प्रहरी घेराको सुधारगृहबाट भागे अभियुक्त, प्रशासनले लुकायो घटना

प्रहरी घेराको सुधारगृहबाट भागे अभियुक्त, प्रशासनले लुकायो घटना

वीरगन्ज : वीरगन्जमा रहेको सरकारी बाल सुधारगृहबाट ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलिरहेका एक किशोर फरार भएका छन्।

वीरगन्जको विर्तास्थित  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको बाल सुधार गृहमा राखिएका ज्यान मार्ने उद्योगका अभियुक्त १६ वर्षीय आनन्द कुमार गत शनिबार दिउँसो फरार भएका हुन्। घटनाको तीन दिनसम्म पनि प्रशासनले यो घटनालाई गोप्य राख्न खोजेको देखिएको छ।

भारत बिहारको बेतिया घर भइ काठमाडौं बस्दै आएका आनन्द कुमारलाई गौशालास्थित प्रहरी वृतले खुकुरी प्रहारको घटनामा पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर पुस १० गते वीरगन्जको बालसुधार गृह पठाएको थियो।

एक प्रहरी सहायक निरीक्षकसहित पाँचजना प्रहरीको २४ सै घण्टा सुरक्षा घेरामा रहेको बालसुधार गृहमा ल्याएको २५ औं दिन गत शनिवार साँझ ती बालक फरार भएका हुन्।

सुधारगृहमा प्रहरी सहायक निरीक्षक शम्भु मिश्रा नेतृत्वमा पाँचजना प्रहरी परिचालित छन्। सुधारगृहका प्रवेशद्वारमा दुईजना प्रहरी २४ सै घण्टा तैनाथ रहन्छन्। गत शनिवार अपरान्ह ती बालक सुधारगृहको प्रवेशद्वारबाटै भागेका हुन्।

तर यस विषयमा स्पष्ट जानकारी दिन बालसुधार गृह व्यवस्थापनले अस्वीकार गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पनि मुद्दा चलाइएका बालक फरार भएको घटना ढाकछोप गर्न लागि परेका छन्।

सोमबार बिहान घटनाबारे बुझ्न सुधारगृह पुगेका अन्नपूर्ण सम्वाददातालाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले प्रमुख जिल्ला अधिकारीको पत्र लिएर आउनु भन्दै फर्काएका छन्।

बालसुधार गृहकी प्रमुख साबित्री भण्डारीले घटनाबारे आफूले केही बोल्न नमिल्ने जवाफ दिइन् । 'यसबारेमा म केहि पनि बोल्दिनँ', उनले भनिन्, 'जे सोध्नु छ सिडिओ (प्रमुख जिल्ला अधिकारी) लाई नै सोध्नु होला।'

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई 'पछि जानकारी दिने' भन्दै यसबारेमा पन्छिए। 'केही समयपछि मात्र जानकारी गराउँला', उनले भने।

छानबिन समिति 

यसैबीच, बालगृहबाट ज्यान मार्ने उद्योगका अभियुक्त फरार भएको घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरीक्षकहरू रहेका छन्।

प्रहरीको सुरक्षा घेरामा रहेको बालगृहबाट अभियुक्त फरार भएको घटनाले आफूहरूलाई अचम्मित पारेको भन्दै  सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेले घटनाको छानबिन हुने बताए। 'फरार बालकको खोजी भइरहेको छ, घटनाबारेमा हामीले छानबिन र अनुसन्धान गरिरहेका छौँ', उनले भने। बालसुधार गृहमा ४० जना बालक छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.