न दूधपोखरी चेपे हाइड्रोपावर कम्पनीले अनुमति लिएको छ ।

स्थानीय सरकारसंग समन्वय गर्नुपर्ने ब्यबस्था भएमा स्थानीय सरकारले ताकेता गर्ने र कामले गति लिने धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको तर्क छ । 

‘उज्यालो धार्चे गाउँपालिकाको कार्यक्रम गाउँसभाले पास गरेको थियो । यसको बारेमा बुझ्न भनेर विद्युत विकास बिभागमा गएको त कुनै खोला पनि बाँकी रहेनछ’, गुरुङले भने, ‘आफ्नै ठाउँको खोला माफियाहरुले झोलामा हालिसकेका रहेछन् । म त छाँगाबाट खसे जस्तो भएँ ।’ तर काम भने कसैले पनि केही पनि नगरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.